Category Archives: tips

Kathmandu valley 2030

सन् २०३० मा संसारकै सुन्दर शहर घोषित – “काठमाडौं उपत्यका !”

Read this in English.
यसको छोटो संस्करण नागरिक पत्रिकामै पढ्नु है।

नेपाल भरिका साथीहरुले यो पढ्दा काठमाडौँको सट्टा अाफ्नै गाउँ-शहर सम्झी पढ्नु होला है! धन्यवाद।

nyatapola-main-art-night

“सन् २०३० मा संसारकै सुन्दर शहर-
काठमाडौं उपत्यका!”
– विश्व विख्यात टाइम पत्रिका

टाइम  पत्रिकाले यसरी बर्षको अन्तिम संस्करणको पहिलो पृष्ठमा काठमाडौं उपत्यकालाई एशियाको “चम्किलो मोती” घोषणा गरि दिएकोमा विश्व जगतमा हलचल मच्चिएको छ। सन् २०१५ मा ७.८ रेक्टर स्केलको भुकम्पको चपेटामा परेको यो शहरले पछिल्लो १५ वर्षको अवधिमै कसरी यस्तो छलाङ्ग मार्यो – सबैलाई चाँसोको बिषय बनेको छ ।

काठमाडौं उपत्यकालाई सन् २०३०मा संसारको सबैभन्दा सुन्दर शहर चुन्नमा विश्व-विख्यात शहरी विकास योजनाविद् तथा अग्रज हरु सामेल निर्णायक मण्डलले १० विशेष कारण दिएका छन्।

१. काठमाडौं: सेवक सरकार शहर
२. काठमाडौं:  विविधता झल्कने शहर
३. काठमाडौं: विश्वकै हराभरा शहर
४. काठमाडौं: सम्पदा शहर
५. काठमाडौं: पुन:प्रयोगीय शहर
६. काठमाडौं: नसुत्ने शहर
७. काठमाडौं: उर्जा-प्लस शहर
८. काठमाडौं: मस्त रमाउने शहर
९. काठमाडौं: विवेकशील शहर
१०. काठमाडौं: उद्यमीका राजधानी

 

१) काठमाडौं- सेवक सरकार शहर

म स्थानीय वडा कार्यालय अगाडी छु। १८औं शताब्दीको दरवार जस्तो देखिने यो भवन काठमा कुँदिएका विभिन्न आकृतिहरुले नेपालको इतिहासको वृतान्त दर्शाएको छ। भित्र छिर्छु । भित्र २१औं शताब्दीको आधुनिक पाँच तारे होटेल छिरेको भान हुन्छ । भित्ताहरुमा नेपालका विभिन्न जातीय विविधता झल्काउने चित्रकला र मूर्तिहरु टाँगिएका छन्। अलिपर बडेमानको पोस्टरमा लेखिएको छ – “लोकतन्त्र भनेकै पारदर्शिता”। अलि पर अर्कोमा – “ तपाईंकै सरकार, तपाईंकै सेवक !”

‘नमस्ते!’ एक सम्पर्क अधिकारी मेरो अगाडि उभिदैँ सोध्छन्, “तपाईँलाई म कसरी सेवा गर्न सक्छु ?”। मेरो अनुरोधमा उनले त्यस् वडाकी निर्वाचित पदाधिकारीसँग भेटाउन लैजान्छन्। ति निर्वाचित पदाधिकारीले मलाई विनम्रताका साथ अाफ्नो कार्यकक्षभित्र स्वागत गर्छिन् । उनी सोध्छिन् “के तपाईं नेपालमै बनेको ताजा अर्ग्यानिक कफी पिउनुहुन्छ? त्यतिन्जेल तपाईंले खोजेको सुचना हामी जुटाउने छौं है ।”

सन् २०३० मा काठमाडौं जवाफदेहिता र पारदर्शी स्थानीय शासनको लागि “२१ औं शताब्दीवौँ  सेवक सरकार” मोडेल अनुशरण गरि विश्वमा नमुना बनेको छ । नियमित स्थानीय निर्वाचन, श्रोतको चुस्त र समावेशी स्थानीय व्यवस्थापन, विपद् व्यवस्थापन, पारदर्शिता र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताले गर्दा नागरिक र सरकारका बीच  जीत-जीतको वातावरण बनेको छ । स्थानीय कर्मचारीहरु सूचना-प्रविधिको प्रयोग गरी द्रूत गतिमा हैरानीमुक्त सेवा दिन्छन्।

स्थानीयहरुले सूचनाको हक एेन प्रयोग गरी अाफ्नो शहरको शासनको बारेमा नियमित रुपमा कुनै पनि सूचना खोज्ने गर्छन् र सजिलै पाउँछन् पनि। यसले गर्दा व्यवसाय, संघ-संस्था र स्थानीय निकायहरु सबै जवाफदेही रहन्छन्। यदि कुनै पनि सूचना ४८ घण्टाभित्र दिन नसकेमा मुलुकका चुस्त रुपमा कार्यान्वयन हुने कानुनले सम्बोधन गरिहाल्छ। नागरिक पत्रकारिताले मूलधारका पत्रकारितालाई परिस्कृत गरेको छ।  स्थानीय कर पारदर्शी तरिकाले उठाइन्छ । सूचना प्रविधिको मद्दतले तुरुन्तै स्थानीय जनमतबाटै टोलको प्राथमिकता तय गरिन्छ अनि सोही अनुरुप यो करको सदुपयोग गरिन्छ। वडामा अाफ्ना एक-एक रुपैयाँ कहाँ र कहिले र कसले खर्च गर्यो हरेक स्थानीयलाई प्रष्टसँग थाहा हुन्छ।

सन् २०१५ को महा-भुकम्पपछि एक सद्‌गुणको चक्र यसरी शुरु भयो कि काठमाडौंबासीहरु अाफ्नो नागरिक दायित्व र युवा स्वयंसेवाको मनोभावमा प्रविधिको सदुपयोग गरी मिलेर काम गर्न थाले। जसको फलस्वरुप २१ औं शताव्दीको समय सापेक्ष शासन प्रणाली बुझेका कर्मचारीहरु र स्थानीय नेताहरुले नै काम गर्ने वातावरण पाए। त्यसै बेला बनेको देशको स्वायत्त एवं शक्तिशाली सरकारी निकाय “नेपाल नवनिर्माण/उत्थान बोर्ड” र यसका कुशल शहरी विकास विज्ञहरुले काठमाडौं उपत्यकाका नीति र पूर्वाधारहरु दुवैलाई सशक्त किसिमले सुधार गर्न थाले।

नागरिक मन्त्र: मेरो सरकार, सेवक सरकार!

 

२) काठमाडौं- विविधता झल्कने शहर

भक्तपुरको एउटा गल्लीबाट म फुत्त निक्लिन्छु। अगाडि फुटपाथ साँच्चै अष्टरंगी छ भने पर्खाल भित्तेचित्रले सजिएका छन्। कुनैमा थान्काका झलक देख्छु त अरुमा अमूर्त कला वा धार्मिक कला। यहाँ हरेक गल्लीले अाफ्नो टोलको बेग्लै मौलिकता झल्काएको पाउँछु। यी गल्लीहरुमा शायद म घण्टौं भौतारिन सक्छु। यहाँको ठेगाना सडकका नाम वा नम्बरले भन्दा पनि स्मारकहरुले चिनाउने गरिन्छ। यहाँको गल्ली गल्लीमा प्रस्फुटित विविध सौन्दर्यका नमुनाले म दंग छु।

सन् २०३० मा टोल-टोलमा र वडा-वडामा नागरिकहरुले गल्लीको रेखदेखको जिम्मा लिएका छन्। टोल-टोल बीच प्रतिस्पर्धा भैरहेको छ – सबै भन्दा राम्रो सडक, पेटी, पार्क, सार्वजनिक शौचालय, बस-बिसौनी, साइकल लेन अादि इत्यादिमा। समुदायले अाफ्नो क्षेत्रका सडक र सार्वजनिक स्थलको पूर्ण जिम्मा लिएका छन्। अाफै नामाकरण गर्छन्, श्रृंगार गर्छन् र त्यसलाई समर्थन गर्छन्। नगरपालिकाको पूर्वाधार विकास र मर्मत गर्ने स्वायत्त निकायले निर्वाचित मेयरको टीमसँग मिली स्थानीय समुदायलाई सडक मात्र होइन सामुदायिक पूर्वाधार र सार्वजनिक शौचालय पनि बनाउन मद्दत गर्छन्। नागरिकहरु अाफैले अाफ्ना घर-छिमेकमा हराभरा बनाउन जिम्मेवारी लिएका छन्। सबै सामुदायिक पूर्वाधारहरु सबै नागरिकका लागि २४ घण्टै खुल्ला हुन्छन्। काठमाडौंले विश्वमा चर्चित भद्रगोल सिद्धान्त (Chaos theory) को सार पकडेको भान हुन्छ त्यसैले होला यसका विशिष्ट शहर व्यवस्थापकहरुले यस्तो तरिकाले यो शहर बनाए कि कुनै पनि दुई ठाउँ एकै नास देखिन्न पनि र चल्दैन पनि तैपनि सुमधुर किसिमले यो शहर चलेको छ। काठमाडौंवासी यस्तै विविधताले चलेको शहर बनेकोमा गर्व गर्छन्।

काठमाडौं उपत्यका यस्तो विशाल महानगर हो जसलाई विभिन्न तरिकाले आकार दिने गरिन्छ। यस विशाल शहरलाई विभिन्न नगरपालिकामा विभाजन गरिएको छ जस बीच स्वस्थ प्रतिस्पर्धा भै रहन्छ। अाफ्नो पट्टिको शहर कसरी अर्को भन्दा अब्बल बनाउने होडबाजीमा काठमाडौं सदा निर्माण एवम् पुन :निर्माणको चक्रमा रहि रहन्छ। १५ वर्ष अघि देखि ‘जे रोप्यो ,त्यही फल्यो’ भन्ने नाराका साथ टोलको विकासमा नियमित निरन्तर सुधार हुदैंछ।

नागरिक मन्त्र: मेरो टोल, सर्वकृष्ट टोल

३) काठमाडौं: विश्वकै हराभरा शहर

त्रिभुवन विमानस्थलबाट बाहिर निस्किन्छु। हल्का बतास र भर्खरै काटिएको घाँसको वास्नादार सुगन्धले स्वागत गर्छ। अनि बिजुलीबाट चल्ने ट्याक्सीमा छिर्छु र शहरतिर लम्कन्छु। धुलो रहित फराकिला सडकमा साइकल यात्री र पैदल यात्रीको घुँईचो दृश्यावलोकन गर्दै समय कटाउछुँ। पशुपतिनाथ नजिकै सामुदायिक बंगैचामा दुई बाल-बालिका बुद्रुक्क आफ्नो कुकुरसंग खेली रहेको दृष्यले मेरा छोरा-छोरीको याद अाउँछ – मुस्कान फुट्छ। जताततै प्रस्ट, सुन्दर मोवाईल मैत्री साइनबोर्डहरुले तपाई कहाँ हुनुहुन्छ प्रश्ट निर्देशन दिन्छ। कतै इट्टा र सिमेन्टका पर्खाल देखिन्न। त्यसको सट्टा रुख र सुन्दर प्राकृतिक फुल/झाडीहरु पर्खालको रुप लिएका छन्। त्यति मात्र होईन यहाँ त रुख-विरुवा नै भवनका डिजाईनसँगै मिलाईएर बनाइएको पो देख्छु!

एकैछिनमा म काठमाडौंको मुटुमा पुग्छु त्यो सबैले मलाई ‘हेर्नै पर्छ है ‘ भनेको बडेमानको फराकिलो पार्कमा। म गाडीबाट निस्की हिँडन थाल्छु। नजिकै एक जमात युवाहरु वि-वोईन्ग नाचमा लागि परेका छन् । अलि पर एक जमात यवतीहरु दौंडिदै छन्। कुनामा रयाप संगीतको घम्साघम्सी चलिरहेको छ भने पल्लो तिर मैदानमा फ़ुटबल अनि अल पर क्रिकेट चलिरहेको छ। अलि हिँडे पछि शान्त क्षेत्र तिर पुगेको महसुस गर्छु। त्यहाँ ३ पुस्ता परिवारका सदस्यहरु एक बडेमानको पिपलको रुखको चौतारीमा बसी पिकनिक मनाइरहेका छन् भने चराहरुको एक झुण्ड निलो आकाशसँग खेलिरहेका छन्। अाह्हा! यो क्षण सम्झिदाँ कोही पनि पर्यटक लाई किन यो ठाउँको ईर्ष्या नलाग्ला र भन्या !

सन् २०१५ को स्थानीय निर्वाचन लगत्तै  उपत्यका भित्रका महानगरपालिकाहरुका मातहतमा निर्वाचित मेयरहरु र नगर सभा र वडा समितिहरु मिली काठमाडौंका खुल्ला ठाउँहरुलाई दिगो र अपांग-मैत्री हरियो बंगैचा र पोखरीहरुमा रुपान्तरण गर्न थालियो। साथै उपत्यका वरिपरिका घोषणा हुन बाँकी पहाडलाई राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा परिवर्तन गरियो। यसले विद्यार्थी, बालबालिका देखि बृद्ध सबैलाई प्रकृतिसँग हर पल अनुभव गर्ने मौका दिलायो। पशुपतिनाथ, स्वयम्भु ,चाँगुनारायण, बौद्धनाथ देखि बसन्तपुर, पाटन, भक्तपुर दरबार क्षेत्र अादि बिभिन्न सम्पदाहरु वरिपरि सफा, सुन्दर, जीवन्त बगैचाहरुले घरिएको छ। १५ वर्ष अघि “एकै जीवन, एकै रुख” अभियान शुरु भएको थियो जसमा हरेक काठमाडौंबासीलाई अाफ्नो जीवनमा एउटा रुख हुर्काउने प्रण लिन लगाई जिम्मा दिईयो। यसले काठमाडौँलाई प्रदुषण मुक्त बनाउन ठुलो सहयोग गर्यो। काठमाडौँमा एसियाका राजधानीका मुटुमा पाईने पार्क मध्य सबै भन्दा ठुला पार्क छ जुन पहिलेको नारायणहिटी राजदरबार सँग्राहलय देखि रानीपोखरी, रत्न पार्क, टुँडीखेल जोड्दै दशरथ रंगशालालाई पनि अँगालेर कालमोचन मन्दिर परिसरसम्म तन्काएर  बाग्मती किनारै किनार सम्म फैलिएको छ।

सन् २०३० मा काठमाडौंले संसारमा अपाङ्ग र अशक्त मैत्री शहरको रुपमा नाम कमाएको छ। यहाँका प्रमुख सडक र गल्ली-गल्लीमा अपांग र अशक्त मैत्री चौडा फुटपाथ र साइकल लेनहरु छन् जुन अाफै गाडी गुड्ने सडक जत्तिकै चौडा बनाईएका छन्। यहाँका सडकहरु वैकल्पिक ऊर्जा बाट चल्ने सवारीसाधनले भरिभराउ छन्। यहाँ पेट्रोलियम पदार्थको इन्धनबाट चल्ने सवारी साधन प्रयोग नगरे बापत करमा विशेष छुट दिने प्रावधान राखिएको छ। कुनै पनि पूर्वाधारहरु निर्माण गर्दा हरियालीयुक्त प्रणाली अपनाए करमा विशेष छुट दिइन्छ। हावा-पानी लगायत समग्र वातावरणको गुणस्तरलाई आधारभूत मौलिक अधिकार मान्ने काठमाडौँ बासीहरु चुनावमा वायु प्रदुषण सूचकांकको आधारमा नेतृत्व चुन्ने-फाल्ने गर्छन्। यसले गर्दा स्थानीय नेतृत्वले संसारभरि अपनाइएको केटिएम-२१०० वातवरणीय स्तरमा सानो गिरावटलाई लिएर निकै संवेदनशील हुने गर्छन्। काठमाडौंवासी प्राय: आफ्नै घर तथा नजिकैको क्याफे वा पार्कहरुबाटै काम गर्छन्। अावतजावतमा पनि प्राय साइकल, पैदल वा सफा सार्वजनिक यातायात नै प्रयोग गरिन्छ। विष्णुमती र बागमती नदीका किनारहरु शिवपुरी देखि चोभार सम्म साइकल प्रेमी देखि चराप्रेमीहरु जमघट हुने थलो बनेको छ। बिगतका १० बर्षमा उपत्यका घेरेका सबै पहाडहरु घना जंगलले भरिएको राष्ट्रिय पार्कहरुमा परिणत गरिए पछि विश्वका अरु राजधानी जस्तो काठमाडौं पानीको समस्याबाट उम्कन सफल भएको छ।

नागरिक मन्त्र: हरियो नगर हाम्रो रहर!

 

४. काठमाडौं: सम्पदा शहर

मरुको साँगुरो गल्लीबाट भित्र छिर्दै गर्दा मेरो अाखाँ त्यहाँ कुनाकाँप्चाका स-साना मठ-मन्दिर र बुझ्नै नसक्ने स्मारकहरु देख्छु, कतै कामुक काठका मुर्तिहरु छन् त कतै धातुका ढोकामा कुँदिएका जटिल आकृतिहरु देख्दा  मनमा अनेकन भावना बग्न थाल्छ। घर-अाँगन-टोलमा अाफ्ना दिवंगत कसैको नाममा केही न केही स्मारक बनेको देख्छु । बाटोमा एउटी उज्यालो अनुहार बोकेकी बुढी अामाले मलाई हेरेर मुसुक्क मुस्काई दिन्छिन्। “साँच्ची कै जीवन्त शहर यस्तै हुन्छ कि क्या हो ?”

बौद्ध, हिन्दु, मुस्लिम, जैन, क्रिष्चियन, सिख अादिका मठ-मन्दिरहरुले भरिएको काठमाडौंले जनाउछँ कि यहाँका जनताले अाध्यात्म र धर्मको विविधतालाई पनि दर्हो अँगालेका छन्। कला, संस्कृति, संस्कार, धर्मको विविधता र भाइचारालाई जनमानसमा मात्र नभई शहरकै दीगो विकास योजनामै अँगाली काठमाडौंले आफूलाई एक प्रबुद्ध शहरको रुपमा स्थापित गरेको छ। सन् २०१५ को भुकम्प पश्चात् काठमाडौंका जनताले आफूले गुमाएका परिवार र ईष्टमित्रका नाममा एउटा स्मारक बनाउने प्रतिबद्धता गरे जुन अहिले एउटा संस्कार नै बनेको छ। अहिले काठमाडौं हजार मठ-मन्दिर देखि दिमागै घोच्ने स्मारकहरुले भरिभराउ छ। यसै साथ ‘अतिथि देव भव’ यानि कि ‘पाहुना भनेकै भगवान’ भन्ने बिचारलाई पनि शहरबासीले व्यवहारमै ढालेको छ।

अहिले काठमाडौंका नव पुस्ता अार्किटेक्ट, ईन्जिनियर र निर्माताको रुपमा कयौँ भेटिन्छन्। काठमाडौंका सम्पदाहरुमा हजारौं वर्षको कला, इतिहास, सयौं जात-जातीको संस्कृतिको समिश्रण मात्र होईन त्यहाँका बासीहरुमा अाध्यात्मिक जीवन शैली, रचनात्मक सोच अनि सम्पन्न समाजको समिश्रण पनि झल्किन्छ। यहाँ केटिएम-९ निर्माण नियमावली (९ रेक्टर सम्मको भुकम्प थेग्न सक्ने) पास गरेर मात्र कुनै पनि भवन वा सम्पदाहरुको निर्माण वा पुनर्स्थापना गरिन्छ।

१५ बर्ष अघि सन् २०१५ मा काठमाडौंवासीले आफ्नो विगतका ऐतिहासिक सम्पदा मात्रै जोगाएनन् त्यसलाई सुधार गरि वृद्धि नै गर्ने अठोट लिएँ। अाजकल काठमाडौंबासीले विश्वमै नविन हुने यस्ता शहरी विकास योजनाहरु तयार गरेका छन् जुन नव-आधुनिकता र सम्पदा संरक्षण बीचको समन्व्य, सहअस्तित्व र सन्तुलनमा आधारित छ। जसरी १३ वौँ शताव्दीका विश्व विख्यात नेपाली कलाकार अरनिकोले चीनमा हाम्रा कला-संस्कार निर्यात गरे, त्यसरी नै अहिलेका नेपालीहरुले पनि हाम्रो नविन कला र ज्ञान संसार भरि निर्यात गरी नेपालको नाम चम्काइरहेका छन्।

नागरिक मन्त्र: एक जीवन, एक स्मारक!

५. काठमाडौं: पुन:प्रयोगीय शहर

म बुंगमतीको सांस्कृतिक अतिथि बास स्थान (सम्पदा होम-स्टे) बाट निस्कन्छु। मेरो स्मार्टफोनमा हरियो बत्तीको संकेत देख्छु। यसो हेर्छु, त्यहाँ लेखेको कुरा देखेर मेरो अनुहारमा मुस्कान छाउँछ। मैले यो महिनामा अाफ्ना खेर गएका फोहर देखि फालेका सामानहरुलाई पुन:प्रयोग गरी पैसा प्राप्त गरेको रहेछु। मैले प्राप्त गरेको पैसा कहाँ राख्छौँ भनेर मलाई फोनमै ३ विकल्प दिईन्छ। १) मेरो बैंकको खातामा हाल्ने कि ? २) मलाई मन पर्ने ३ वटा समाजसेवाको काममा दान दिने कि? ३) सरकारको “नेपाल निरन्तर निर्माण कोष” मा लगानी गर्ने कि ? (यस कोषले यस्ता  महा-पूर्वाधारहरु बनाई रहेका छन् जहाँ कुल एक लाख नेपालीलाई सीप मुलक रोजगारी श्रृजना गरेको छ)

नवीनतामा रमाउने उद्यमी-वैज्ञानिकहरु सँग मिली काठमाडौंले अाफ्ना सम्पूर्ण खेर जाने वस्तुहरुलाई कसरी फाइदाजनक बनाउने भन्ने प्रणाली बिकास गरे। आफ्नै खेर गएका वस्तुहरुबाट जनताले सिधै पैसा कमाउन थाले।

एकातिर घरायसी प्रयोजनका समानहरु बेच्न तथा भाडामा दिन प्रोत्साहन गरियो।काठमाडौँमा अनलाइन तथा अफलाइन लिलामी गर्ने ‘हाट बजार’हरु मान्छेका आकर्षणको केन्द्र बनेको छ।  काठमाडौंमा प्रत्येक वर्ष संसारका सबै भन्दा उत्कृष्ट प्रवर्द्धकहरुको लागि “हरेक वस्तुलाई फेरि प्रयोगमा ल्याऔं “ भन्ने अन्तराष्ट्रिय चुनौतिको प्रतियोगिता आयोजना गरिन्छ।

अर्को तिर भान्साको कुहिने फोहोरबाट जैविक मल बनाई अनि फोहर पानीलाई प्रयोग गराई बगैंचा तथा कौसीमै तरकारी खेती गर्ने प्रचलन फस्टाएको छ। बर्खामा आकाशबाट परेको पानी अनि शिशिरमा शीत पानी संकलन काठमाडौँ बासीका पिउने पानीको प्रमुख स्रोत बनेको छ।

नागरिक मन्त्र: फाल्ने मात्र होईन फर्काउने नै !

६. काठमाडौं: नसुत्ने शहर

साँझ १० बजे एउटा साथीले किर्तिपुरमा अाफ्ना घरमा हुने डान्स पार्टीमा मलाई निम्तो दिन्छ। म लाजिम्पाटको चम्किला बत्तीहरु बलेको सडकमा निस्कन्छु अनि विस्तारै गल्ली गल्ली हिँडने निर्णय गर्छु। नागरिक र पुलिसको टोल-टोलका सन्जालको गस्तीले गर्दा म सुरक्षित महसुस गर्छु । म असनको मुटुमा रहेको रात्री बजारबाट पुग्छु। स्थानीय र पर्यटक बीच रात्री बजारमा सामानको तोलमोल भईरहेको देख्छु। कालीमाटी पुग्दा वीच सडकमै केहि तन्नेरीहरु ‘ग्राफिटी’ चित्र बनाउँदै गरेको देख्छु। अचानक साइकल प्रहरीहरु रोकिन्छन् तर उनीहरुलाई समात्नुको सट्टा उनीहरुका प्रयासलाई यसरी सुधार गर है भन्दै पो सुझाव दिन्छन् बा ! म पुग्नु पर्ने डाँडा तिर उक्लिदैँ गर्दा अचानक गल्लीबाट दुई महिला विस्तारै दौडदै निस्कन्छन्।  पहिरन हेर्दा त व्यायम गर्न निस्केका जस्ता लाग्छ यत्ति खेर भए पनि। अनीहरु मलाई मुसुक्क मुस्काउँदै लाग्छन्। म अाफ्नै माथी देखि तल हेर्छु। लुगा त ठिकै लगाए छु कि छैन? मध्य रात नजिकै बल्ल साथीको ढोका ढक्ढकाउन पुग्छु। भित्रबाट भरपुर गीतका अावाज अाएको सुन्दा पार्टी त भरखर शरु भएको जस्तो भान भो!

सन् २०३० को काठमाडौं दिनमा राम्रो छ भन्ने सोच्नेहरुले रात झनै सुन्दर पाउँछन्। शहरका प्रत्येक कुना सवारी साधनमा ३० मिनेट भित्रै पुगिन्छ। १५ बर्ष अघि यस्तो भव्य शहरलाई ८ बजे नै बन्द गर्ने चलन थियो जुन प्रथालाई यहाँका व्यवसायी र स्थानिय सरकार मिली टोडे। कसरी? स्थानिय करको मद्दतले द्रुत गतिका सार्वजनिक सवारीसाधनहरु २४ घण्टै चलाउन थालियो। यसले ट्राफिक जामको समस्या पनि न्युन गरिदियो। सधैँ जाग्ने शहरमा अझ धेरै श्रृजना जाग्न थाल्यो। वर्ष भरि नै यहाँको मौसम सुन्दर भएको हुनाले २४ घण्टै खुल्ला रहने काठमाडौंले अहिले आफूलाई जोश र होशको शहरको रुपमा छुट्टै पहिचान कायम गरेको छ। मध्य रातमा पनि यहाँका पार्कहरु उज्याला छन्। यही कारणले होला काठमाडौं परिवारसँग घुम्नको लागि योग्य शहरको सूचिमा निरन्तर उच्च १० मा पर्ने गर्छ हरेक बर्ष।

नागरिक मन्त्र: जीवन्त, जागाराम, जहिल्यै (हाम्रो शहर)

७. काठमाडौं: ऊर्जा-प्लस शहर

गोदावरी स्थित अाफ्नो कार्यालयबाट मंगलबजार अाफ्नो घर जादैँ गर्दा मोबाइलमा मेरो ब्यांक ब्यालेन्स बढेको नोटिस अाउँछ। अाफ्नो घरको बढी भएको सौर्य ऊर्जा बेचिएछ र मैले अलि बढी पैसा कमाएछु । अाहा ! यो शनिवार रात चाहिँ म त्यो उज्यालो नख्खुको किनारमा भरखर खोलेको त्यो मनोरम खुल्ला खाजा घर र बिजुलीले लटरम्म बगैँचामा चट्ट अाफ्नो परिवारलाई बाहिर लैजाने भएँ !

कसले सोचेको थियो र १५ वर्ष अगाडि दिनमा १२ -१४ घण्टासम्म लोडसेडिंग हुने शहर आज आएर सफा ऊर्जाले भरिभराउ शहरको रुपमा परिणत हुन्छ। १२ घण्टा सम्म घाम लाग्ने काठमाडौँमा स्थानिय सरकार र नागरिकहरु मिळी हरेक घरलाई बिजुली उत्पादन गर्ने र बढि भएको ऊर्जा बेच्ने ऊर्जाघरको रुपमा बिकास गरेको छ। यहाँका बृद्धहरुले विगतका लोडसेडिंगका चरम अफ्ठ्यारा अझै बिर्सेका छैनन् र ती अतितका कथाहरु सुनाएर युवाहरुलाई पनि बिर्सन दिएका छैनन्। त्यसैले ऊर्जाको संरक्षण भनेको जनताको मुख्य प्राथमिकताको विषय रहेको छ। जलवायु परिवर्तनको विषयमा विशेष चासोँ राख्ने यहाँका बासीले निर्णय नै गरेका छन् कि सबै विद्युतीय उपकरणहरुले वातावरण जोगाउने कडा ‘केटिएम-२१००” नियमावली सख्त रुपमा पालना गर्नुपर्नेछ । काठमाडौं ऊर्जा सम्पन्न शहरको रुपमा चिनिन्छ।

नागरिक मन्त्र: हाम्रो गोल, झिलिमिली टोल

८. काठमाडौं: मस्त रमाउने शहर

भर्खरै किनेको बिश्व विख्यात हात्तीछाप चप्पल च्याट्ट लगाई ‘पटक पटक’ गर्दै गल्ली गल्लीमा बरालिदै हिड्न कम्ति रमाइलो भई राछैन र ! यहाँका कुना-काँप्चामा पाईने नविन श्रृजनाले मन बहलाएको छ मेरो- समय बितेको पत्तै पाएको छुईन। १०० वर्ष पुराना घरहरुमा अचुक कफी पसलहरु देख्छु। मेरो सामुन्ने झाँक्री र डाक्टरले सँगसँगै व्यवसाय खोले पाउँदा तिन छक पर्छु बा  !अाफ्नो एक हप्ते छुट्टी त यस्तै अनगिन्ती गल्लीहरुमा बिति सक्यो अब बचेको समय चाहिँ म वरिपरिका घना जंगलले भरिएका  ति २००० मिटर अग्ला ‘हिमाल’ चढ्ने बिचार गरेको छु। स्थानियले यत्रा हिमाललाई किन ‘पहाड’ मात्र भन्छन् हँ गाँठे!

वर्षभरि अतुलनीय मौसम बोकेको काठमाडौंका भित्री गल्लीहरुले शदियौं सताव्दौँ पहिलेको संसारको झलक दिन्छ भने हरेक टोलमा देखिने सडके चमेना घरमा विश्वका गहन मुद्दाहरुमा बहस हुने थलो बनेको छ। काठमाडौं मन बहलाउनको लागि उत्तम ठाउँ बन्दै गैरहेको छ। त्यसैले होला यहाँ विश्वबाटै यात्रीहरु अोइरिरहन्छन्, महिनौँसम्म हराउँछन् अनि मन बहलाई फर्कन्छन् फेरि फर्कने वाचा गर्दै। उपत्यका वरिपरिका अग्ला हिमालहरु हेर्दै हराउने देखि लिएर पौराणिक संस्कृति, संरचना हेर्नको लागि काठमाडौं अविस्मरणीय विश्राम क्षेत्र बनेको छ। दू:खबाट भाग्न खोज्नेहरुका लागि काठमाडौं शरण बनेको छ।

नागरिक मन्त्र: काठमाडौंमा हराउने, अाफैलाई भेट्टाउने

९.  काठमाडौं: विवेकशील शहर

आज हेर्छु यो शहर , सबै खुल्ला छ। मानिस बिनम्र छन्। गल्ली सुरक्षित छन्। यसो नोटिस गर्छु – नरम बोली र मद्दतका भावना बोकेको ५ बर्षे तोते देखि ८० बर्षे कपाल फुलेकाले पनि स्वयंसेवक भएर बाटोघाटोमा अरुलाई मद्दत गरेको देख्छु। अस्ति मात्र मेरो साथीको पासपोर्ट, वालेट सहितको बहुमुल्य गहना भएको झोला ट्याक्सीमा हराएको थियो तर हराएको एकै घण्टामै अाफु होटल पुग्दा त जस्तातस्तै रुपमा झोला छाडी दिएको रहेछ त्यस् ट्याक्सी चालकले। नाम पनि छाडेनन् बा!  धन्यवाद पनि दिन सकिएन। १५ बर्ष अघि त यस्तो थिएन यो शहर! अचम्मै परेँ म !

१५ वर्ष अघि मात्र म यही शहरमा टेकेको मात्र के थिएँ बन्द हड्ताल त परम्परै बनेको रहेछ यहाँ। यहाँका नेता भनौँदाले स्थानीय गुन्डाहरुका अाडमा ३० लाख बस्ने शहरै ठप्प पारी छाड्थे। सब वाक्क थिए तर सबै चुपचाप ! सरकारका दशौं हजार प्रहरी जवानहरु राज चलाउने गुण्डाका अाडमा सुकुलगुण्डाहरुले मच्चाएको विध्वंश टुलुटुलु हेर्न बाध्य भएका थिए। कति लज्जास्पद लाग्यो यहाँको स्थिति हेर्दा त्यस् बेला ! यस्तो गुण्डाका राजधानी अहिले विवेकशील राजधानी बन्छ भनेर त मैले सपनामा पनि सोचेकी थिईन !

सन् २०१५ मा भुकम्प र त्यस पश्चातको उथलपुथलले गर्दा जनताले बन्दको विरुद्ध शून्य सहनशीलता अपनाउन थाले। स्थानीय प्रशासनको मद्दतले काठमाडौंलाई बन्दमुक्त क्षेत्र घोषणा गरे। स्थानीयले बन्द गर्ने राजनीतिक दलहरुलाई स्थानिय चुनावमा यसरी पाठ सिकाए कि काठमाडौँमा आस्तित्व चट भयो। बन्द गर्दा प्रतिकार नगर्ने नेतृत्वलाई पनि यस्तै हाल गरे। अहिले घर-अाँगन देखि नै बालबालिकालाई बिनम्रता, सहानुभूति, दायित्व र निष्ठा जस्ता विवेकशील मुल्य मान्यतालाई व्यवहारमा उतार्न लगाईन्छ। नागरिक दायित्वका विषय हरेक कलेजमा एक प्रयोगात्मक विषय बनेको हुनाले यहाँका युवाहरुमा जोश मात्र होईन होश पनि जागेको छ। सक्नेले नसक्नेलाई मद्दतको हात बढाउने शहरको रुपमा चिनिएको छ। यहाँ एउटा यस्तो टिभी च्यानल नै छ – “पोजिटिभ (सकारात्मक) टिभी” जहाँ मद्दतका गाथा र सकारात्मक कार्यलाई मात्र चौबिसै घण्टा देखाईन्छ जहाँ नकारात्मकको नामो निशान देखिन्न। काठमाडौंमा जुनसुकै वर्ग, जाती, लिङ्ग, धर्म, उमेर,समुदाय वा देशकाले आफ्नो दैनिकी ढुक्क तरिकाले गर्छन्। हकका साथ जिम्मेवारी बहनलाई सँगै तौल्ने संस्कार यहाँका स्थानीय कानुनले पनि नजिरको रुपमा लिएको छ।

नागरिक मन्त्र: विवेक अघि सर्छ, टोल अघि बढ्छ!

१०) काठमाडौं: उद्यमीका राजधानी

“त्यहाँ चाहिँ तिमी जानै पर्छ है” अाधा दुनिया टाढाबाट मेरो साथीले मलाई एउटा उद्दमी क्याफेको सिफारिस गरेको थियो।  त्यसैले अाज म त्यहिँ चिया-कफी खाने ठाउँ अघि उभिएको छु। भित्र छिर्ने बित्तिकै वरिपरि भित्तामा जताततै फोटा टाँगीएको देख्छु। अचानक मेरो अनुहार उज्यालो हुन्छ – यी फोटामा मैले पत्रिकामा मात्र देखेका विश्व प्रसिद्ध लगानीकर्ता देखि अरबपति उद्दमीहरु देख्छु । यिन्‌का साथमा यहीँ कै स्थानीय सुचना प्रविधिका प्रतिभाशाली उद्दमशील युवाहरु देखिन्छन् भने त कतैमा ख्याति प्राप्त नेपाली कृषकहरु। जुनै फोटोमा पनि कोहि न कोहि श्रृजनशील ब्यक्तित्वहरु देखिएका छन्। अवश्य यो ठाउँ सकारात्मकताको सुगन्धले नै छाएको छ। अगाडी टेबलहरुमा देख्छु  सबैमा स्थानीय र विदेशीहरु खचाखच छ। टेबल खोज्दा खोज्दै १० मिनेट बित्यो भन्या। कम्तिमा पनि १० भिन्न भाषा बोलिईरहेको सुनें होला । उद्यम शुरु गर्ने अाँट्ने मेरा साथीहरु यस बिचित्रको ठाउँमा कतिविन रमाउथेँ होला है !

सन् २०३० मा जुनसुकै काठमाडौंवासीलाई पनि अमेरिकाको सिलिकन भ्याली जस्तै गरि उद्यमशीलताको भूत सवार भएको स्थिति छ। सन् २०१५ को त्यो विनाशकारी भूकम्पले नेपालको त्यस बेलाका युवा ‘विलिन’ हुने पुस्तालाई खतरनाक परिस्थितिमा पनि काम सफल पार्न ‘जोश र होश’ भएका पुस्तामा परिणत गरिदियो। त्यस बेला निस्किएको नेतृत्वमा युवालाई सशक्त बनाई नवीन काममा लगाए मात्र देश जीवित रहन्छ भन्ने अात्मबोध भयो। विगतको २० वर्षमा १० लाख सदस्य बलियो “नेपालकै लागि उद्यमी” मञ्चको कुनाकुनासम्म बिस्तार हुन पुग्यो जसले नेपालमै उद्यम गर्न चाहनेलाई प्रभावकारी ज्ञान, सीप र सञ्जाल दिने गर्छ। टोल-टोलमा स्थानीय परामर्श क्लबहरु फस्टाएका छन् जसले नियमित रुपमा त्यहाँका अग्रज र युवाहरुलाई एक ठाउँमा ल्याई सहि मार्ग देखाउने काम गर्छन्। स्थानीय प्रतिभाको श्रृजना, लगन र सफलतासँग टाँस्सिन देश-विदेशका लगानीकर्ता देखि ऋणदाताहरु सबै यहि शहरमै खनिएका छन्। नवीनता, प्रतिस्पर्धा र परिवर्तनकै खेल यो शहरको मूल खेल बनेको छ। हरेक परिवारमा उद्यम शुरु गर्नै पर्ने जस्तो मौन संस्कारले गर्दा काठमाडौंलाई उद्यमीहरुका लागि शक्तिशाली चुम्बक बनेको छ।

नागरिक मन्त्र : ‘(उद्यम) शुरु गर्ने, बढाउने, लगानी खनाउने, फेरि शुरु गर्ने…

 

“टाइम” पत्रिकाको यस बिस्तृत लेख पढिसकेर विश्राम गर्छु।  काठमाडौँ उपत्यकाले गरेको चमत्कारी रुपान्तरणको गाथा पढेर दिमाग धेरै रिङ्गयाई रह्यो। अचानक मेरो स्मार्ट फोनमा अलर्टको घन्टी बज्छ। फोनमा लेखिएको छ, “ पेरिस शहरका मेएरले त्यहाँका शहरीया जीवन पद्दति र संस्कारमा तुरुन्तै सुधार ल्याउन काठमाडौंबाट प्राविधिक सहयोग लिने सम्झौता गर्यो…”

क्रमश…..

Kathmandu valley 2030

यो पहिलो (१.०) संस्करण  हो। यस लेखमा मैले काठमाडौँलाई उदाहरणको रुपमा प्रस्तुत गरेको छु। मेरो बिचारमा यो नेपालको हरेक गाउँ-शहर को कथा हुन सक्ने कथा हो। तपाइँको गाउँ र शहर पनि यस्तै परिकल्पना गरि बिपना बनाउने तिर लागे, हाम्रै जीवनकालमा यो परिवर्तन हेरेर जाने छौँ।

यस लेखमा सहयोग गर्ने मिलन निरौला, सिर्जना क्षेत्री, सागर वन्त, राज महर्जन, कृष्ण क्षेत्री, जगनाथ काफ्ले, रमेश पौड्याल, जीवन श्रेष्ठ, विजय शिवाकोटी र अन्य साथीहरुलाई धेरै धेरै धन्यवाद।

अाफ्नो सोच वा भविष्यवाणी पनि तल कमेन्टमा अवश्य लेख्नुहोस् है !
धन्यवाद :)

भूकम्पको के दोष!

dharahara

एकैपलमा झण्डै ९,००० नेपाली मारिनुमा भूकम्प जिम्मेवार कि अहिलेसम्मको राजनीतिक–आर्थिक–सामाजिक संरचना? भूकम्पलाई दोष दिने हो भने यो त प्राकृतिक नियमितता हो। हरेक वर्ष संसारभरि यस्ता प्राकृतिक विपत्ति आइरहन्छन्–गइरहन्छन्। केही दिनअघि जापानमा पनि नेपालमा जस्तै ७.८ रेक्टरको भूकम्प गयो। तर, त्यहाँ एक जना पनि मरेनन् त! त्यसो भए के फरक रह्यो त त्यहाँ र यहाँ?

मूल कुरो त्यहाँको नेतृत्व र संरचनाले आफ्नो नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता बनाएको छ। हाम्रो नेतृत्वको चेतनामा नागरिक रक्षा महत्वपूर्ण कुरा हो भन्ने नै छैन। किन यस्तो भयो त? पहिलो कुरो त जीवन रक्षा गर्ने भनेको के हो त्यो बुझ्नुपर्छ। विपत् परेपछि बचाउनु मात्रलाई जीवन रक्षा गरेको मान्ने कि पूर्वतयारी गरी ज्यान बचाउने संरचना र चेतना जगाउनेलाई पनि भन्ने? विपत् आएपछि त जनावरले पनि जीवन रक्षा गर्छ। मानव त त्यो हो, जसले विपत् आउनुअघि नै बच्ने तरिका बनाइसकेको हुन्छ। यही कारण ऊ र उसको समाजको क्षति न्यून हुन्छ। एकचोटी सोच्नुहोस् त, कसले यस्तो वातावरण बनायो, जहाँ पुस्तौँअघि बनेका माटोकै घरमा बस्न हामी अहिले बाध्य छौँ? कसले त्यस्तो वातावरण बनायो जहाँ नियम मिची जथाभावी कमसल घर–बाटो बनाउन दिइयो? प्रजातन्त्र आएको दुई दशक बित्दा पनि कसले नजिकको अस्पताल पुग्न दिनहुँ हिँड्नुपर्ने बाध्यता कायमै राख्यो? कसको नेतृत्वमा यस्ता संरचना बने जसले विपत्मा लाखौँ नेपालीलाई हप्तौँसम्म एउटै त्रिपाल पनि दिन सकेन र खुल्ला आकाशमा भोको पेट बोकी सुत्न बाध्य तुल्यायो?

कुरा स्पष्ट छ, हाम्रा हजारौँ दिदीबहिनी–दाजुभाइको मरणमा हाम्रै नेतृत्वको शैली जिम्मेवार छ। जुन नेतृत्व प्रणालीअन्तर्गत निर्देशित रही जसरी कमसल घरदेखि बाटाहरू बने त्यसैद्वारा निर्दोष नेपाली मारिए। अस्पताल नजिक नबनाइदिँदा र बनाइएका पनि विपत्मा काम नलाग्ने खालका हुँदा धेरै नेपाली मरे। देशको नेतृत्व भनेको त जनताको अभिवाभक हो। हाम्रो जीवन बचाउने अनि सहज बनाइदिने दायित्व हाम्रो नेतृत्वले बोकेको छ। त्यसैअनुरूप नियमकानुन बनाइ त्यसको पालना गराइ देशलाई अघि बढाउने जिम्मेवारी नेतृत्वको हो। विपत्ति आउँछ भन्ने थाहा हुँदाहुँदै केही नगर्ने हाम्रा राजनीतिक, आर्थिक र सामाजिक नेतृत्व यस विपत्को जिम्मेवार हुन्। कुनै एक नागरिकले गल्ती गर्दा थोरै ज्यान जाला, तर देशलाई नेतृत्व गर्नेले नै गल्ती गर्दा हजारौँ मान्छे मारिन्छन्, लाखौँ घरबारविहीन हुनपुग्छन्। अनि लाखौँ निर्दोष नेपाली गरिबीको भुमरीमा फस्छन्।

अहिलेसम्म देशको नेतृत्व सम्हालेकालाई मेरो प्रश्न के छ भने, तपाईंहरू कस्तो नेतृत्व प्रदर्शन गर्दै आउनुभएको छ? जहाँ पूर्वअनुमानित विपत्ति आउँदा पनि लाखौँ घर भत्किन्छन्? हजारौँ विद्यालय ढल्छन् अनि असंख्य बाटा बिग्रिन्छन्! तपाईंले कस्तो समाजको परिकल्पना गरिराख्नु भएको छ, जसको संरचनाले भूकम्पको एकै झट्कामा झण्डै ९,००० नेपाली मर्छन्? लाखौँ घरबारविहीन नेपाली परिवारलाई के जवाफ दिनुहुन्छ? सुन्दर, समृद्ध नेपाल बनाउँछु भन्ने दसौँ लाख विद्यार्थीलाई के स्पष्टिकरण दिनुहुन्छ? अनि तपाईको नेतृत्व शैलीका कारण आत्मसम्मान गुमाइसकेको देशदेखि दिक्क बनेका ३ करोड नेपालीलाई तपाईंको जवाफ के हुनेछ?

हाम्रो देशका नागरिकलाई पनि म सोध्न चाहन्छु– कस्तो नेतृत्व चुनिराखेका छौँ, जसले हजारौँ नेपालीको असामायिक मृत्यु हुने संरचना जोगाइराख्छ? कस्तो नेतृत्वलाई तपाईंले साथ दिनुभएको छ, जसले बनाएको प्रणालीले दसौँ हजारलाई एकैपटक अस्पताल पुर्यातउँछ? कस्तो नेतृत्व पद्धति जोगाइराख्नु भएको छ, जसले लाखौँ परिवारलाई भोको पेटमा खुल्ला आकासमा सुताइ एक बोरा चामल र एउटा त्रिपाल माग्न बाध्य बनाउँछ? नेतृत्व भनेको तपार्इंले रोज्ने हो, तपाईंले नै बनाउने हो अनि तपाईंले नै ठड्याइराख्ने हो। स्मरण रहोस्, अझै पनि पश्चिम र पूर्वी नेपालका ५८ जिल्ला जहाँ भूकम्पले प्रत्यक्ष प्रभाव पारेको छैन त्यहाँ बस्ने नेपाली उस्तै खतरनाक संरचनामा बस्न बाध्य छन्। त्यो संरचना कुनै पनि बेला अर्को भूकम्पले सखाप पारिदिनसक्छ। अनि फेरि हजारौँ (लाखौँ?) निर्दोष नागरिक मारिनसक्छन्।

कि तपाईं विकल्प खोज्दै हुनुहुन्छ? यस्तो वैकल्पिक समाज र संरचना बनाउन लम्कन चाहनुहुन्छ, जहाँ अहिलेको भन्दा ठूलो भुइँचालो आउँदा पनि न्यून क्षति हुनेछ। जहाँ बाटो भत्के पनि तुरुन्तै पहिलेभन्दा बलियो बन्छ। दुर्भाग्यले घर ढले पनि एक रात पनि खुला आकासमा गुजार्नु पर्दैन– एक बोरा चामलको लागि हात जोड्नु पर्दैन– बिरामीलाई समयमै अस्पताल पुर्याटउन सकिने छ।

अहिलेकै नेतृत्वले नेपालीको जीवन रक्षा कदापि गर्न सक्दैन, वैशाख १२ को भूकम्प र त्यसपछिको जीवन यसको साक्षी छ। अब नेपालले नेपालीको जीवन भक्षक होइन जीवन रक्षक नेतृत्व खोजेको छ। हरेक नेपालीसँग आज प्रष्ट दुइटा बाटो छ। राजनीतिलाई पानीसँग तुलना गर्ने हो भने दुषित पानी सफा गर्ने बाटो लाग्ने कि अझै ढल मिसाइराख्ने? अर्को भूकम्प वा अन्यखाले विपत्ति आउँदा के गर्ने? एक बोरा चामल र एउटा त्रिपाल लुछाचुँडी गर्ने कि २१ औँ शताब्दी सापेक्ष नेतृत्व बन्ने–बनाउने?

राजनीति र देशको सम्बन्ध भनेको नुन र खानाको सम्बन्धजस्तो रहेछ। खानाका परिकार जति मीठो बनाए पनि त्यसमा नुन नहाली सुखै हुन्न। नुन पुगेन वा चर्को भयो भने पनि खानयोग्य बन्दैन। त्यसैले राजनीतिबाट टाढिएर पनि समाधान निस्कँदैन। धेरै राजनीति गरेर पनि काम छैन। त्यसैले अब पनि सही नेतृत्व चुन्न, बनाउन र थेग्न आफूभित्रै सुतिरहेको विवेक जगाएनौँ भने सानै विपत्तिले पनि तपाईंको छोराछोरी, आमाबाबुमात्र होइन आदरणीयय देशका सपुत पनि गुमाउने छौँ। अनि यसको दोष पनि आफ्नो भाग्य वा निष्ठुरी भगवानलाई दिनेछौँ। अब भगवानलाई होइन हाम्रै नेतृत्वलाई औँलो ठड्याउने बेला आएको छ। २१ औँ शताब्दी सापेक्ष नेतृत्वको माग छ अहिले। जस्तोसुकै विपत्मा पनि आफ्नो जीवन रक्षा गर्ने नेतृत्व चाहिरहेका छन् नेपालीले।

कस्तो हो त यो २१ औँ शताब्दीको नेतृत्व जसले नेपालीको रक्षालाई पहिलो प्राथमिकतामा राख्छ?

१. यस्तो नेतृत्व जसले देशलाई विपत्को सामना गर्न पूर्वतयारी गरिराख्छ

२. यस्तो नेतृत्व जसले मद्दत गर्न चाहने र मद्दत आवश्यक रहेकाबीच पुल बनिदिने काम गर्छ।

३. यस्तो नेतृत्व जसले आफू त्रसित हुँदा पनि वरिपरि सबैलाई सहज व्यवस्थापन गरिदिन्छ।

४. यस्तो नेतृत्व जसले विपत्मा नागरिकलाई मजबुत बनाउन नवीन तरिका अपनाउँछ।

५. यस्तो नेतृत्व जसले गलत गरिएला कि भन्दै अनिर्र्णयमा बस्नुभन्दा सुरु गरिहालेर सिक्दै, सुधार्दै जाने बाटो निकाल्छ।

६. यस्तो नेतृत्व जसले देशको सरकारका शासन व्यवस्थामा देखिएका कमजोरीलाई तुरुन्तै सम्बोधन गर्छ।

७. यस्तो नेतृत्व जसले स्थानीय तहमा सक्षम नेतृत्व बनाइ त्यहाँका नागरिकलाई नै जिम्मेवार बनाउने काम गर्छ।

८. यस्तो नेतृत्व जसले महाविपत्तिको बेला आइपर्ने धेरै शंका र अविश्वासलाई कुल्ची उदारताको उदाहरण बन्छ।

९. यस्तो नेतृत्व जसले नेपाली नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्छ।

भूकम्पलाई अब उप्रान्त कहिले दोष दिने काम नगरौँ। बरु यो गैरजिम्मेवार सामाजिक–राजनीतिक–आर्थिक चक्रव्यूहलाई नै तोड्नेबारे सोचौँ। भूकम्पपछिको नेपालको यो कालखण्डमा अहिलेको नेतृत्वको शैली पूर्णरूपमा असान्दर्भिक प्रमाणित भएको छ। अबको नेपालले २१ औँ शताब्दी सापेक्ष नेतृत्व खोज्दै छ। जसले नेपालीलाई उद्धार र राहत वा पुनर्स्थापना गर्नेमात्र होइन, समाजकै दिगो नवनिर्माण गर्दै देशकै उत्थान हुने बाटोमा लम्काउँछ।

असार ३ , २०७२ को नागरिक खबर पत्रिकामा पनि पढ्नुहोला

विपत्‌को बेलामा देशले फड्को मार्ने रणनीति

“बेलामै तयारी नगर्ने नेतृत्वले समयमै रक्षा गर्न पनि सक्दैन।” वैशाख १२ गते मध्याह्नमा जब ७.८ रेक्टर स्केलको भूकम्प गयो तब हामी सबैलाई यसको अर्थ महसुस हुन थाल्यो। गएको १ महिनामा हामी हजारौं अाम नागरिकलाई साथ लिई १७ जिल्लाका ३०० भन्दा बढी ठाउँमा राहत  र साथै २०० भन्दा बढी चिकित्सक टोलीहरु परिचालन गर्यौं। त्रास हटाउन मनोवैज्ञानिक परामर्शदाताको काम र महामारी फैलन नदिन सामाजिक स्वास्थ्यकर्मीलाई पनि परिचालन गर्यौं। महाविनाशकारी भूकम्पले सिर्जना गरेको अपार क्षतिसँग जुध्ने क्रममा सिकेका यी अनुभवहरुबाट विवेकशील नेपाली दलले देशको उत्थानको लागि ‘पाँच -आर (5R) रणनीति’ अघि सारेको छ। यस रणनीतिलाई हामीले यी को चरणमा वर्गीकरण गरेका छौं।
१) उद्धार (Rescue),
२) राहत (Relief),
३) पुनर्स्थापना (Rehabilitation),
४) पुनर्निर्माण (Reconstruction), र
५) उत्थान (Resurgence)

BibekSheel 5R Strategy भुकम्प पछिको विवेकशील रणनीति

 

अहिले नेपालमा उद्धार र राहत चरणको समाप्त हुँदै गरेको छ र पुनर्स्थापना चरणको सुरुवात हुन लागेको छ।अहिले सरकार लगायत सयौं संघसंस्था एवं व्यक्तिहरु स्वयंसेवी भावना बोकेर गाउँ गाउँमा उद्धार र राहत वितरणमा खटिईरहेका छन् । प्रभावितको दैनिक जीवनलाई सामान्य एवं सहज तुल्याउन उद्धार र राहत मात्र होईन अब त पुनर्स्थापना, पुनर्निर्माण र उत्थानको बाटोमा पनि ठोस योजनासहित लाग्नु अनिवार्य देखिन्छ। छरिएका हजारौं असल अभियानहरुलाई दीर्घकालिन मार्गदृष्टिमा जोडेर लानुपर्ने आवश्यकता छ। यस्तो समन्वयको नेतृत्व सरकार आफैंले लिनु उपयुक्त हुन्छ। तसर्थ, नेपाल सरकारलाई यी पाँच-आर रणनीति अख्तियार गरी अघि बढ्न हामी आग्रह गर्दछौं र यस सम्बन्धी सरकारको कदमलाई विवेकशील नेपालीले हर तरहले सहयोग पुर्याउने समेत प्रतिवद्धता जनाउँदछौं।

विवेकशील नेपालीले भुकम्प प्रतिक्रियात्मक टास्क फोर्स गठन गरी हालसम्म १७ जिल्लाका ३०० भन्दा बढि ठाउँमा खट्दा हासिल गरेका अनुभवहरु सम्बन्धित सबै सरोकारवालालाई सन्दर्भ-सामग्री हुनसक्छ । हामी उक्त टास्क फोर्स को गठन, संरचना, कार्यविधि र व्यवस्थापनको अहिले सम्मको अभ्यासलाई नजिकबाट अवलोकन गर्न नेपाल सरकारका अधिकारीहरुलाई सादर निमन्त्रणा समेत गर्दछौं।

हाम्रा पाँच-आर रणनीतिलाई संक्षेपमा देहाय अनुसार उल्लेख गर्न सकिन्छ ।

१) उद्धार को रणनीति :

बिपत्ति अाँउछ भन्ने थाहा हुँदाहुँदै तयार नहुने सरकार सरकार रहँदैन, खाली मुकदर्शक। त्यसैले उद्धार रणनितिमा मुख्यत: सरकारको प्रमुख भुमिका रहन्छ। विपत्ति भएको ठाँउमा सरकारले एउटा छुट्टै संचार बिभाग खोल्नु पर्छ – युवा स्वयंसेवकहरु राखी। स्थानीय सरकारको काम यस बेला मद्दत गर्ने र मद्दत माग्ने बीच समन्वय गरि दिने हो। केन्द्रीय सरकार विनम्र र खुल्ला रही अाफ्नो शक्तिको परिचालन गर्ने हो। उद्धारको प्रणाली पहिले नै पूर्वतयारी भै सक्नु पर्छ र यसलाई बेला बेलामा अभ्यास गरी चुस्त पारिनु पर्छ। प्रहरी र सेनालाई उद्धारमा नियमित र विशेष तालिम दिई राख्नु पर्छ। शहर र गाउँका क्लबहरुमा नियमित उद्धार तालिम दिने प्रणाली हुनु पर्दछ। हरेक राजनीतिक दलभित्र पनि प्रष्ट प्रोटोकल बनाइनुपर्छ जसले गर्दा त्यस दलका हरेक कार्यकर्ताले अाफ्नो परिवार सुरक्षित भएको थाहा पाएपछि तुरुन्तै नजिकैको अस्पताल वा दुर्घटना घटनास्थलमा परिचालित भई सरकारलाई मद्दत गर्ने थाल्ने।

२) राहत को रणनीति:

राहत पारदर्शी र जवाफदेहि तरिकाले बाँडिनु पर्छ र यसमा धेरै दोहोरोपन हुने हुँदा केहि मात्रामा कम गर्न भए पनि एउटा ठुलो हलमा मद्दत गर्ने बिभिन्न संघ-संस्थाका एक-एक प्रतिनिधि राखी “सहयोग कक्ष” खोली दिनु पर्छ। त्यहाँ ईन्टरनेट देखि अरु अत्याधुनिक दुरसञ्चार, ईन्टरनेट वा बिजुलीको कुनै असुविधा हुनु हुन्न र सयौं संघ-संस्था-समुह सम्म अट्ने किसिमले मिलाईएको हुनु पर्छ। विदेशबाट मद्दत गर्न चाहनेलाई पनि यस क्षणमा एक-अर्का सँग जोडि दिने वातावरण बनाईदिनु पर्छ ताकि मद्दतमा कुनै ढिलासुस्ती नहोस्। महाविपत्तिको बेला सरकारले अलिकन माथि उभिएर सबै मद्दतकर्तालाई पहिले सहजिकरण गर्ने अनि बिस्तारै व्यवस्थापन गर्दै जानु उचित हुन्छ। जिल्लामा वा सदरमुकामसम्म राहत पुर्याई त्यहाँका सेना वा प्रहरीको सुरक्षामा राहत मद्दत गर्ने गैर सरकारी टोलीले पनि स्थानिय सरकारको मातहातमा राहत बाँड्ने माहोल सिर्जना गर्नु जरुरी छ ताकि मद्दत गर्ने र मद्त लिने बिच प्रत्यक्ष सम्बन्ध पनि रहोस्, सम्मानजनक तरिकाले प्रभावितलाई राहत पनि बाँड्न सकियोस् र सरकार नियन्त्रणमा छ भन्ने भान पनि परोस् सबैलाई। राहत वितरणको चरणमा सरकारले देश सेवा र भक्तिमा समर्पण गर्न अाह्वान गर्दै राहत र सहायतामा पारदर्शी ल्याउन अाफै पारदर्शिताको नमुना बनी अरुलाई पनि जवाफदेही बनाउने प्रणाली शुरु गर्नु पर्छ। यो बेला भनेको सरकारले अन्तराष्ट्रिय जगतमा अाफ्नो उदारता र बिनम्रताको कुटनीति देखाउने बेला पनि हो।

३) पुन:स्थापना को रणनीति:

प्रभावितलाई न्युनतम गाँस, बास र कपास पुर्याए पछि अब उन्‌को गौरव (प्रतिष्ठा) जोगाउन तिर लाग्नु अति महत्वपूर्ण बन्न जान्छ। त्यसैले प्रभावितलाई बिस्तारै सामान्य जीवनतिर फर्कन प्रेरित गर्न बिभिन्न उपायहरु निकाल्नु पर्छ- विशेष गरि मानसिक तनाब घटाउने अभ्यासका साथसाथै अस्थाई शिविर वा घरमा बस्दा सार्वजनिक स्वास्थ्यको ख्याल राख्ने । अझ गाँउ ठाँउमा त पशुपालनले प्रमुख भुमिका खेल्ने हुदाँ पशुपालन र पशु स्वास्थ्यमा सुधार ल्याई गाउँबासीलाई दैनिक कार्यमा व्यस्त गराउनु अत्यन्त जरुरी रहन्छ। अाँउदो बर्खामा न्युनतम अोभानो ठाँउमा बसोबास गराई खेतिपाती तर्फ लाग्न मिल्ने स्थिति सम्म बनाउनलाई सरकारले एक राष्ट्रिय स्वयंसेवक सन्जालको संयोजन गरि त्यसलाई स्थानिय सरकारको मातहातमा परिचालन गर्न सक्नु पर्छ। यस कार्यमा सूचना प्रबिधि (IT) को प्रयोग बाट को, कहाँ, कसरी, कसको श्रोतमा जान्छ यो सबै सजिलै व्यवस्थापन गर्न सकिन्छ। जवाफदेहिताको प्रश्न यस्तो बेला सबैभन्दा महत्वपूर्ण हुन्छ त्यसैले यसलाई संवोधन गर्न अख्तियार दुरुपयोग अायोग भित्र एउटा अधिकारयुक्त “जवाफदेहिता बोर्ड” बनाई हरेक राहत वितरण, पुन:स्थापना र पुन:निर्माणको कामको पारदर्शिता र जवाफदेहिताको अख्तियारी दिईनु पर्छ चाहे त्यो सरकारी होस्, समाजसेवा संगठन होस् वा नीजी क्षेत्रकै।

४) पुन:निर्माण को रणनीति:

अाफ्नो घर, बस्ती, स्कुल वा समाज पहिले भन्दा राम्रो नदेखे सम्म वा अनुभव नगरे सम्म पिडितहरुले स्थायी रुपमा अाफ्ना सामान्य जीवनमा फर्कन सक्दैनन्। त्यसैले पुन निर्माणको लागि हामी सरकारको प्रधानमन्त्रीको मातहातमा स्वायत्त: “नेपाल पुन:निर्माण बोर्ड” बनाउनै पर्छ जुन ३ बर्ष सम्म काम सक्काई अाफै विलिन हुन्छ। यसले सरकार, निजी क्षेत्र र दातृ संस्थालाई मिलाई काम गराउँछ। यसले निजी क्षेत्रको चुस्तता र सरकारको जवाफदेहिता र दातृ निकायको लगानीलाई सन्तुलन गरि चुस्त तरिकाले लागु गर्छ।  त्यस माथि हाम्रो देशमै सम्मानजनक रोजगार सिर्जना गर्न यो निकायले अाँट्नेछ। नेपालमा प्राय जसो घरका कोहि न कोहि विदेशमा रोजगारमा पुगेका छन् त्यसैले उनीहरुलाई नेपालै फर्काई यहीं नै महत्वपूर्ण पुन:निर्माणको काम दिन सकियो भने परिवार पनि सुरक्षित महसुस गर्ने र देशलाई चाहिने सबल शक्ति पनि देशमै हुने। हरेक गाउँमा एक भुकम्प प्रतिरोधात्मक घर बनाउने सीप भएको स्वयंसेवकको पहल र व्यवस्थापन पनि “नेपाल पुन:निर्माण बोर्ड”ले गर्नै पर्छ। पुरानो संरचना भत्किएको अहिलेको नेपालमा अब नयाँ नेपालको संरचना बनाउने यो सुनौलो अवसर हुनेछ।

पुन:निर्माणमा सबै भन्दा महत्वपूर्ण काम भनेको यसका कार्यलाई जवाफदेही, ईमान्दार र चुस्त बनाउनु हो र त्यसका लागि निर्वाचित स्थानीय सरकार अपरिहार्य छ। भुकम्पको समस्या बल्झिएको प्रमुख कारण नै जनताले विश्वास गरेको स्थानीय प्रतिनिधि नभएरै हो। जनतामा लोकतन्त्र प्रतिको विश्वास राखी राख्ने यो नै अन्तिम उपाय हो अब। जब अाफुले नै चुनेर पठाएको प्रतिनिधि गाउँ, शहरमा काम गर्न थाल्छन् तब पुन:निर्माणको कार्य तिब्र हुन्छ र अहिलेका बाधक – राजनीतिक भागबण्डाको जवाफहीन, गैरजिम्मेवार संरचना र त्यसले टुक्राएको समाज विलिन हुनेछ। जवाफदेही सरकार विना पुन:निर्माण असफल नै हुनेछ त्यसैले यस्तो कठिन परिस्थितिमा पनि जवाफदेही, प्रतिवद्ध नेतृत्व चुन्ने अवसर अाम जनताले तुरुन्तै पाउनु पर्छ।

५) (नेपालको) उत्थान को रणनीति:

घर उठेर मात्र हुँदैन, बस्ती बनेर मात्र पुग्दैन, भुकम्पले नेपालीहरुमा अहिले जगाएको विवेक जोगाई राखि चुस्त रुपमा परिचालन गर्नु यो समयको माग हो। विवेक जागेको देश लम्कन कत्ति पनि बेर लाग्दैन। मात्र हाम्रो दृढ ईच्छाशक्ति चाहिन्छ। नेपाली ईतिहासँ दुई कालखण्ड बाडेँ हुन्छ- भूकम्पअघिको नेपाल र भूकम्पपछिको नेपाल। अबको नेपाल बनाउने जिम्मा नेपाली नागरिकले नै लिनु पर्छ। नवनिर्वाचित स्थानिय सरकारको नेतृत्वमा हामीले २१ वौँ सताब्दी सापेक्ष अस्पताल, विधालय र गाउँ- शहर बनाउन तिर लाग्यौँ भने विश्वको लागि हामी नै नमुना बन्छौँ। देशभक्ति त्यसै जाग्दैन, जगाउनै पर्छ। नेपाली भनेर मात्र पुग्दैन बनेरै देखाउनु नै पर्छ। अबको शिक्षाको मुल मर्म, “मेरो देश, मेरो दायित्व” बाट लक्षित भई एक्काइसौं शताव्दी समय सापेक्ष बनाउने यो ठुलो अवसर छ। यहि मर्म अात्मसात् गर्न राष्ट्रिय गौरवका कामकारवाहीमा नेपाली स्वय़ंसेवक, उद्यमी र पेशाकर्मीलाई नेतृत्व दिनै पर्छ। बर्षमा कम्तीमा एक चोटी एउटा कुनामा पढ्ने विधार्थीहरु देशको अर्को कुनामा राष्ट्रिय गौरवको काममा कम्तिमा पनि १ महिनासम्म माटोसँग खेल्नु पर्ने राष्ट्रिय रणनीति विकास गर्नै पर्छ। भूकम्पले जगाएको देशभक्तिलाई जगाई राख्न दिगो व्यवस्थापन गर्न सक्नु नै ‘उत्थान”को कर्तव्य हो।

नेपाललाई अब २१ वौँ शताव्दी सापेक्ष ‘जोश र होश’ दुवै मिलेर बनेको नेतृत्व नै चाहिन्छ जो जवाफदेहि, पारदर्शी र विपदको समयमा नेपालीहरुको ज्यान समयमै बचाउन लम्कन्छ। यस्तो नेतृत्व केन्द्रमा मात्र होईन गाँउ-टोलमै बिकास गर्नु अपरिहार्य छ नत्र एउटा सम्पूर्ण कालखण्ड नै परनिर्भर, विवेकहीन बनेर जान्छ। अहिले विवेकशील नेपाली लगायत देशका सम्पूर्ण नेतृत्वलाई सबै भन्दा महत्वपूर्ण चुनौती भनेकै भुकम्प पछिको देश र त्यसमा हुर्कने पुस्ता दुवैको उत्थान हो। हामी सबैलाई एउटै प्रश्न: यस्तो चुनौतीको सामना अहिले नगरे कहिले गर्ने ? र हामीले नै नगरे कसले गर्ने?

Earthquake relief effort: Contact your district’s government officials: Phone number। स्थानीय जिल्लाका पदाधिकारीका नम्बरमा कल गरौँ

Numbers of responsible government officials in districts

काठमाडौँ उपत्यका बाहिरको भुकम्प पिडित उद्दार  नेपाल सरकारका यी सचिबहरुले नेतृत्व गर्ने छन्। यी कर्मचारीले स्थानीय निकाय, राजनीतिक दलहरु, नीजि क्षेत्र र नागरिक समाजसँग समन्वय गर्छन्।

जिल्ला —- मुल सरकारी प्रतिनिधि —- सम्पर्क
धादिंग —- शारदा प्रसाद त्रितल —- ९८४११११३२३
काभ्रे —- जीवनप्रभा लामा—- ९८४१४९१७२१
नुवाकोट—- अनुप कुमार उपाध्यय —- ९८४१०५४१८२
रसुवा—- गुनराज श्रेष्ठ —- ९८४१३५३०४५
सिन्धुपाल्चोक—- मधु प्रसाद रेग्मी —- ९८४१५५२९४३
दोलखा —- गजेन्द्र ठाकुर —- ९८४१७४३००५
रामेछाप—- विश्णु प्रसाद लम्साल —- ९८५११३२०४५
सिन्धुली —- रमेश कुमार शर्मा —- ९८५१०२९६०१
गोर्खा —- नरेन्द्र मान श्रेष्ठ —- ९८५१०५४४४०
मकवानपुर—- नर बहादुर राजवर —- ९८४१३३९२९२