विवेकशीळ नेपालीको अध्यक्ष पछिको मेरो भावी भूमिका

नमस्ते विवेकशील नेपालीका सदस्य तथा शुभचिन्तक सहयात्रीहरु,
समय आएको छ, आफूले लिदैँ आएको विवेकशील नेपाली दलको अध्यक्षको भूमिका आगामी राष्ट्रिय सम्मेलनपछि नयाँ नेतृत्वलाई हस्तान्तरण गर्नको लागि। विगत ८ वर्ष अगाडि शुरु भएको विवेकशील नेपाली अभियान र दललाई नेतृत्व गर्दै आएको सन्दर्भमा आफूले लिएको पद र यसले बोकेको भूमिकालाई अझ थप उर्जा र सिर्जनशीलता बोकेका नेतृत्वमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता मैले आभास गरेकोछु।  विभिन्न उतारचढावका बाबजुद अझ सक्षम र अझ उत्कृष्ट नेतृत्वले दल र राष्ट्रलाई विवेकशील नेतृत्व प्रदान गर्न सक्छ भन्ने कुरामा म निर्धक्कै छु। यसो फर्केर हेर्दा हामी माझ खारिइरहेका उर्जावान र उत्कृष्ट नेतृत्वहरुले दशकौँसम्म नेपाली समाज रुपान्तरणमा महत्वपूर्ण भूमिकाहरु खेली नै रहनेछन् भन्ने कुरामा पनि म विश्वस्त नै छु।

यो दस्तावेजको सम्झिन मिल्ने छोटो लिंक: bitly.com/ujwaltransition

लोकतन्त्रमा पदीय भूमिका जसलाई आम रुपमा शक्ति भनिने गरिन्छ, त्यो हस्तान्तरण गर्नु पनि एक सुन्दर पक्ष हो जुन हामी सबैले समय सापेक्ष रुपमा गर्नु नै पर्छ। अहिलेसम्म भएका अनेकौँ उपलब्धीहरु र भूलहरु गर्दै हामी यहाँ आइपुगेका छौँ। नेतृत्वको नियमित फेरबदलले हामीले आत्मसात् गरेको मूल्य मान्यता, लोकतन्त्र र राष्ट्र रुपान्तरणको हाम्रो लक्ष्यलाई नै टेवा दिन्छ भन्ने विश्वास पनि बोकेको छु। मैले आशा गरेको छु अब आउँदो नेतृत्वहरुले विवेकशील नेपाली दल र त्यसका अभियानहरुलाई अझ बलियो बनाउँदै लानुहुनेछ। अबका जुझारु विवेकशील नेतृत्व र सदस्यहरुले बढी भन्दा बढी समय दिई दललाई अघि बढाउनु पर्नेछ भने केहि समय विश्राम लिन चाहने नेतृत्वहरुले पनि आफ्नो क्षमता विकासमा लागीपरि भविष्यमा फेरि राष्ट्र र राष्ट्र बनाउन उन्मुख दललाई योगदान अवश्य गर्नु नै हुनेछ। 

राजनीतिक सुसंस्कारको यो हाम्रो यात्रा एउटा “रिले म्याराथन” नै हो । यसलाई आत्मसात् गर्दै हामी अघि बढ्नु जरुरी छ। विवेकशील नागरिक बनाउने हाम्रो गतिशील यात्रा जटिल छ, त्यसै माथि यो परनिर्भर समाजलाई उद्यमशील बनाउँदै, सरकारलाई सेवक बनाउँदै, एक दिगो (उत्पादनमुखी) अर्थतन्त्र बनाउने हितकारी राज्यको परिकल्पनालाई साकार गर्न पर्याप्त सिर्जनशील, नवीन समाधान खोज्न सक्ने उर्जाशील, उदार, लोकतन्त्रवादी नेतृत्वहरुको निरन्तर खाँचो परि नै राख्छ।

यस यात्रामा अब दलको नेतृत्व लिन चाहनु हुने सबै नेतृत्वलाई मैले आफूले अनुभूति गरेका यी केही तिता-मिठा भोगाइ-सिकाइहरु प्रतिपनि ध्यान दिनु हुन अनुरोध गर्न चाहेँ! 

तपाईंको नेतृत्व:
१) गाह्रो परिस्थितिमा पनि दलको मर्मलाई आफैले काँधमा बोकी हिँड्ने आँट राखोस्।

२) सदस्य तथा शुभचिन्तकको चुस्त व्यस्थापन प्रणाली बनाउन र त्यसका लागि चाहिने अपार स्रोत संकलनमा अब्बल बनोस्।

३) राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय परिस्थितिप्रति पनि सजग र प्रस्ट भिजन बोक्ने दक्षता देखियोस्।

४) उदार लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहि बृहत् लोकतान्त्रिक सञ्जाल बनाउने खुबी मिलोस्।

५) संगठन भित्र बिचार र आर्थिक पारदर्शीता, बिनम्रता, समानुभूति भएको उत्कृष्ट वातावरण बनाई रहोस्।

६) दललाई स्वागतिलो बनाउन र सदस्यलाई जिम्मेवार राखी राख्न सक्ने सिर्जनशीलता जागोस्।

७) विविधताबीच एकता बनाउँदै, अतिवादी र अदुरदर्शी “हुल” सोचबाट जोगाउने मध्यममार्गी साहस रहोस्।

८) जस भन्दा अपजस बढी लिनु पर्ने वातावरणलाई पनि थेग्ने स्टामिना (stamina) बनोस्।

९) कार्य सम्पादनबाटै अरुहरुलाई क्रियाशील र जवाफदेही राखिराख्ने बानी बसोस्।

१०) सदस्य/शुभचिन्‌तकमा रहेका विषहरु खाने आँटका साथ, उनीहरुबाट निस्कन सक्ने अमृतलाई मन्थन गर्ने धैर्य मिलोस्।

दल र यसले बोकेका अभियानहरुमा साथ दिनु हुने तपाईं सबैजना र असंख्य शुभचिन्तकहरु प्रति हार्दिक आभारी छु । चाहे त्यो भूकम्पमा होस् वा माईतीघरमा होस्, महिला हिंसा विरुद्धको अभियानमा होस् वा निर्वाचनमा विकल्प दिने प्रयासमा होस्, कुकुर छाप लिँदा होस् वा ईष्टकोट, बाघ होस्‌ वा तराजु होस् सबैमा साथ दिंदै अघि बढ्ने “हँसिलो मुहार”का दृढ नेतृत्वहरुका प्रत्यक्ष/अप्रत्यक्ष योगदान प्रति फेरि पनि मुरीमुरी धन्यवाद दिन चाहन्छु। यस यात्राका द्वौरान पदमा रहँदा आफूले गरेका अनेकौँ भूलहरु र आफ्ना कमजोरीहरुका लागि पनि म क्षमा माग्न चाहन्छु।

आगामी दिनमा मेरो योगदान देशमा व्याप्त लूटतन्त्र बिरुद्ध सबै उदार लोकतन्त्रवादीहरुलाई विवेकशीलले देखाईरहेको “मध्यममार्गी” दिशामा ऐकबद्ध रुपमा खडा गर्नमा पनि रहनेछ।
चरमपन्थी चिराले बिभाजित हुदैँ गईरहेको नेपाली समाजलाई एककृत राखी राख्न

१) नरमपन्थी नेतृत्वहरुको बिकास,
२) विवेकशील अभियानहरुको निरन्तरता,
३) गतिशील मध्यममार्गी बिचारको पहिचान र पर्वधन अनि
४) यी सबैलाई दिगो राखी राख्न सक्ने सकारात्मक आर्थिक सन्जालको निर्माण अब एकदमै आवश्यक रहन्छ।

र यी चारैलाई हामीले “प्यारलली” निर्माण गर्न सके मात्र देशलाई चाहिने सकारात्मक शक्तिहरुको बिजय हुन सक्छ भन्ने मेरो विश्वास अहिले पनि कायमै छ र यसको पर्वर्धन गर्न मेरो दायित्व पनि रहन्छ। यसरी अब नेपाललाई विश्वले नै आदार गर्ने एक “गुरु राष्ट्र” बनाउन सकिन्छ भन्ने बारेमा पनि थप अध्ययन, अनुसन्धान र पर्वर्धन गर्न मेरो भूमिका रहन्छ। अबका दिनमा हरेक नेपालीलाई  हाम्रो नेपाल विश्वको केन्द्रविन्दुमा पर्दैछ भन्ने कुरा पनि बुझाउन जरुरी ठानेको छौँ।

पहिलो: “आर्थिक” केन्द्रविन्दु- यानी कि अर्थतन्त्रमा विश्वकै केन्द्रविन्दु बन्दै गरेको चीन र भारतको पनि बीचमा हामी छौँ। यसको सदुपयोग कसरी गर्ने ?

दोस्रो: “वातावरणीय केन्द्रविन्दु। हामीले यो पनि सम्झाउनु जरुरी छ  विश्वको पर्यावरणीय परिवर्तनमा (Climate change) पनि हामी विश्वको केन्द्रविन्दु बन्न पुगेका छौँ। कसरी भन्दा, नेपालको हिमालयज १ अरब भन्दा बढिका लागि पानीको श्रोत हो र जसलाई “तेस्रो पोल” (Third pole after North and South pole) यसलाई जोगाउन मानविय रुपमा सबैभन्दा महत्वपूर्ण छ। त्यसैले नेपालमा हामी नेपालीले “वातावरण-पहिलो” नीति अपनाउन जरुरी भएको ठानेका छौँ। 

तेस्रो: अध्यात्मको केन्द्रविन्दु। हजारौँ बर्षसम्म हिन्दु र बौद्ध धर्मको जन्म थलो रहेको विभिन्न अरु धर्म-सु-संस्कारहरुको पनि कर्मथलो रहेको नेपालले अब विश्वलाई चाहिने नरम सहिष्णु, आध्यत्मिकताको केन्द्रविन्दु बनाउन सक्छौँ कि ?

लूटतन्त्रको आगमान र अधिनायकवादको प्रयासले ल्याउन सक्ने गम्भीर समस्याहरुमा हामी सबै एक ढिक्का भई उभिने नै छौँ भन्ने आस्थाका साथ वडा, गाउँ-सहर, जिल्ला, प्रदेश र संघमा साथ दिनु हुने सबै विवेकशील परिवर्तकहरुलाई मेरो सलाम !

तपाईंको जय होस् !
नेपालको जय होस्‌ !

नमस्ते,


उज्वल थापा
अध्यक्ष,
विवेकशील नेपाली
ईमेल: ujwal@leadnepal.com

यो दस्तावेजको सम्झिन मिल्ने छोटो लिंक: bitly.com/ujwaltransition

जुलाई २०१९ मा स्टान्भोर्ड विश्वविधालयमा फेलोसिप गर्दा मैले केहि अनुभूति बाँडेको थिएँ विश्वभरिबाट आएका लोकतन्त्रीक नेतृत्व र अभियानकर्ता र विश्वका अग्रणी अनुसन्धानकारहरु।
यसो ६ मिनेटको सानो भिडियो हेर्नुहोला है (अंग्रजीमा) 🙂