देश बनाउने सकारात्मक शक्तिलाई कसले रोकेको छ?

Read in English

हामीमा प्रतिभाशाली नेपालीको कमी छैन। देशलाई माया गर्ने नेपाली पनि हामी उत्तिकै छौँ। हरेक दिन कुनै न कुनै अब्बल नेपालीले राष्ट्रको शिर ठाडो राखेको खबर सुनेकै छौँ। हामी नेपाली बाहिर गएर पनि मलेशियादेखि अरब देशहरु धानेकै छौँ भने भित्रै बसेर पनि आफ्नै लगन र मिहिनेतले नेपाल धानेकै छौँ। तर यत्ति धेरै राम्रा र प्रतिभाले भरिएको देश एकपछि अर्को बिपत्तिमा छिरेको छिर्यै छ त। पटकपटक असफल साबित हुँदा पनि उही नेतृत्वले राज गर्ने मौका पाएकै छन् त।

एकपल्ट सोच्नुस् त- अहिले यत्तिबिघ्न राम्रा र प्रतिभाशाली नेपाली हुँदाहुँदै किन सकारात्मक शक्तिले हाम्रो देशको नेतृत्व लिन सकेको छैन? सकारात्मक शक्तिलाई केले रोकेको छ यहाँ?

तितो यथार्थ यही हो- प्रतिभाशाली र ‘आफूलाई राम्रो  मान्ने’ नेपालीले नै रोकेका छन् कुनै पनि सकारात्मक शक्तिलाई

तपाईलाई नराम्रो लाग्ला, अविश्वास पनि लाग्ला र सोध्नु होला- कसरी यस्तो पवित्र काममा हामी ‘राम्रा नेपाली’ नै बाधक भयौँ र? कारण- हामीभित्र केही नजानिँदो कुसंस्कार हावी छन्।

जस्तो कि …

१. ‘कोठाभित्र रमाउँदै ठिक्क… ‘

हामी कोठाभित्र रमाएका छौँ र समग्र घरलाई बिर्सेका छौँ। देशको एक क्षेत्रमा उत्कृष्ट बनेका छौँ तर उत्कृष्टहरु बीचको सहकार्य गरी प्राप्त हुने ठूलो प्रतिफल देशलाई दिन सकेका छैनौँ। अरु देश बनाउनेलाई मद्दत गर्दा आफूमा कतै दाग, हिलो, फोहर पो लागिहाल्छ कि भनी डराउँछौँ। अनि देश जति गनाए पनि नाक थुन्दै अा-अाफ्ना ‘कोठा’ मै रमाउछौँ।

२. ‘भोलि उठ्दा चट्ट देश बनेको हेर्न पाऊँ’

सिन्को नभाँची अकस्मात् देश र समाज सब ठीक भएको हेर्ने अपेक्षा राख्छौँ हामी। भर्खरै बामे सर्दै गरेको देश बनाउने राम्रा अभियान, सन्जाल, समूहहरु हाम्रो आँखामा त पर्दै पर्दैन। कारण, उनीहरुले गरेका कामका परिणाम त आजको भोलि आउनै सक्दैन। तर, हामीलाई परिणाम आजको भोलि नै चाहिएको हुन्छ।

३. ‘मेरो गोरुको बाह्रै टक्का’

कसैले शुरु गरेको सकारात्मक परिवर्तन हाम्रै तरिकाले चलेको देखेनौँ भने दुई सेकन्डमै त्यसरी त कामै छैन भनी आफैँ पाखा लाग्छौँ। आफूले देखाएकै बाटोमा हिँडेमात्र कुनै ठोस् समाधानमा पुगिन्छ भन्ने अभिमान छ हामीमा। प्रतिभाशाली नेपालीलाई एक ठाँउमा उभिएर राष्ट्रको समस्या समाधान गर्न हाम्रै अहंकारले रोकेको छ।

४. ‘यो नेपाल कहिले ढल्छ र अर्को नेपालमा जान पाउँ’

अझै यही भ्रमको खेती गरी बस्छौँ हामी। ‘कैले कली देवता आएर सखाप पार्छ अनि नयाँ नेपालमा जान पाउँ! कहिले पशुपतिनाथ रक्षा गर्छन् ‘हामी’ सभ्यलाई! कहिले जंगबहादुर निस्किन्छ र सबै दुष्टलाई काट्छ! कहिले… … ‘ यसरी हामी विकल्प बनाउनुभन्दा काल्पनिक विकल्पमा जान कुरिरहेका छौँ।

५. ‘बलेकै आगो ताप्ने हो’

हामी जहिल्यै बलेकै आगो ताप्न तम्सिन्छौँ। कसरी बल्यो, किन बल्यो बालै मतलब छैन। कयौँ बेला त हामी समाजका भ्रष्ट, गैरजिम्मेवार, विवेकहिनले बालेकै आगो ताप्दै रम्छौँ। परिवर्तन गर्नेहरुले बाल्न दु:ख गरेको देख्दा-देख्दै पनि सिन्को भाँच्दैनौँ। उल्टो आगो कहिले बालिसक्ला र ताप्छु भनी कुर्छौँ।

६. ‘पक्कै डलर खेती गरी रा होला’

कसैले केही राम्रो शुरुवात गरेको देख्यौँ भने मनभित्र दर्जनौँ शंकालु सोच आइहाल्छ। शंकै-शंकाले आफूभित्रको आस्था र सहयोगको भावनालाई निमोठिहाल्छ। फ्याट्ट कतै आफ्ना शंकालु दृष्टिकोण राखिदिन्छौँ, त्यही कुरो एक कान दुई कान हुँदै सत्य बन्छ। राम्रा गर्ने खोज्ने थाहै नपाई एक्लिईन्छन्। यसरी नजानी नजानी नै खुट्टा तान्ने संस्कारका प्रवर्धक हुन्छौँ।

७. ‘यहाँ यस्तै हो। केही हुनेवाला छैन’

यो देशमा अब केही हुदैँन भन्दै हामी आफूभित्र पनि डर जगाउँछौँ, गर्नेको पनि हौसला रित्याउँछौँ। जेको पनि सकारात्मक भन्दा बढी नकारात्मक तात्पर्य नै निकाल्ने गर्छौँ। यी मनको पिपले वरिपरि बल्न लागेको ऊर्जालाई पनि निभाउने काम गर्छौँ।

८. ‘भै हाल्छ नि, गरि हाल्छु नि – नो प्रोब्लेम्’

प्राय हामी ‘नाइँ’ भन्नै सक्दैनौँ। फेसबुकमा दश जनाले ‘आाउछुँ’ भन्छौँ तर वास्तवमा आउँछौँ मात्र एक। ‘मुखले आश्वासन, खुट्टाले धोका दिने’ चलन बोकी हिँडेका छौँ। आश्वासन भंग गर्न चानचुने कुरा लाग्ला तर देश बनाउन हिडेँकालाई यसले ‘स्लो पोइजन’को काम गरि रहेको हुन्छ।

९. ‘मैले त्यत्रो गरेँ त्यसलाई। खोई त मलाई पनि गरेको’

मद्दत गर्दा तुरुन्तै ब्याज खोजी हिँडछौँ हामी। राम्रा गर्दै गरेकालाई कतिपय परिस्थितिमा त बीचैमा मद्दत रोकी घर न घाटको बनाइदिन्छौँ। देश बनाउन हिँड्नेको जिन्दगी कहाली लाग्दो, तिरस्कृत, एक्लो, गरुङ्गो छ। यो यथार्थको रत्तिभर पनि सह-अनुभूति (एम्पेथी) राख्दैनौँ।

१०. ‘ओहो! फलानाको छोरा-छोरी त अमेरिका, युके, अस्ट्रेलियामा… ‘

डिभी पाउनेको फेसबुकमा सयौँ लाइक हान्छौँ। तर बाढीपिडितलाई सहयोग गर्दा त्यसको आधा पनि लाइक दिन्नौँ। इस्टमित्रले देश छाड्दा स्याबासी दिन्छौँ, फर्कँदा चाहिँ ‘बौलाइस् कि क्या हो?’ भन्छौँ। यही मनस्थितिले देशलाई वृद्धाश्रम बनाउँदैछौँ हामी। देशमै केही गर्छु भनी कम्मर कस्नेले कोसँग मिलेर देश बनाउने?

जबसम्म यी कु-संस्कारलाई हामी आफैले त्याग्दैनौँ, देशमा सकारात्मक नेतृत्व शक्ति बन्नको लागि प्रमुख बाधक हामी नै हुन्छौँ। यी कु-संस्कार त्याग्न मैले देखेको सर्वोत्तम उपाय भनेको त्यसको ठाउँमा नेतृत्व बनाउन चाहिने सु-संस्कारहरु हालिदिने हो। यदि तपाईँ जस्तो प्रतिभाशाली नेपालीले यसो गर्न थाल्नु भयो भने मलाई विश्वास छ, सकारात्मक शक्तिले देश हाम्रै कालमा हाँक्ने छन्। मैले समग्रमा बुझेका केही नेतृत्व बनाउन चाहिने संस्कारहरु बुदाँगत हिसाबले तल प्रस्तुत गर्दैछु।

नेतृत्व बनाउन चाहिने केही संस्कारहरु:

१. ‘माथि होइन तल हेर्नु’

देश बनाउन हिँडेकालाई कसरी चिन्ने? राम्ररी हेर्नु- उनको मुख मात्र चलेको छ कि पाइताला पनि? मीठो दर्शन भन्दा पनि के गर्यो, के गरिरा’छ, के गर्न ला’छ? त्यसैमा ध्यान दिनु। बाचा कम, काम बढी गर्नेकै पछाडि लाग्नु, उनैको हौसला बढाउनु।

२. ‘दान होइन, लगानी गर्नु’

देश बनाउन आँट्ने नेतृत्वलाई तपाईँको एक-दुईपल्टको अनुदान होइन, नियमित लगानी चाहिन्छ। सक्नुहुन्छ भने समय नै लगानी गर्नु, सक्नुहुन्न भने श्रोत दिनुस्। देश बनाउने नेतृत्व बनाउनु भनेको आफ्नै बच्चा हुर्काउनु जस्तै हो। ठोस् समयसम्म पाल्नु भयो भने ठोस परिणाम पनि देखाँउछन्, अनि अचम्मको सन्तोष पनि पाइन्छ।

३. ‘नेतृत्व आफैँ बन्दैन, मिहिनेतले बनाइन्छ- यही मन्त्र जप्नु’

बुद्ध, गान्धी, मण्डेला एक्लै बन्या होइनन्। पेले त्यसै पेले भा होइन। तपाईँजस्तै कसैको आस्था र निरन्तर मद्दतले तिख्खारिदैँ, उच्चालिदैँ यी साधारण मानव असाधारण महामानव बनेका हुन्। अहिले जिरोमा रहेका ती परिवर्तन निर्मातालाई आड दिई राख्नु, समयले हिरो बनाएरै छाड्छ! यसरी यो देशमा फेरि बुद्ध जस्तो नेतृत्व बनाउने जिम्मा लिनु त। नेपाली इतिहास फेरि हाँस्नेछ।

४. ‘बनिबनाउ स्वर्गलाई होइन, भत्केकै स्वर्ग बनाउनु’

नेपाल भत्किएको स्वर्ग हो। कम्मर कसे चाँडै बन्छ। विकसित मुलुकको बनिबनाउ स्वर्गलाई थप सिंगार्न लाग्नु भन्दा अभाव भएको आफ्नो देशलाई समृद्ध बनाउने बाटो रोज्नु। अवसर आफैँ बन्दैन, स्वयंले बनाउने हो। बाहिरै भए पनि नेपाल बनाउनेहरुमै लगानी गर्नु। आफू फर्कने बाटो यसरी नै खोल्नु।

५. ‘टन्न भा लाई होइन पेट कराइरहेकालाई खुवाउनु’

श्रोत-साधन-शक्तिले टन्न भाकालाई समर्थन गर्ने कु-संस्कार छाडी मद्दतका भोकालाई हात दिनु। उदाहरणको लागि, यसले जित्छ भनेर होइन यसले सही बाटो समाएको छ भनी भोट दिनु। परिवर्तन गर्नेहरु एक्लो हुन्छन्, मद्दतका भोका हुन्छन्। उनीहरुलाई नै खुवाउनु न।

६. ‘सय मिटर होइन, रिले म्याराथोन दौडिनु’

छिटो पुग्नेलाई होइन, चाँडै नथाक्नेलाई खुरुखुरु मद्दत गर्दै जानु। धेरै जसो बेला हामी यसैमा चुक्छौँ। ‘तु’ पुर्याइदिने बाचा गर्नेको पछि लाग्दा घर न घाटको भइन्छ। दिगो परिवर्तनको लागि बटान पास गर्दै ‘रिले’ म्याराथुन दौडनेमै बाजी लगाउनु।

७. ‘नेपालमा बोल्ने-लेख्ने-पढ्ने पुग्यो अब गर्नेलाई पालो दिनु’

सर्वत्र थाहै छ कि बोलाइ र गराइमा सन्तुलन नल्याएसम्म कुनै कार्य सफल हुँदैन। यसो गर्नुपर्छ भन्ने, लेख्ने, विश्लेषण गर्नेको अनुपातमा कार्य गरी देखाउने रवैया भएका निकै थोरै छन्। जसरी घरका हरेक खम्बा नबनेसम्म छानो ढलान हाल्न सकिन्न, गर्नेलाई बलियो नबनाएसम्म देश बन्दैन।

८. ‘मन जगाउनु- जगत नै तताउनु’

नेपाल बनाउन तम्सिनेलाई मद्दत गर्न पिएचडी चाहिँदैन। आसेपासे पनि हुनु पर्दैन। अरु त के देशमै हुनु पर्दैन, नागरिक नै हुनु पर्दैन। केवल मन चाहिन्छ मन ‘पाशा’। कुनै पनि नेतृत्वलाई सबभन्दा महत्वपूर्ण मद्दत भनेको त्यही ‘पहिलो समर्थक’ बनिदिनु हो। त्यसपछि त ढिलो चाँडो वरिपरि तात्न थालिहाल्छन्।

९. ‘नेपालमा नपत्याउने खोलाले नै बगाउँछ – ध्यान राख्नु’

चौबिसे राज्य मध्यको एउटा फुच्चे राजाले नै नेपाल आँट्या होइन र? इतिहास पल्टाउनुस्- परापूर्व कालदेखि नेपाल हल्लाउने जति सबै नपत्याउँदा नै थिए होइन र? नसुनेकालाई मद्दत गर्ने चेष्टा गर्नु्। नपत्याउँदालाई नहुर्केसम्म हात डोराइहेर्नु न। बगाई हाल्छन् कि ?

१०. ‘सकारात्मक’ हल्लै हल्लाको देश बनाउनु!’

अरु कुनै नसके पनि यो एउटा त पक्कै सक्नुहुन्छ। उठेदेखि सुतेसम्म राम्रै राम्रा हल्ला फैलाउनु। सानै हिमाल चढेको खबर किन नहोस् वा ट्राफिक स्वयंसेवक बनेकै, उनैको बेस्मारी गफ छाँट्नु। मुखसम्मै आइरहने ती नकारात्मक हल्लालाई भित्रै दबाइराख्ने कसरत दिनहुँ गर्नु।

नेतृत्व लिने मात्र नेतृत्व होइन, नेतृत्व बनाउने पनि नेतृत्व हो। मेरो लेखको सार यही हो।

नेपाललाई अहिले तपाईँजस्तै ‘नेतृत्व निर्माता’ को जरुरी छ। नेतृत्व लिन चाहिने सीप, त्याग र लगन जो कोहिमा नहोला तर नेतृत्व बनाउन त हामी हरेकले सक्छौँ। आफूभित्र नेतृत्व बनाउने संस्कार आजैदेखि विकास गरे यो देशमा सकारात्मक शक्ति, सञ्जाल र नेतृत्व बलियो बन्न केहीबेर लाग्दैन।

अन्तमा मेरो अनुरोध तपाईँजस्तो प्रतिभाशाली नेपालीलाई-

‘आउनुहोस् अब नकुरौँ, नेतृत्व आफैँ बनाउने आँट गरौँ !’

 

उज्वल थापा
अध्यक्ष
विवेकशील नेपाली दल

 

(सेतोपाटी पत्रिकामा पनि यसको एक संस्करण पढ्नुहोला)