Category Archives: nepali

नेपालीमा लेखहरु (in nepali language)

समस्त ‘पशुका संरक्षक’ पशुपतिनाथ भगवानले हामीलाई किन रक्षा गर्ने?

Photo © Gemunu Amarasinghe/AP/Courtesy WSJ
Photo © Gemunu Amarasinghe/AP/Courtesy WSJ

समस्त ‘पशुका संरक्षक’ पशुपतिनाथ भगवानले हामीलाई किन रक्षा गर्ने?
एकातिर उनैले ‘रक्षा’ गरेको देशमै हामी पशुको भीषण बलि दिने आँट गर्छौँ। अर्कोतिर उनैसँग हामी आफू र आफन्तको ‘सुरक्षा’ मागीहिँड्छौँ।

गढिमाईले वा मनकामना माईले हामीलाई किन रक्षा गर्ने?
कुनै प्राणीको तन-मन छिनी हाम्रो मनको कामना होस् भन्दै यी देवीसँग बरदान माग्छौँ।

गोरखकाली वा समग्रमा काली-दुर्गा-भगवतीले हामीलाई किन रक्षा गर्ने ?
उनको नाममा दशैँमा गोरखा दरबारदेखि हनुमानढोसम्म बाटैभरि रगतको खोला बगाउँछौँ अनि देशमा काटमार कदापि नहोस् भन्दै उनैलाई कामना गर्छौँ।

देशभरि विभिन्न मठ मन्दिरमा कुनै प्राणीको काल हरण गरी हाम्रै काल लम्ब्याउने जुक्ति गर्छौँ। वाह! नेपाल बुद्ध जन्मिएको देश हो भन्दै एकातिर हामी चिच्चाउदैँ हिँडछौँ, अर्कोतिर विभिन्न चाडपर्वको बहानामा भीषण पशुबलि दिन आतुर हुन्छौँ। अचम्म लाग्दो!

कसैलाई यो कुरामा चित्त नबुझ्ला र तर्क राख्नुहोला,

‘यी त पुस्तौँदेखि चलीआएका संस्कार, चलन, रीतिरिवाज हुन्। किन यसमा टाउको दुखाई?’

त्यसो त सतीप्रथा पनि एक जमानामा रीतिरिवाज थियो। अहिले छैन। किन? कसैले टाउको दुखाएरै त हटेको हो यो। दासप्रथा पनि कानुनसम्मत थियो, पशुपतिनाथकै ढुकुटीबाटै पैसा झिकेर उन्मुलन भएको हो। छुवाछुत प्रथा समाजमा ब्याप्त थियो। यी सबै अहिले छैन। कमलरी प्रथा भरखरै हटाईयो।

अहिले बहुसंख्यक हामीले ‘भगवानलाई खुसी पार्न बलि नदिइकन नै बडा दशैँ मनाउन थालिसकेका छौँ। यस्तैगरी ‘छुई – महिनावारी’ प्रथालाई पनि घरमै समय सापेक्ष ढंगबाट सुधार गर्दै लगेकाछौँ। छाउ प्रथा विरुद्ध प्रयास जारी छ। छुवाछुत तोडिसक्यौँ। अन्तरजातीय विवाह पनि सामाजिक आदर्श बनिसकेको छ। भीषण गृह-युद्धबाट निस्केको देशले नै ‘आदर्शको लागि काटमार’ गर्ने प्रथालाई त्यागीसकेको छ।

भनेपछि अघि जे प्रथा थियो, अहिले पनि त्यही प्रथा त्यही स्वरुपमा रहँदैन। युगान्तरमा सबै चाल-चलन, संस्कृति र परम्परा समयसापेक्ष तरिकाले सुधार हुँदै जादोँ रहेछ। यसमा अब दुईमत रहेन। ‘सुधार’ विधिको नियम हो र प्रकृतिको आधार पनि हो। अहिलेसम्म त हामीले समयसँग मेल नखाने चाल-चलनलाई त्याग्दै गएको तथ्यमा हाम्रै ईतिहास साक्षी छ।

यसैले अब ‘भगवानलाई खुसी पार्न पशु बलि’ दिने प्रथामा पनि ‘सुधार’ को खाँचो छ। हामी बुद्ध जन्मेको देशमा भएकोमा बडो गर्व गर्छौँ। हामी पशुपतिनाथले रक्षा गर्ने देश भएकोमा ढुक्क छौँ। अब आफैँ स्वविवेक प्रयोग गरौँ। तपाईको विवेकले के भन्छ यो विषयमा?

फेरि सोध्नुहोला, ‘त्यसो भए के हामी मासु नखाने त?’

मासु खाने वा नखानेसँग यो लेखको कुनै सम्बन्ध छैन। पेट भर्नलाई तपाई के खानुहुन्छ त्यो तपाईँकै व्यक्तिगत मामला हो।

मेरो तर्क यत्ति हो कि, तपाई एकातिर दिनदिनै पशुपतिनाथ वा वुद्ध भगवानलाई पूजा गर्ने अनि रक्षा माग्ने, अर्कोतिर आफै भगवानलाई खुसी पार्न पशुबलि दिने प्रथालाई प्रोत्साहन दिनुचाहिँ भएन। हाम्रा यस्तो दुई जिब्रे व्यवहार देखेर भगवान कसरी खुसी हुन्छन् होला र? यत्ति एउटा कुरामा चाही स्वविवेक प्रयोग गर्ने कि?

‘यस्ता पशुबलि दिने प्रथा अरु देशमा पनि त छन्। उनीहरुले चाहिँ गर्न हुने, हामीले चाहिँ किन गर्न नहुने?’

अरुको देखासिकी गरी हामीले निर्णय गर्नु ठीक कि आफ्नै विवेक प्रयोग गरी निर्णय गर्नु ठीक? अरुले गरेको काम ठीक हो या होईन त्यो छुट्टाउने विवेक हामी हरेक नेपालीमा छ। अरुले गरेको गलत कामलाई हामीले अँगाल्ने कि उल्टो उनीहरुलाई हामीले सिकाउने ?

गढीमाई पर्व होस् या मनकामनाको पूजा, दशैँको अष्टमीमा होस् या अरु कुनै चाडपर्वमा ‘भगवानलाई खुसी पार्न पशुबलि दिने’ प्रथामा समयसापेक्ष रुपमा सुधार गरौँ। संस्कृतिले धनी हाम्रो नेपालमा चाडपर्वमा ‘मार्नु’ को सट्टा ‘बचाउने’ संस्कार ल्याउने बेला आएको छ। हाम्रा यी अद्भूत चाडपर्वहरुलाई सुधारमुखी तरिकाले परिमार्जित गर्दै अझ भव्य रुपमा मनाउनु पो पर्छ त! मनकामना, गढीमाई, गोरखकाली देवीलाई पशुबलिको सट्टा बाटो, कुलो, पुस्तकालय, चर्पी बनाउँछु भनी भाकल गरे कसो होला! यस्तै कयौँ समयसापेक्ष विवेकशील बाटो चुनौँ न हामीले।

आउनुहोस्, २१ औं शताव्दीमा नेपालमा ‘भगवानलाई खुसी पार्न प्राणी बली’को प्रथा उन्मुलन गरी बुद्धले सिकाएका पाठ र पशुपतिनाथले रक्षा गर्ने देशको मूल मर्ममा फेरि हामी हिँड़ने आँट गरौँ। अनि बल्ल हामीले कल्पना गरेको शान्त र संमृद्ध नेपाल हाम्रै कालमा देख्नेछौँ।

भगवानलाई खुसी पार्न अब मार्ने होईन बचाउने प्रथा शुरु गरौँ। चाहे त्यो पशु बचाऊ होस् वा प्रकृति, व्यक्ति बचाऊ होस् वा देश। यही विवेक हामी सबैमा जागोस्।

पशुपतिनाथले हामी सबैको रक्षा गरुन्। 

सेतोपाटी पत्रिकामा पनि पढ्नु होला।

जाने होईन त चुम उपत्यका? गणेश हिमाल पारी तिबेतले ३ तिर घेरेको त्यो नेपाली ठाँउ

Read in English

IMG_1267

दशैँ तिहार बिच पारी हरेक बर्ष झैँ म र मेरो श्रीमती नेपालका कुनै बिकट मनोरम हिमाली क्षेत्र हिडयौँ। शहरमा बस्दा बस्दा थुप्रिएको अलमल्याईपन, बिभिन्न सामाजिक बन्धन र नकारात्मक सोचका गाँठो फुकाउन बेलाबेलामा प्रकृतिको निकट जानै पर्छ। यस्तो मन सफा गर्ने भ्रमणले हामीलाई अाफ्नो देश राम्ररी चिन्ने मौका पनि प्रदान गर्छ।

IMG_0279

हामी धेरै नेपालीलाई नेपालमा चुम उप्यत्यका भन्ने ठाँउ पनि छ भन्ने कुरा थाहै छैन होला। हामी काठमाडौँबाट उत्तरमा दिनहँ गणेश हिमाल देख्छौँ। तर त्यस हिमाल पारी पनि नेपाल छ भन्ने कुरा विरलै थाहा होला। हो, त्यहि हिमाल पारी नेपालीहरु बसोबास् गर्ने एउटा चुम उपत्यका छ जुन गोर्खा जिल्लाको उत्तरी सिमामा पर्छ र तिन तिरबाट तिवेतले घेरिएको छ।

IMG_1047

चुम उपत्यका पुग्न मनाश्लु हिमाल पर्यटकिय मार्गबाटै शुरु गर्नु पर्छ। हाम्रो चुमको भ्रमण कुल १५ दिनको रह्यो। गोर्खा-धादिंगको सिमानामा रहेको अारुघाट बजारबाट शुरु गरेका हामीले कयौँ दिन द्रुत गतिमा बगेकी बुढि गण्डकी नदीको तिरै तिर हिँडय़ौँ। हाम्रो कुल खर्च भने चाहिँ कुनै पनि विदेश भ्रमण गर्दा लाग्ने हवाई टिकट खर्च जति पनि परेन। समुँद्रबाट ५०० मिटर माथीको सतहबाट शुरु गरेका हामी हिँउ नै हिँउले भरिएको ३७०० मिटर सम्मको उचाँईमा पुग्यौँ।

IMG_1202

चुमका बासी जसलाई “चुम्बा” भनिदो रहेछ, हामी दुई नेपाली पर्यटक देखेर तीन छक परेका थिए। हामी घुम्न अाएको भन्ने कुरा नपत्याउदैँ “होईन होला, ‘प्रोजेक्ट’ बाट अाउनु भा होला ?“ वा “पत्रकार हुनु हुन्छ होला?” वा “विदेशीको ‘ग्रुप’ लिएर अाउनु भा होला“ भन्थे। यी सबै होईन भन्दा केहि नलागेर “अमेरिका बस्नु हुन्छ होला – घुम्न अा होला” भनि अाफ्नै मन बुझाँउथे उनले।

IMG_9829

हाम्रो लागि यो भ्रमण अध्यात्मिक अनुभवले भरिपुर्व रह्यो। चुममा बस्दा हामीले चुम्बाहरुका कला, संस्कृति र परिवर्तन नजिकबाट हेर्न पायौँ। चुमको एउटा अचम्मको विशेष संस्कार बारे थाहा पाँउदा मेरो मनमा त्यस बिकट क्षेत्र प्रति श्रद्धा जागेर अायो। यहाँ झण्डै १०० बर्ष देखि कुनै पनि जनावारलाई मार्न मनाई रहेछ। मासु नै खानु परे पनि जनावार मरेपछि मात्र खाने व्यवस्था रहेछ। अनि अर्को कुरा यहाँ यार्सागुम्बाको व्यापारले पनि अाम जीवनमा अामुल परिवर्तन ल्याएको रहेछ।

IMG_1011

अहिले चुम्बाहरु धेरै पर्यटन देखि अाकर्शित भएका पायौँ र यार्सागुम्बाले ल्याएका अाम्दानी पनि यता तिरै खन्याएका पनि देखौँ। त्यहाँ कति पय गाँउमा त हामी भरखर बनी सक्दै गरेका होटेल-लजमा बस्ने मौका पायौँ। एक बोरा सिमेन्टको ३१५० रुपैया पर्ने ठाँउमा पनि पर्यटनले गर्दा स्थानियहरुले धमाधम पर्यटकलाई बस्न लायक व्यवास्थाहरुमा लगानी गरेका देख्यौँ। खुश्शी लाग्यो ! चुम उपयत्का र जाने मार्गहरुमा भैरहेको तिव्र पर्यटकिय बिकास हेर्दा मनले छर्लङ्ग बुझ्यो कि पर्यटनले कसरी नेपालको समतामुलक बिकासलाई फड्को मार्न मद्दत गर्दो रहेछ।

IMG_1339

चुम्बाहरुका प्रमुख व्यापार तिवेतसँग हुँदो रहेछ। अाफ्ना याक र घोडाहरु लिएर उनीहरु सजिलै ५००० मिटरको पास कटी एक दिनमै तिवेत पुग्दारहेछन् अनि किनबेच गरि फर्कन्छन् भोली पल्ट।  तर नजिकैका नेपालका सहर धादिंगवेसी वा गोर्खा बजार अाउनु पर्यो भने एक हफ्ता सम्म लाग्छ।

IMG_1099

यस् हिडाँईले हामीलाई नेपालको विविधताको बारेमा अझ श्रद्धा जाग्यो। हामी हरेक भित्र विवेकशील परिवर्तन ल्याउनको लागि एउटा उत्तम उपाय भनेको शायद हरेक बर्ष अाफ्नै देशका बिकट क्षेत्रमा भ्रमण गर्ने संस्कार हुन सक्छ।

IMG_1484

“नेपाल सुन्दर छ। यसको सुन्दरता अनुभव गर्न हामी अाफैलाई परिवर्तन गर्नु जरुरी छ।”

IMG_1252

 

देश बनाउने सकारात्मक शक्तिलाई केले रोकेको छ?

 

सकारात्मक शक्तिलाई केले रोकेको छ? (सेतोपाटी पत्रिकामा पढ्नुहोला)

प्रतिभाशाली नेपालीको कमी छैन। देशलाई माया गर्ने नेपाली पनि हामी उत्तिकै छौँ। हरेक दिन कुनै न कुनै अब्बल नेपालीले राष्ट्रको शिर ठाडो राखेको खबर सुनेकै छौँ। हामी नेपाली बाहिर गएर पनि मलेशियादेखि अरब देशहरु धानेकै छौँ भने भित्रै बसेर पनि आफ्नै लगन र मिहिनेतले नेपाल धानेकै छौँ। तर यत्ति धेरै राम्रा र प्रतिभाले भरिएको देश एकपछि अर्को बिपत्तिमा छिरेको छिर्यै छ त। पटकपटक असफल साबित हुँदा पनि उही नेतृत्वले राज गर्ने मौका पाएकै छन् त।

एकपल्ट सोच्नुस् त- अहिले यत्तिबिघ्न राम्रा र प्रतिभाशाली नेपाली हुँदाहुँदै किन सकारात्मक शक्तिले हाम्रो देशको नेतृत्व लिन सकेको छैन? सकारात्मक शक्तिलाई केले रोकेको छ यहाँ?

तितो यथार्थ यही हो- प्रतिभाशाली र ‘आफूलाई राम्रो  मान्ने’ नेपालीले नै रोकेका छन् सकारात्मक शक्तिलाई

तपाईलाई नराम्रो लाग्ला, अविश्वास पनि लाग्ला र सोध्नु होला- कसरी यस्तो पवित्र काममा हामी ‘राम्रा नेपाली’ नै बाधक भयौँ र? कारण- हामीभित्र केही नजानिँदो कुसंस्कार हावी छन्।

जस्तो कि …

१. ‘कोठाभित्र रमाउँदै ठिक्क… ‘

हामी कोठाभित्र रमाएका छौँ र समग्र घरलाई बिर्सेका छौँ। देशको एक क्षेत्रमा उत्कृष्ट बनेका छौँ तर उत्कृष्टहरु बीचको सहकार्य गरी प्राप्त हुने ठूलो प्रतिफल देशलाई दिन सकेका छैनौँ। अरु देश बनाउनेलाई मद्दत गर्दा आफूमा कतै दाग, हिलो, फोहर पो लागिहाल्छ कि भनी डराउँछौँ। अनि देश जति गनाए पनि नाक थुन्दै अा-अाफ्ना ‘कोठा’ मै रमाउछौँ।

२. ‘भोलि उठ्दा चट्ट देश बनेको हेर्न पाऊँ’

सिन्को नभाँची अकस्मात् देश र समाज सब ठीक भएको हेर्ने अपेक्षा राख्छौँ हामी। भर्खरै बामे सर्दै गरेको देश बनाउने राम्रा अभियान, सन्जाल, समूहहरु हाम्रो आँखामा त पर्दै पर्दैन। कारण, उनीहरुले गरेका कामका परिणाम त आजको भोलि आउनै सक्दैन। तर, हामीलाई परिणाम आजको भोलि नै चाहिएको हुन्छ।

३. ‘मेरो गोरुको बाह्रै टक्का’

कसैले शुरु गरेको सकारात्मक परिवर्तन हाम्रै तरिकाले चलेको देखेनौँ भने दुई सेकन्डमै त्यसरी त कामै छैन भनी आफैँ पाखा लाग्छौँ। आफूले देखाएकै बाटोमा हिँडेमात्र कुनै ठोस् समाधानमा पुगिन्छ भन्ने अभिमान छ हामीमा। प्रतिभाशाली नेपालीलाई एक ठाँउमा उभिएर राष्ट्रको समस्या समाधान गर्न हाम्रै अहंकारले रोकेको छ।

४. ‘यो नेपाल कहिले ढल्छ र अर्को नेपालमा जान पाउँ’

अझै यही भ्रमको खेती गरी बस्छौँ हामी। ‘कैले कली देवता आएर सखाप पार्छ अनि नयाँ नेपालमा जान पाउँ! कहिले पशुपतिनाथ रक्षा गर्छन् ‘हामी’ सभ्यलाई! कहिले जंगबहादुर निस्किन्छ र सबै दुष्टलाई काट्छ! कहिले… … ‘ यसरी हामी विकल्प बनाउनुभन्दा काल्पनिक विकल्पमा जान कुरिरहेका छौँ।

५. ‘बलेकै आगो ताप्ने हो’

हामी जहिल्यै बलेकै आगो ताप्न तम्सिन्छौँ। कसरी बल्यो, किन बल्यो बालै मतलब छैन। कयौँ बेला त हामी समाजका भ्रष्ट, गैरजिम्मेवार, विवेकहिनले बालेकै आगो ताप्दै रम्छौँ। परिवर्तन गर्नेहरुले बाल्न दु:ख गरेको देख्दा-देख्दै पनि सिन्को भाँच्दैनौँ। उल्टो आगो कहिले बालिसक्ला र ताप्छु भनी कुर्छौँ।

६. ‘पक्कै डलर खेती गरी रा होला’

कसैले केही राम्रो शुरुवात गरेको देख्यौँ भने मनभित्र दर्जनौँ शंकालु सोच आइहाल्छ। शंकै-शंकाले आफूभित्रको आस्था र सहयोगको भावनालाई निमोठिहाल्छ। फ्याट्ट कतै आफ्ना शंकालु दृष्टिकोण राखिदिन्छौँ, त्यही कुरो एक कान दुई कान हुँदै सत्य बन्छ। राम्रा गर्ने खोज्ने थाहै नपाई एक्लिईन्छन्। यसरी नजानी नजानी नै खुट्टा तान्ने संस्कारका प्रवर्धक हुन्छौँ।

७. ‘यहाँ यस्तै हो। केही हुनेवाला छैन’

यो देशमा अब केही हुदैँन भन्दै हामी आफूभित्र पनि डर जगाउँछौँ, गर्नेको पनि हौसला रित्याउँछौँ। जेको पनि सकारात्मक भन्दा बढी नकारात्मक तात्पर्य नै निकाल्ने गर्छौँ। यी मनको पिपले वरिपरि बल्न लागेको ऊर्जालाई पनि निभाउने काम गर्छौँ।

८. ‘भै हाल्छ नि, गरि हाल्छु नि – नो प्रोब्लेम्’

प्राय हामी ‘नाइँ’ भन्नै सक्दैनौँ। फेसबुकमा दश जनाले ‘आाउछुँ’ भन्छौँ तर वास्तवमा आउँछौँ मात्र एक। ‘मुखले आश्वासन, खुट्टाले धोका दिने’ चलन बोकी हिँडेका छौँ। आश्वासन भंग गर्न चानचुने कुरा लाग्ला तर देश बनाउन हिडेँकालाई यसले ‘स्लो पोइजन’को काम गरि रहेको हुन्छ।

९. ‘मैले त्यत्रो गरेँ त्यसलाई। खोई त मलाई पनि गरेको’

मद्दत गर्दा तुरुन्तै ब्याज खोजी हिँडछौँ हामी। राम्रा गर्दै गरेकालाई कतिपय परिस्थितिमा त बीचैमा मद्दत रोकी घर न घाटको बनाइदिन्छौँ। देश बनाउन हिँड्नेको जिन्दगी कहाली लाग्दो, तिरस्कृत, एक्लो, गरुङ्गो छ। यो यथार्थको रत्तिभर पनि सह-अनुभूति (एम्पेथी) राख्दैनौँ।

१०. ‘ओहो! फलानाको छोरा-छोरी त अमेरिकामा… ‘

डिभी पाउनेको फेसबुकमा सयौँ लाइक हान्छौँ। तर बाढीपिडितलाई सहयोग गर्दा त्यसको आधा पनि लाइक दिन्नौँ। इस्टमित्रले देश छाड्दा स्याबासी दिन्छौँ, फर्कँदा चाहिँ ‘बौलाइस् कि क्या हो?’ भन्छौँ। यही मनस्थितिले देशलाई वृद्धाश्रम बनाउँदैछौँ हामी। देशमै केही गर्छु भनी कम्मर कस्नेले कोसँग मिलेर देश बनाउने?

जबसम्म यी कु-संस्कारलाई हामी आफैले त्याग्दैनौँ, देशमा सकारात्मक नेतृत्व शक्ति बन्नको लागि प्रमुख बाधक हामी नै हुन्छौँ। यी कु-संस्कार त्याग्न मैले देखेको सर्वोत्तम उपाय भनेको त्यसको ठाउँमा नेतृत्व बनाउन चाहिने सु-संस्कारहरु हालिदिने हो। यदि तपाईँ जस्तो प्रतिभाशाली नेपालीले यसो गर्न थाल्नु भयो भने मलाई विश्वास छ, सकारात्मक शक्तिले देश हाम्रै कालमा हाँक्ने छन्। मैले समग्रमा बुझेका केही नेतृत्व बनाउन चाहिने संस्कारहरु बुदाँगत हिसाबले तल प्रस्तुत गर्दैछु।

नेतृत्व बनाउन चाहिने केही संस्कारहरु:

१. ‘माथि होइन तल हेर्नु’

देश बनाउन हिँडेकालाई कसरी चिन्ने? राम्ररी हेर्नु- उनको मुख मात्र चलेको छ कि पाइताला पनि? मीठो दर्शन भन्दा पनि के गर्यो, के गरिरा’छ, के गर्न ला’छ? त्यसैमा ध्यान दिनु। बाचा कम, काम बढी गर्नेकै पछाडि लाग्नु, उनैको हौसला बढाउनु।

२. ‘दान होइन, लगानी गर्नु’

देश बनाउन आँट्ने नेतृत्वलाई तपाईँको एक-दुईपल्टको अनुदान होइन, नियमित लगानी चाहिन्छ। सक्नुहुन्छ भने समय नै लगानी गर्नु, सक्नुहुन्न भने श्रोत दिनुस्। देश बनाउने नेतृत्व बनाउनु भनेको आफ्नै बच्चा हुर्काउनु जस्तै हो। ठोस् समयसम्म पाल्नु भयो भने ठोस परिणाम पनि देखाँउछन्, अनि अचम्मको सन्तोष पनि पाइन्छ।

३. ‘नेतृत्व आफैँ बन्दैन, बनाइन्छ- यही मन्त्र जप्नु’

बुद्ध, गान्धी, मण्डेला एक्लै बन्या होइनन्। पेले त्यसै पेले भा होइन। तपाईँजस्तै कसैको आस्था र निरन्तर मद्दतले तिख्खारिदैँ, उच्चालिदैँ यी साधारण मानव असाधारण महामानव बनेका हुन्। अहिले जिरोमा रहेका ती परिवर्तन निर्मातालाई आड दिई राख्नु, समयले हिरो बनाएरै छाड्छ! यसरी यो देशमा फेरि बुद्ध जस्तो नेतृत्व बनाउने जिम्मा लिनु त। नेपाली इतिहास फेरि हाँस्नेछ।

४. ‘बनिबनाउ स्वर्गलाई होइन, भत्केकै स्वर्ग बनाउनु’

नेपाल भत्किएको स्वर्ग हो। कम्मर कसे चाँडै बन्छ। विकसित मुलुकको बनिबनाउ स्वर्गलाई थप सिंगार्न लाग्नु भन्दा अभाव भएको आफ्नो देशलाई समृद्ध बनाउने बाटो रोज्नु। अवसर आफैँ बन्दैन, स्वयंले बनाउने हो। बाहिरै भए पनि नेपाल बनाउनेहरुमै लगानी गर्नु। आफू फर्कने बाटो यसरी नै खोल्नु।

५. ‘टन्न भाकालाई होइन पेट कराइरहेकालाई खुवाउनु’

श्रोत-साधन-शक्तिले टन्न भाकालाई समर्थन गर्ने कु-संस्कार छाडी मद्दतका भोकालाई हात दिनु। उदाहरणको लागि, यसले जित्छ भनेर होइन यसले सही बाटो समाएको छ भनी भोट दिनु। परिवर्तन गर्नेहरु एक्लो हुन्छन्, मद्दतका भोका हुन्छन्। उनीहरुलाई नै खुवाउनु न।

६.’१०० मिटर होइन, ‘रिले’ म्याराथुन दौडिनु’

छिटो पुग्नेलाई होइन, चाँडै नथाक्नेलाई खुरुखुरु मद्दत गर्दै जानु। धेरै जसो बेला हामी यसैमा चुक्छौँ। ‘तु’ पुर्याइदिने बाचा गर्नेको पछि लाग्दा घर न घाटको भइन्छ। दिगो परिवर्तनको लागि बटान पास गर्दै ‘रिले’ म्याराथुन दौडनेमै बाजी लगाउनु।

७.’नेपालमा बोल्ने-लेख्ने-पढ्नेलाई पुग्यो अब गर्नेलाई पालो दिनु’

सर्वत्र थाहै छ कि बोलाइ र गराइमा सन्तुलन नल्याएसम्म कुनै कार्य सफल हुँदैन। यसो गर्नुपर्छ भन्ने, लेख्ने, विश्लेषण गर्नेको अनुपातमा कार्य गरी देखाउने रवैया भएका निकै थोरै छन्। जसरी घरका हरेक खम्बा नबनेसम्म छानो ढलान हाल्न सकिन्न, गर्नेलाई बलियो नबनाएसम्म देश बन्दैन।

८.’मन जगाउनु- जगतै तताउनु’

नेपाल बनाउन तम्सिनेलाई मद्दत गर्न पिएचडी चाहिँदैन। आसेपासे पनि हुनु पर्दैन। अरु त के देशमै हुनु पर्दैन, नागरिक नै हुनु पर्दैन। केवल मन चाहिन्छ मन ‘पाशा’। कुनै पनि नेतृत्वलाई सबभन्दा महत्वपूर्ण मद्दत भनेको त्यही ‘पहिलो समर्थक’ बनिदिनु हो। त्यसपछि त ढिलो चाँडो वरिपरि तात्न थालिहाल्छन्।

९. ‘नेपालमा नपत्याउने खोलाले नै बगाउँछ – यो कुरो ध्यान राख्नु’

चौबिसे राज्य मध्यको एउटा फुच्चे राजाले नै नेपाल आँट्या होइन र? इतिहास पल्टाउनुस्- परापूर्व कालदेखि नेपाल हल्लाउने जति सबै नपत्याउँदा नै थिए होइन र? नसुनेकालाई मद्दत गर्ने चेष्टा गर्नु्। नपत्याउँदालाई नहुर्केसम्म हात डोराइहेर्नु न।

१०.’नेपाल ‘सकारात्मक’ हल्लै हल्लाको देश बनाउनु!’

अरु कुनै नसके पनि यो एउटा त पक्कै सक्नुहुन्छ। उठेदेखि सुतेसम्म राम्रै राम्रा हल्ला फैलाउनु। सानै हिमाल चढेको खबर किन नहोस् वा ट्राफिक स्वयंसेवक बनेकै, उनैको बेस्मारी गफ छाँट्नु। मुखसम्मै आइरहने ती नकारात्मक हल्लालाई भित्रै दबाइराख्ने कसरत दिनहुँ गर्नु।

नेतृत्व लिने मात्र नेतृत्व होइन, नेतृत्व बनाउने पनि नेतृत्व हो। मेरो लेखको सार यही हो।

नेपाललाई अहिले तपाईँजस्तै ‘नेतृत्व निर्माता’ को जरुरी छ। नेतृत्व लिन चाहिने सीप, त्याग र लगन जो कोहिमा नहोला तर नेतृत्व बनाउन त हामी हरेकले सक्छौँ। आफूभित्र नेतृत्व बनाउने संस्कार आजैदेखि विकास गरे यो देशमा सकारात्मक शक्ति, सञ्जाल र नेतृत्व बलियो बन्न केहीबेर लाग्दैन।

अन्तमा मेरो अनुरोध तपाईँजस्तो प्रतिभाशाली नेपालीलाई-

‘आउनुहोस् अब नकुरौँ, नेतृत्व आफैँ बनाउने आँट गरौँ !’

 

उज्वल थापा
अध्यक्ष
विवेकशील नेपाली दल

नेपालमा २१ औँ शताब्दी समय-सापेक्ष नेतृत्व बोकेको शक्ति कस्तो हुनेछ त?

Read in English here

गत केही महिना देखि संचार माध्यममा नेपालमा वैकल्पिक शक्तिको उदयको बारेमा विभिन्न चर्चा-परिचर्चा भयो। नेपाली समाजले भबिष्यको नेपालको नेतृत्व कस्तो हुने अपेक्षा गरेको छ भन्ने विषयलाई खोतालेका ती लेख र बहसले आगामी दिनहरुमा निकै महत्व राख्ने छ। नेपाली समाजलाई यस्ता लेख मार्फत झकझकाउने स्तम्भकारहरु प्रेरणाका पात्र हुनुहुन्छ जसका लागि सबै स्तम्भकारहरुलाई म धन्यवाद दिन चाहन्छु।

नागरिक पत्रिकामा पनि प्रकाशित भएको छ। यहाँ पढ्नुहोला

यसै विषयमा म वैकल्पिक शक्ति र २१ औँ शताब्दी समय-सापेक्ष नेतृत्व बनाउने अाधारहरु बारे अाफ्नो २ वर्ष लामो पृथक् अनुभव यहाँ थप्न चाहन्छु जसले गर्दा यस मुद्दालाई अझ वैधता दिन सक्छ।

दुई वर्ष अघि देशमा अस्थिरता र देशको नेतृत्वमा देखिएको दूरदर्शिताको कमी, इच्छाशक्तिको अभाव, खुट्टा तान्ने प्रवृति र चरम भ्रष्टाचार जस्ता कु-संस्कारबाट नेपालको राजनीति रुमल्लिरहेको बेला एकाएक पहिलो संविधान सभा विघटन भयो। यसले नेपाली राजनीतिमा अन्यौल मात्र नल्याएर आम नागरिकमै देशको नेतृत्व प्रति पहिले कहिलै नदेखिएको चरम वितृष्णा नै पैदा गर्यो। यो संविधानसभा विघटन भए लगत्तै सबैको मनमा एउटै प्रश्नले पोलिरहेको थियो “अब के गर्ने?”

यही मूल प्रश्न लिएर हामी समाजका विभिन्न पेशा र पृष्ठभूमिका नागरिकहरु मिली उत्तर खोज्न लाग्यौँ। लगातार २२ साता र लगभग १,००० जनासँगको प्रत्यक्ष तथा अप्रत्यक्ष अन्तरक्रियापछि समस्या राजनीतिक संस्कार मै रहेछ, त्यसैले सबभन्दा जरुरी यो देशमा राजनीतिक कु-संस्कार बदल्नु पर्छ र यस्तो अामूल परिवर्तन ल्याउन एउटा पृथक् राजनीतिक विकल्प दिएर मात्र सकिन्छ भन्ने निष्कर्ष निक्लियो। परिवर्तन राता रात नहुने र नया संस्कार जरैबाट सुरु गर्नु पर्ने स्थितिले नै एउटा २१औँ शताब्दी समय सापेक्ष सु-संस्कृत राजनीतिक शक्ति “विवेकशील नेपाली” को सुरुवाती जग बस्यो।

यो दुई वर्षमा ‘विवेकशील नेपाली’ बनाउँदा हामी भित्र मूल प्रश्न नै “२१ औँ शताब्दी समय-सापेक्ष नेतृत्व बोकेको शक्ति कस्तो हुने छ त” भन्ने थियो। हामीलाई विश्वास थियो कि यस मूल प्रश्नको उत्तर अात्मसात् गरी अघि बढे मात्र नेपालमा कुनै वैकल्पिक शक्ति दीर्घकालीन रुपमा टिक्न सक्नेछ। अब नेपालमा उदाउने वैकल्पिक शक्तिमा हुनुपर्ने २१ औँ शताब्दी समय सापेक्ष नेतृत्वका हामीले अौँल्याएका कम्तीमा पनि १२ आधारहरु तल उल्लेख गर्दछु।

  1. परिणाम-मुखी:  यो शक्तिले परिणाम-मुखी मूल्य मान्यतालाई अात्मसात् गर्ने माटो र समय-सापेक्ष परिवर्तनशील सिद्धान्त बोकेको हुनेछ । हामीले अौँल्याएका यस माटो र समयसापेक्ष सिद्धान्तले कम्तीमा पनि यी ८ सुं-संस्कारलाई आत्मसात् गरेको हुनेछ – दायित्त्वबोध, उत्तरदायित्व, संमृद्धि, सशक्तीकरण, स्वतन्त्रता, विविधता, सेवक सरकार र समय-सापेक्षता।
  2. मध्यम-मार्गी: यो शक्ति मध्यम मार्ग बाट चल्नेछ जसले एकातिर नागरिकलाई जिम्मेवार र अर्को तिर नेतृत्वलाई जवाफदेही बनाइराख्नेछ। नागरिकलाई संमृद्धिको संवाहक बनाएर सेवक सरकारले लोक कल्याणको निश्चितता दिन तिर धकेल्नेछ।
  3. नरम-पन्थी: नरम पन्थी (चरम पन्थी होइन), संवेदनशील र संयम विचार बोकेका नैतिकवान् नेतृत्वले नै यो देशलाई एकतामा बाँधी राख्न सक्नेछ। यो शक्तिले जहिल्यै फरक काम भन्दा पनि भएकै काम फरक ढंगले गर्ने चेष्टा गर्नेछ।
  4. समतामूलक संमृद्धि: यो शक्तिले नेपालमा समतामूलक (समान) संमृद्धिलाई मूल मुद्दा बनाई राजनीतिलाई लोक कल्याण मुलक अर्थतन्त्रमै केन्द्रित राख्नेछ।
  5. प्रणाली अाधारित: समस्या मान्छेमा होईन संस्कारमा हो। त्यसै भएर प्रभावकारी व्यक्तित्व भन्दा पनि यो शक्ति प्रभावकारी प्रणालीमा अाधारित रहनेछ। यो शक्तिको प्रभावकारी प्रणाली (संरचना) भित्र सरकारको जस्तै ३ निकाय हुन्छ- व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका। उक्त शक्ति भित्रको व्यवस्थापिका चाहिँ वर्तमान राजनीतिक शक्ति जस्तै हुनेछ देश हाँक्न चाहने नेता र कार्यकर्ताले भरिएको। अनि यसको कार्यपालिका चाहिँ शक्ति हाँक्न चाहिने कुशल कर्मचारीतन्त्रले भरिएको हुनेछ। त्यसैगरी यो शक्ति भित्रको न्यायपालिकाले चाहिँ यसको मर्म र मूल्यमान्यतालाई जोगाउन नैतिकता र अनुशासित राख्ने शक्तिशाली दायित्व बोकेको हुनेछ। यी तीनै अंग स्वाधीन हुन्छन् र उनीहरुबीच नियन्त्रण र सन्तुलन कायम राखिएको हुनेछ जसले गर्दा यो शक्ति जवाफदेही, कुशल, सुंसंस्कृत र पारदर्शी रुपमा चल्न सक्नेछ ।
  6. आत्म-निर्भर कार्यकर्ता रहेको: नेपालमा राजनीतिक शक्तिहरु भ्रष्ट हुनुको एउटा मूल कारण तिनका कार्यकर्ताहरु परनिर्भर हुनु हो। यसलाई शुरुमै निमोठ्नु अत्यन्त जरुरी हुनेछ। अबको कुनै पनि वैकल्पिक शक्तिले हरेक सदस्यहरुलाई अनिवार्य रुपमा स्वरोजगार वा अवसर सृजना गर्ने दिशा तिर धकेल्नै पर्नेछ ताकि अरुको शरण वा प्रभावमा पटक पटक यसले अाफ्नो घुँडा टेक्नु नपरोस्।
  7. मूल्यमान्यतामा अडिग: यो शक्तिले अाफुलाई सु-संस्कृत राखी राख्न अाफ्ना हरेक सदस्यहरुलाई मूल्य मान्यतामा बाँच्न झक्झकाईराख्नेछ। दृष्टिकोण, निति वा कार्यशैलीमा सदष्यहरु बिच चरम बिभेद भए पनि शक्ति अघि बढ्छ तर यसले बोकेका मूल्य मान्यता सबै सदष्यले अात्मसात नगरे यो शक्ति विलिन हुदैँ जान्छ।
  8. नेतृत्व विकास गर्ने पद्दति: यो शक्तिले आफ्नो संगठन भित्र यस्तो सबल ‘नेतृत्व विकास प्रणाली’ विकास गरेको हुनेछ जसले लगातार बनाउदै गर्ने नेताहरु भित्र शक्तिमा पुग्ने मात्र होइन, पुगे पछि राष्ट्र र जनहितका काम गरी परिणाम देखाउने खुबीले भरिएको हुनेछ। यसले उत्पन्न गरेको नेताहरु जीत-हारको वातावरण होईन, जीत-जीतको वातावरण बनाउन निपुण हुनेछ्न्।
  9. पारदर्शी र योग्यतामुखी: अबको वैकल्पिक शक्तिले पारदर्शिता र योग्यतामुखी प्रणालीलाई भित्रैबाट अात्मसात् गरेको हुनेछ। चन्दाको श्रोत संकलन देखि चिया खर्चको विवरण सम्ममा  यसले पारदर्शिता लागू गरेको हुनेछ भने नेतृत्व बढुवामा योग्यतामुखी प्रणाली नै संस्थागत गरिएको हुनेछ।
  10. नियमित नेतृत्व फेरबदली: अन्तत: पद र शक्तिले सबैलाई भ्रष्ट बनाउँछ । तसर्थ, संगठनभित्र नेतृत्व नियमित समयान्तरमा परिवर्तन हुने संस्कार एकदम जरुरी छ। वैकल्पिक शक्तिले अाफु भित्र बनाएका प्रणालीले नेतृत्वलाई नियमित रुपमा फेरबदल गर्नेछ। २१औँ शताब्दीमा त्यागको तुलना परिणाम मुखी योगदानबाट गरिनेछ जसको वैज्ञानिक तरिकाले लेखाजोखा गरिएको हुनेछ ।
  11. युवा केन्द्रित: यो शक्तिको श्रोत र प्राथमिकता भनेकै युवा पिंढी हुन्। युवा र युवा ऊर्जा बोकेको नेतृत्वले यसको मान्यता र नयाँ राजनीतिक संस्कारलाई गाउँ गाउँ सम्म लैजाने छन् र नयाँ शक्तिको नेतृत्व आफै लिने छन्।
  12. म्याराथोन दौडाहा: अन्तत यो वैकल्पिक शक्ति १०० मिटर होइन, लामो रिले म्याराथोन दौडने मनसायले खडा भएको हुनेछ। नेपालमा त्यही शक्ति सफल हुनेछ जो कुनै कार्यमा लाग्दा अरुलाई उछिनी पहिलो भएर भन्दा पनि त्यसलाई सफल नतुल्याए सम्म अरु भन्दा पहिले थाक्नेछैन।

के यी २१ औँ शताब्दी समय-सापेक्ष नेतृत्वका आधारहरु हुँदैमा सफल भइन्छ त? सोध्नु होला। यही आधारहरु बोकी गत मंसिरको संविधान सभाको निर्वाचनमा हामीले निर्वाचन अायोगमा दल दर्ता भैनसकेको हुनाले काठमाडौँका चार क्षेत्र १,४,५ र ८ बाट चार स्वतन्त्र युवा उम्मेद्वार खडा गर्यौँ।  चारै जनाले स्वतन्त्र रुपमा कुकुर छाप लिएर कुल ३०६६ मतको सम्मानजनक नतिजा ल्यायौँ। एक महिना मात्रको चुनावी अभियानबाटै दुई क्षेत्रमा अहिलेका चार प्रमुख दल पछि पाँचौँ स्थान अोगट्न सफल भयौँ र यी ठाउंमा एउटा नयाँ शक्ति भएर अाफूलाई सावित गर्यौँ। यसरी अगाडि बढ्दै गर्दा ‘विवेकशील नेपाली’लाई अहिलेसम्म देश भित्र ७३ जिल्ला तथा देश बाहिर २५ मुलकमा भएका झण्डै १ लाख नेपाली नागरिकहरुले अपनाइसकेका छन्।

यिनै २१ औँ शताब्दी समय-सापेक्ष नेतृत्वका अाधारमा चल्दै आएको २ वर्ष लामो हाम्रो क्रियाकलापले हामीलाई विश्वास बढाएको छ कि नेपाल भित्र अब जीत-हारको होइन, जीत-जीतको वातावरण बनाउने शक्तिले नै नेतृत्व पाउनेछ। अन्त्यमा हामी वा कुनै पनि वर्तमान र भविष्यका राजनीतिक शक्तिको अौचित्य यौटै रहनुपर्नेछ – नेपाललाई शान्त र संमृद्ध बनाउने ‘हाम्रै कालमा’। यो हासिल गर्न सबभन्दा बढी तयार र बलियो शक्ति त्यो हुनेछ  जो २१ औँ शताब्दी समय-सापेक्ष नेतृत्वले भरिभराउ हुनेछ।

उज्वल थापा, अध्यक्ष
विवेकशील नेपाली
[email protected]

पीडिएफमा डाउनलोड गर्नुहोला यो लेख

नेपाली क्रिकेट टिमले नेपालका नेतालाई सिकाएका १० नेतृत्वका पाठ

नेपालका ‘नेता’हरुले हाम्रो क्रिकेट टिमबाट नेतृत्वको भरपूर पाठ सिक्नु छ! (Read in English)

नेपाली क्रिकेट टिमले हाम्रा नेतालाई के पाठ सिकाउदैँ छन् त?

  1. कसरी (सहि) ईतिहाँस रच्ने
  2. कसरी देशको महिमा बढाउने
  3. कसरी जीत-जीतको वातावरण तयार गर्ने
  4. कसरी नेपाली को तन-मन जिती राख्ने खेल जित्दा मात्र होईन हार्दा पनि
  5. कसरी मिलेरै लक्ष्य हासिँल गर्ने अाफु-अाफुबिच  जत्ति नि दुष्मनी वा महत्वकाङ्क्षा भए पनि
  6. कसरी न्यून श्रोतमा पनि अपार सफलता हाँसिल गर्ने
  7. कसरी नेतृत्व भनेको बोलेर होईन गरेर देखाउने हो
  8. कसरी योग्यतामुखी बाटो नै सफलता पाउने सर्वत्तम बाटो हो ( उनीहरु योग्यताको अाधारमा रोजिएका थिए न कि नाता, जात-भात, गुट, धन, पहुँच वा भनसुनको अाधारमा )
  9. कसरी युवा पिढि यो देशको भविष्य मात्र नभई, बर्तमान पनि हो
  10. कसरी नेपालीहरुलाई एक बनाए – ‘असम्भव’ नै सम्भव बन्न थाल्छ !

हाम्रो क्रिकेट टिमको उपलब्धि अघि म श्रद्धाले शीर झुँकाउछु!

हेर्नुहोस् कसरी हाम्रो नव-पुस्ताका नेपालीहरु हाम्रो हिरोहरुलाई स्वागत गरे बिमानस्थलमा ! जहिले पनि हामीले यस्तै सहयोग गरि राखौँ जब जब हाम्रो शीर ठाडो बनाई राख्छन् उनीहरुले!

र केहि महिना अघिको