काठमाडौँ -५ को उज्ज्वल भविष्यको लागि उज्वल

के हामीले काठमाडौँलाई संसारकै सुन्दर शहर बनाउन सक्छौ ?   Read in English. Also you can download this in pdf

धेरै अघिदेखि  मैले यो प्रश्नमा चिन्तन गर्दै आएको छु। म यो शहरलाई माया गर्छु, मलाई थाहा छ तपाई पनि गर्नुहुन्छ। जब  म बिगत र वर्तमानका  चुनौती र अवसरहरुको बारेमा चिन्तन गर्छु, म अकल्पनीय वृद्धि र विकासको सम्भावना बोकेको शहर देख्छु| हरेक गल्ली, टोल र चौबाटोमा अनगिन्ति अवसरहरू देख्दछु। अहिले म काठमाडौँ-५ बाट संविधान सभा निर्वाचनमा उम्मेद्वारको रुपमा उठेकोले यस क्षेत्रको लागि मेरो स्प्रष्ट मार्गदिशा संग्रहित गरेको छु | निश्चय नै जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व मिलेर नै बन्छ हाम्रो शान्त सम्वृद्ध काठमाडौँ- ५!
म काठमाडौँ क्षेत्र नम्बर-५ बाट सभासद्को रुपमा निर्वाचित भएँ भने निम्न कामहरुको पहल गर्नेछु। यसरी फेरि काठमाडौँलाई संसारकै सुन्दर शहर बनाउछौँ !

१. संबिधान तु बनाम् स्थानीय शासनमा जाम

२. आफ्नो सडक – आफैं बनाऔं

३. समयमा नत्र सरकारी काम सित्तैमा

४. हरियो टोल – बलियो टोल

५. गाडी भन्दा साईकल चाडो हुने टोल

६.  उज्यालो चोक – झलमल्ल टोल

७. फोहोरबाट मोहोर कमाउने टोल

८. खुल्ला टोल – ढुक्क टोल (काठमाडौँ- ५ बन्द-मुक्त क्षेत्र)

९. भ्रष्टाचार नगर्नेलाई ढोग्ने टोल

१०. चेलीलाई मर्का- हतकडी पक्का

११. अग्रजको बुद्धि – युवालाई शक्ति

१. संबिधान तु बनाम् स्थानीय शासनमा जाम् (जवाफदेही स्थानीय शासन)

कसरी? म अन्य सभासद्हरु सम्म पुगी उनीहरुसँग सहकार्य गरेर ६ महिना भित्र स्थानीय निकायको निर्वाचन गराउने विषयमा संयुक्त आवाजलाई शसक्त बनाउनेछु र यसलाई नयाँ व्यवस्थापिकाको पहिलो प्राथमिकता बनाउनेछु | संसद भित्र गाँठो फुकाउने कुशलता देखाई राजनीतिक दलहरु बिच जीत-जीतको वातावरण बनाएर शिघ्र संबिधान निर्माणको लागि पहल गर्नेछु |

२.  आफ्नो सडक, आफै बनाऔं

कसरी? प्रत्येक टोलमा ‘आफ्नो सडक, आफै बनाऔं’ भन्ने अवधारणालाई प्रोत्साहन दिनेछु | जसको अर्थ तपाई आफैले तपाईको घर अगाडिको सडकको एक भागको स्वामित्व  लिनुहुनेछ । जिम्वेवार स्थानीयवासीलाई देखेमा स्थानीय सडक विभागले पनि आर्थिक सहयोग गर्नेछ अथवा/ परियोजनालाई अगाडी बढउन सहयोग गर्नेछ |

३.  समयमा नत्र सरकारी काम सित्तैमा

कसरी? निजी, सरकारी तथा विकासका साझेदारहरुसँग सहकार्य गरेर सरकारी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेछु र पारदर्शिता र जवाफदेहितालाई प्रवर्धन गर्न नयाँ प्रणाली सुरु गर्नेछु: जस्तै मोबाइल प्रविधि, वेभसाइट, सामाजिक संजालको प्रयोग र मासिक सार्वजनिक सुनुवाई। यी निकायहरुले समयमा नै सेवा सुबिधा नदिएमा, अर्को एक निश्चित समयसम्म राजश्व  नै नलिएर काम  गर्नु पर्ने नीतिको बिकास गरी सो निति कार्यान्वयन गर्न लगाउने छु।

४. हरियो टोल, बलियो टोल

कसरी?  पहिलो- वडा कार्यालयहरुलाई आफ्नो मातहतका क्षेत्रमा खुल्ला स्थलहरु पहिचान गर्न लगाउनेछु। दोस्रो- समुदायको विकासको लागि एउटा सामुदायिक योजना बनाउने छु, जसमा बच्चालाई खेल्न मिल्ने पुर्वाधार, हिड्ने-दौडने ट्रयाक, आराम गर्ने कुर्चीहरु, सार्वजनिक शौचालय समावेश हुनेछन्। तेस्रो- यस स्थलहरुको दिगोपनको लागि स्थानीय व्यवसाय र  स्थानिय समुदाय बिच सहकार्य गर्नेछु।
म नारायणहिटी क्षेत्रलाई एक बिशाल पार्कमा रुपान्तरण गर्न पनि पहल गर्छु। किन हामी काठमाडौँ कै बिच आफ्नै विशाल सुन्दर हरियो पार्क बनाउन सक्दैनौं जहाँ हाम्रा परिवार, बृद्ध र बच्चा आनन्द लिन सक्छन्? अवश्य सक्छौं !

५. गाडी भन्दा साईकल चाडो हुने टोल

कसरी? काठमाडौँ सानो शहर हो जहाँ साइकल नै उपयुक्त सवारी साधन बन्न सक्छ | म काठमाडौँका सबै मुख्य सडकहरुमा साईकल र अपांग मैत्री लेन बनाउने दिशामा प्रतिवद्ध छु | सबै विद्यालय तथा कार्यालयहरूसँग सहकार्य गरेर साइकल यात्रीहरूको लागि सुरक्षित साइकल पार्किङ स्थलको व्यवस्था मिलाउन पहल गर्नेछु | यसले कारको विकल्पको रुपमा स्वास्थ र वातावरण मैत्री साइकललाई प्रयोग गर्न प्रेरित गर्नेछ |

६. उज्यालो चोक, झलमल्ल टोल

कसरी? काठमाडौँमा प्रसस्त घाम लाग्छ | यो त्यस्तो शहर हो जसका घरहरुलाई उर्जा उत्पादकमा परिणत गर्न सकिन्छ। म स्थानीय बासिन्दा तथा व्यवसायहरुलाई तिनीहरुको टोलमा सौर्य जस्ता वैकल्पिक उर्जाका स्रोतहरूको प्रयोग गर्न स्थानीय विज्ञहरू, क्लब र उद्दोगहरुसँग सहकार्य गरि चोक चोकमा  वैकल्पिक उर्जा मैत्री नीतिहरू अगाडी सार्न वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र उर्जा मन्त्रालयसँग सहकार्य गर्नेछु|

७. फोहोरबाट मोहोर कमाउने टोल

कसरी? हाम्रो घरमा उत्पादन हुने धेरै जस्तो फोहोर बायो-डिग्रेडेबल हुन्, जसलाई मल तथा सुरक्षित बाई-प्रोडक्टमा परिणत गर्न सकिन्छ। म निजी क्षेत्रसँग सहकार्य गरेर सिर्जनात्मक जीत-जीतको समाधान निकाल्ने छु जसमार्फत स्थानीयवासी तथा स्थानीय व्यवसायहरूले फोहोरबाट मोहोर कमाउने छन्|

८. खुल्ला टोल, ढुक्क टोल (काठमाडौँ- ५ बन्द-मुक्त क्षेत्र)

कसरी? बन्द हड्तालको सबैभन्दा धेरै मार गरिबलाई नै पर्छ। म काठमाडौँमा बन्द विरुद्धको अभियान शुरु गर्नेहरु मध्ये एक हुँ। म काठमाडौँ-५ लाई बन्दमुक्त क्षेत्र घोषणा गरी लागू गर्न प्रहरी, स्थानीय युवा क्लबहरू र स्वयंसेवक युवाहरुसँग सहकार्य गर्नेछु। म बन्द आह्वानकर्तासँग छलफल गरेर बन्दको शान्तिपूर्ण प्रभावकारी विकल्प खोज्नेछु ताकी उनले बन्दको आह्वान नै गर्नु नपरोस्|

९. भ्रष्टाचार नगर्नेलाई ढोग्ने टोल

कसरी? सूचनाहरू मोबाइल फोन अप्लिकेसन मार्फत सहजै उपलब्ध हुने प्रविधिबाट स्थानीय सरकारी निकाय सु-सज्जित भएमा र नागरिकहरुले शक्तिशाली ‘सुचनाको अधिकार’लाई प्रयोग गरेमा पारदर्शिता अवश्य पनि स्थापित हुन्छ| कुनै पनि सामुदायिक काममा भ्रष्टाचार भएन भने सम्पूर्ण टोलीलाई लाई टोले सम्मान दिने परिपाटी शुरु गर्नेछु|

१०. चेलीलाई मर्का, हतकडी पक्का

कसरी? म काठमाडौँ- ५ का हरेक प्रहरी चौकीमा महिला हिंसा र बेचबिखन का घटनाहरू हेर्न एक समर्पित चुस्त डेस्क राख्न लगाउने छु| म प्रहरी क्षमता अभिवृद्धि र परिचालनलाई अझ सशक्त बनाउने छु ताकि सबै नागरिकले आफ्ना दैनिक जीवनशैली अझै सुरक्षित महशुस गरुन|

११. अग्रजको बुद्धि, मिल्छ युवालाई शक्ति

कसरी? म स्कुल, कलेज र रोटरी तथा लायन्स क्लब जस्ता  युथ क्लबहरुसँग सहकार्य गरेर, विद्यार्थीहरुलाई करीयर सल्लाह र उद्यमी बन्न चाहनेलाई उद्दमशीलता-शिक्षा उपलब्ध गराउने मन्च स्थापना गर्न सहयोग पुर्याउने छु।  महिनाको एक चोटी नियमित रुपमा समाजको अग्रजहरुको अर्ति उपदेश युवाहरुलाई बाँड्ने भेला टोल-टोलमा गराउनेछु।

 निचोड:

काठमाडौँमा प्रशस्त सम्भावनाहरू छन्, तर यसको वर्तमान र भविष्य हाम्रो हातमा छ | आउनुस ! काठमाडौँ- ५ मा स्प्रष्ट कार्यदिशा भएको दूरदर्शी व्यक्तिलाई निर्वाचित गरौँ, अनि स्थानीय तहबाट शासन गरौ | अनि काठमाडौँलाई एउटा यस्तो नमुना बनाऔं जसलाई देशले अबलम्बन गरोस्। हामी सबै यसका लागि जुटौं | आखिर, यो हाम्रो नै टोल हो !

जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व = शान्त, सम्बृद्ध काठमाडौँ – ५      

ujwal                                         

One thought on “काठमाडौँ -५ को उज्ज्वल भविष्यको लागि उज्वल

Leave a Reply