कस्तो राजनीतिक डीएन्एले देशलाई समृद्ध बनाउँछ ?

हात्ती, बाघ, माछा र बाँदरको परीक्षामा सबैलाई अग्लो पीपलको रुख चढ्नु भन्यो भने को पहिलो होला? अवश्य, बाँदर नै पहिलो हुन्छ। नेपालको (उज्ज्वल भविष्यका लागि सही नेतृत्त्व रोज्ने प्रश्न पनि यस्तै किसिमको छ । कस्तो नेतृत्वले हाम्रै जीवनकालमा शान्त र समृद्ध नेपाल बनाउने सपना साकार पार्नसक्छ त?

Read in English

हरेक राजनीतिक शक्तिको जन्म कुनै एक सपना साकार पार्ने उद्देश्यका साथ भएको हुन्छ । त्यसका लागि निश्चित मूल्य मान्यता, प्रणाली र संस्कृतिलाई अङ्गीकार गरिन्छ । त्यसको अभ्यास हुन्छ गरिन्छ र त्यही अभ्यास राजनीतिक शक्तिको डीएनए हो ।

काँग्रेस, एमाले र माओवादीको जन्म क्रमशः जहाँनिया राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था र निरङ्कुश समताहीन शासनको अन्त्यका निमित्त भएको थियो । यी दलहरू तानाशाही ढाली लोकतन्त्र स्थापना गर्ने विशेष लक्ष्यका साथ उदाएका थिए भन्ने कुरो प्रष्ट छ जसमा उनीहरू सफल पनि भए । आज हामी दोबाटोमा छौँ, अल्मलिएका छौँ । यी दलहरूले बुझेको उही पुरानै बाटोमा अगाडि बढ्दा देश  निरङ्कुशता र तानाशाहीतर्फ जान्छ जुन पछाडि फर्कने बाटो हो । अब अघि बढ्ने (उकालो लाग्ने?) बाटो लिन जरूरी छ । अघि बढ्ने बाटो हरेक नागरिकको समतामूलक समृद्धि सुनिश्चित गरी लोकतन्त्र संरक्षण गर्नु हो । त्यो बाटो लिन भिन्न किसिमको डीएनए  भएको नेतृत्त्व नभई हुँदैन ।

समतामूलक समृद्धिका लागि चाहिने “समबृद्धि डीएनए” तानाशाही विरुद्ध लड्न काम लागेको “मुक्ति डीएनए” भन्दा फरक र विकसित हुन्छ । ब्याक्टेरियाको प्रतिरोध गर्ने एन्टीबायोटिकको बनौट र काम गर्ने तरिका ग्यास्ट्रिक निको पार्ने एन्टासिड जस्तो हुँदैन । अहिले नेपालको अस्तित्व सङ्कटमा छ । यदि हाम्रै जीवनकालमा नेपाललाई अघि बढाउन र आर्थिक समृद्धि हासिल गर्न सकिएन भने विगतमा गरिएका अनेक सङ्घर्ष र त्यागबाट प्राप्त स्वतन्त्रताको अर्थ नरहने दिन आउन सक्छ ।

चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भइसक्यो । भारत केही वर्षमा तेस्रो ठूलो अर्थतन्त्र बन्दैछ र यी दुईको बीचमा हामी रहेका छौं । कल्पना गर्नुहोस् – नेपाल आजको अमेरिका र क्यानडाबीच रहेजस्तै हुनेछ । अझ, ४ मध्ये ३ नेपाली ४० वर्षभन्दा कम उमेरका छन् । यी युवा यो देशलाई समृद्ध बनाउन दिनरात काम गर्नसक्छन् । आज मध्यपूर्वदेखि पूर्वी एसिया, युरोप, उत्तर अमेरिका र अस्ट्रेलिया गई यी ३० लाख युवाले आफ्नो शक्ति खर्चनु परिरहेको छ । ती देश बनाउने सीप भएका युवाहरुले नेपालमा काम गर्ने राम्रो माहोल भए नेपाल फर्की त्यो अनुभवलाई यहाँ प्रयोग गर्न सक्नेछन् । त्यसमाथि संसारभर उदाहरणीय र विशिष्ट भनी चिनिएको हाम्रो संस्कृति जोड्ने हो भने नेपाललाई वास्तविकरूपमै ‘समृद्धि, सहिष्णुता र सुन्दरता’को केन्द्रका रूपमा निर्माण गर्नसक्ने लोभलाग्दो स्थितिमा हामी छौं । नेपाललाई विश्वकै केन्द्रविन्दु बनाउन सकिन्छ ।  

समृद्धिको ढोका खोलेर सबै नेपालीको समवृद्धि सुनिश्चित गर्नका लागि २१ औं शताब्दी सापेक्ष नेतृत्त्व चुन्नुको विकल्प छैन । यस्तो नेतृत्वमा कस्तो खाले डीएनए  हुनुपर्छ त ? यस किसिमको रूपान्तरण ल्याउने –

१. गरिबी —> समृद्धि

नेपालका लागि २१ औं शताब्दी सापेक्ष नेतृत्त्वले उद्यम र नवीनतालाई प्रोत्साहन गर्ने समाज बनाउन सक्नुपर्छ । देशमा समवृद्धिको वातावरण बनाउनका लागि हाम्रो भूराजनीतिक अवस्थाको भरपूर सदुपयोगमा जोड दिनुपर्छ । हरेक आम नेपालीको प्रथम चाहना आफू आत्मनिर्भर भई आफ्नो परिवारको भविष्य उज्ज्वल बनाउनु हो । नेपाली युवा वर्षौंसम्म अाफ्नो परिवारको स्नेह र साथ छाडेर विदेशी भूमिमा दुःख गर्न चाहँदैनन् । यस शताब्दीमा देशको नेतृत्त्व गर्न चाहने राजनीतिक शक्तिले अब पुरानो विचारधारालाई रूपान्तरण नगरी हुँदैन । समकालीन मुद्दाप्रति हामीले व्यक्त गर्ने धारणा हरेक नेपालीले मर्यादित, समृद्ध र शान्तिपूर्ण जीवन निर्वाह गर्न पाऊन् भन्ने लक्ष्यका साथ हुनुपर्छ । अहिलेको राजनीतिक नेतृत्त्वले नेपाललाई समृद्ध बनाउने उपाय खोज्नुको साँटो देश किन गरीब छ भन्ने विमर्शमा बढी समय खर्चिरहेको छ ।

२. नातावाद —> दक्षता

डोर बहादुर विष्टले ‘भाग्यवाद र विकास’मा औँल्याएझैँ चाकडीवादी र भाग्यवादी सोच पुरानो पुस्तामा एक हदसम्म यथावत नै छ। तर नयाँ पुस्ता (८२% भन्दा बढी नेपाली ४५ वर्षभन्दा कम उमेरका छन्) नातावादको चक्रव्यूह तोड्न उत्सुक छ । ३० वर्षअघि मात्रै ४ मध्ये १ नेपालीमात्र साक्षर थिए भने हाल ४ मा ३ नेपाली साक्षर छन् । अहिले लगभग हरेक नेपाली दुनियाँसङ्ग जोडिएको छ (मोबाइल प्रयोगकर्ता जनसङ्ख्याको झन्डै १००%)। विकट गाउँभेगका बासिन्दाले पनि सात समुद्र पारीका ग्राहकसङ्ग व्यापार गर्न थालिसके । खाँचो केवल यस्ता कार्यलाई टेवा दिने नेतृत्वको छ । २१ औं शताब्दीको विश्व संस्कृति र दक्षतालाई आधार मान्दै विविधतालाई अङ्गाल्नु हो । हाम्रो एकता, निष्ठा र समानता विपरीत उभिएको भाग्यवादी प्रणालीलाई जरैदेखि उखेलेर फ्याँक्न जरूरी छ । यसका लागि नातावादको साटो दक्षतालाई प्राथमिकता दिने र विविधताको सौन्दर्य बुझ्ने विवेकशील नागरिकहरूको सक्रिय जमात चाहिन्छ ।

३. दोहनकारी संरचना  —>  समावेशी संरचना

नेपालमा आम नागरिकको लागि सेवक शासन प्रणाली चाहिएको छ । नेपाल अहिलेसम्म दोहनकारी राजनीतिक र आर्थिक संरचनाबाट शासित भएको छ । यी संरचनाले सीमित वर्गको फाइदाको लागि आफ्नो नागरिकहरूबाट आय, धन र शक्ति लिने गरेको छ । नेपाललाई समावेशी संरचना किन आवश्यक छ भन्ने प्रश्नको जवाफमा Why Nations Fail पुस्तकको यो अंश सान्दर्भिक छ ।

“दोहनकारी आर्थिक संस्थाहरू धेरैबाट स्रोतहरू खिच्नको लागि बनाइएका हुन्छन् र तिनीहरूले सम्पत्ति अधिकारको रक्षा वा आर्थिक गतिविधि लागि आवश्यक पर्ने प्रोत्साहन प्रदान गर्न असफल हुन्छन् । तर समावेशी आर्थिक संस्थाहरूले सम्पतिको अधिकार लागु गर्छन्, लगानीको लागि सबैको लागि उही तहको मैदान तयार पार्छन् र नयाँ प्रविधि तथा सीपहरूमा लगानी गर्न प्रोत्साहन गर्छन् । र आर्थिक उन्नतिका लागि शोषक संस्थाहरूभन्दा समावेशी संस्थाहरू बढी अनुकूल हुन्छन् । समावेशी आर्थिक संस्थाहरू समावेशी राजनीतिक संस्थाहरूबाट समर्थित हुन्छन् र तिनीहरूलाई पनि समर्थन गर्छन् । समावेशी राजनीतिक संस्थाले बहुलवादी तरिकाले व्यापक राजनीतिक शक्ति वितरण गर्नुका साथै कानून र व्यवस्थाको स्थापनाको लागि  एक हदसम्मको राजनीतिक केन्द्रीकरण हासिल गर्छन् जुन सुरक्षित सम्पतिको अधिकार सुनिश्चितताको लागि र समावेशी बजार अर्थव्यवस्थाको लागि आवश्यक हुन्छ ।”

सही डीएनए भएको नेतृत्वले नागरिकसङ्ग सहकार्य गरी समतामूलक समृद्धि सुनिश्चित गर्ने समावेशी आर्थिक तथा राजनीतिक संरचना निर्माण गर्नेछ ।

४. भाग्यवाद —> युवा गतिशीलता

असफल पात्रहरूलाई बारम्बार शासन गर्न दिई फरक नतिजाको आशा गर्नु मूर्ख्याइँ हो । तर यो नेपालमा रीत नै बनिसकेको छ । यसको कारण हाम्रो भाग्यवादी सांस्कृतिक विश्वास हो जसले गर्दा हामी हाम्रो भाग्य यस्तै नै रहेछ र जबसम्म अरू कुनै  शक्तिशाली पात्रले हामीलाई हालको बेथितिबाट बचाउँदैन हाम्रो नियति नै यही हो भन्ने ठान्छौं । अपेक्षित काम गर्न नसकेका शासकहरूमाथि हाम्रो भाग्यवादी निर्भरताले गर्दा देश कमजोर, हतोत्साहित र नैतिकताहीन बनेको छ। नयाँ पुस्ता यो चक्रव्यूह तोड्न अग्रसर छ । ४५ वर्ष मुनिका ८२% नेपालीले आफ्नो भाग्य आफै बनाउन नयाँ तरिका अपनाइरहेका छन्। आज पनि धेरै समृद्ध राष्ट्रहरूले हाम्रा युवा, हाम्रा स्थान, हाम्रा प्रतिभा र काम गर्ने शैली खोज्छन् । त्यसैले हाम्रा प्रतिभाशाली युवाहरू विभिन्न विकशित राष्ट्रहरूमा फैलिएर काम गरिरहेका छन्।

सही डीएनए भएको नेतृत्व चुनेमा मात्र त्यसले गतिशील युवालाई साथ लिएर नेपाललाई समतामूलक समृद्धितर्फ नेतृत्व गर्नसक्छ ।

पुराना शक्तिहरूको भन्दा पूरै फरक डीएनए  भएको समूहको उत्कृष्ट उदाहरणका रूपमा विवेकशील नेपालीले शुरु गरेको सुसंस्कृत राजनीतिको अभियानलाई लिन सकिन्छ ।  माथि प्रष्ट्याइएको रूपान्तरण सार्थक गर्दै २१ औं शताब्दीमा नेपाललाई समृद्ध बनाई गणतन्त्र संस्थागत गर्नको लागि यसको निर्माण भएको हो। यसका प्रणाली, मूल्यमान्यता र संस्कारको रूपरेखा नेपालको लागि नैतिक, सेवक नेतृत्व निर्माण गर्नु र २० औं शताब्दीका विचारधारालाई पछाडि छोड्दै २१ औं शताब्दीको मान्यता अपनाउन बनाइएका छन् ।

आखिर के छ त यो डीएनएमा ?

पहिलो, यसले निष्ठा, उत्कृष्टता, साहस, विनम्रता, समानुभूति र पारदर्शिता जस्ता दृढ नैतिक मानवीय मान्यतालाई आत्मसात गरिरहेकका विवेकशील नागरिकहरूका अर्थपूर्ण जमातलाई गोलबद्ध गर्ने चेष्टा गरेको छ। दोस्रो, यसले हाम्रो समाजलाई उद्यमशील, नवीनता उन्मुख र आत्मनिर्भर बनाउन कठोर परिश्रम गर्छ । समाजमा त्यो रूपान्तरण आएपछि दुई बलिया छिमेकीसँग प्रभावकारी ढङ्गले सम्बन्ध विस्तार गर्न र राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन सकिनेछ। तेस्रो, यो सेवक सरकार निर्माणमा केन्द्रित रहनेछ जसले नेपालीहरूलाई आफूले चाहेको क्षेत्रमा निर्धक्कसँग काम गर्न सुरक्षित वातावरण ग्यारेन्टी गर्नेछ । र अन्त्यमा, यस हरफमा उल्लेख गरिएका तीन सुधारलाई निरन्तर रूपमा नागरिक, सामाजिक र सरकारी स्तरमा कार्यान्वयन गर्दै नेपाल राज्यलाई “नागरिकको साथी” बनाइनेछ । साथै यसले सबै नेपालीलाई आगामी केही दशकमा समतामूलक समृद्धि दिलाउनेछ ।

२१ औं शताब्दी सापेक्ष नेतृत्व भनेकै पूर्व तयारी गर्ने नेतृत्व हो । नेपाल निकट भविष्यमा विश्वका केन्द्रबिन्दूहरू मध्ये एक मा पर्नेछ (संसारकै समृद्ध चीन-भारत बीच) भन्ने कुरामा शङ्का नरहोस् । हामीले ध्यान दिनुपर्ने कुरा भनेको जस्तो तयारी हुन्छ त्यस्तै नतिजा प्राप्त हुन्छ । तसर्थ नेपालको उज्ज्वल भविष्य सुनिश्चित गर्नका लागि २१ औं शताब्दी सापेक्ष नेतृत्त्व निर्माण गरौं । नेपालको भविष्य अब तपाईंको हातमा छ । परिवर्तन हाम्रै जीवनकालमा सम्भव छ। तपाईं कसलाई आफ्नो भविष्य सुम्पन चाहनुहुन्छ ?

Read in English