नेपालमा आफ्नो भविष्य कसरी जोगाउने?

प्रश्‍न गर्नुहुन्छ : ‘नेपालमा आफ्नो भविष्य सुरक्षित राख्न मैले के गर्नुपर्छ ?’
मेरो जवाफ: ‘तपाई नेपालमा आफ्नो भविष्य सुरक्षित राख्न महा-स्वार्थी बन्नुहोस्।’

Read in English

के सन्क्या होला यो उज्वले भन्ने लाग्यो है ! तितो लाग्यो है ?
त्यसोभए एकैछिन ध्यान दिनुहोस्। म तपाईँलाई एउटा कथा भन्छु।

मानौं कडा मिहनेतले आज भन्दा ७ बर्ष पछि तपाईले आफ्नो जीवनलाई बडो सफल बनाउन सक्नु भयो रे। ईमानदारीका साथ बर्षौं गरेको मेहेनतको फलस्वरुप तपाईले काठमाण्डौंमा गार्ड, नोकर-चाकर सहितको चिटिक्कको घर अनि बैंकमा पुग्दो ब्यालेन्स सहितको पैसा बटुल्न सफल हुनुभयो रे। तपाईको यो भव्य सफलता देखेर  तपाईँका इश्टहरु नै भित्र भित्रै  बडो ईश्या गर्न थाले रे !

मानौं त्यति बेला तपाईको एउटा सानो सुखी परिवार पनि छ रे जसमा तपाई, तपाईको जिवन साथी अनि हिस्सी परेका छोरा र छोरी छन्। दैनिक तपाई काठमाण्डौंका सयौं समस्यासंग हेर्दै-लड्‍दै अगाडि बढिरहनु भएको छ। यहाँका असंख्य दैनिक समस्याहरुमा कसैले पनि चासो नदिएको देख्दा तपाईलाई दिमाग रनक्क हुन्छ, उदास हुनुहुन्छ। निरही भएर तपाईको मुखबाट एउटै मात्र बाक्य निक्लन सक्छ – “यस्तै हो, के गर्ने”।

अनि “गर्न नसक्किने कुरामा किन टाउको दुखाई राख्ने होईन र ?” भन्दै आफ्नो समय आफैले प्रभाव पार्न सक्ने ठाउँमै मात्र लगाउनुहुन्छ जस अनुसार आफ्नो परिवारको हेरबिचारमा लागि पर्नुहुन्छ। अनि अाफ्नो टोल, वडा, शहरको हेरबिचारलाई तपाई वास्ता गर्न छोडि दिनुहुन्छ।

तपाईले हेर्दा हेर्दै काठमाण्डौंको मुटुबाट मरिसकेकी बागमती झनै प्रदुषित हुन्छिन्। बागमती सफा गर्नु मेरो कार्यक्षेत्र भन्दा बाहिरको कुरा हो भन्दै तपाँई दिनहुँ यसको प्रमुख दोषी खोज्नुहुन्छ। कहिले यो काम त नकचरा सरकारको हो भन्नुहुन्छ त कहिले त्यै ढल मिसाउने गैरजिम्मेवार नागरिकहरु नै हुन् भनि ठम्म्याउनु हुन्छ। शंका-उपशंका पनि उत्पन्न हुन्छ मनमा। यस्तो बिग्रिनुमा तिनै डलर खेती गर्ने कुनै गैर-सरकारी संस्थाको पनि त हो भनि तपाईँ ठोकुवा गर्नुहुन्छ । अझै ‘क्लाईमेट चेन्ज”को करामत हो भनि पनि आफु यो जिम्मेवारीबाट उम्किन खोज्नु हुन्छ। खैर – तपाईँको मन, तपाईँकै मर्जी !

फेरि हामी अब तपाईकै परिवारमा फर्कौँ। आफ्नो छोराछोरीलाई तपाईले बडो अव्वल तरिकाले हुर्काइरहनु भएको छ। उन्‌को बुद्धि र विवेकको विकासको लागि चरम महंगो र अत्याधुनिक मोन्टेश्‍वरी स्कूलमा पढाई, आईप्याड/आईफोन जस्ता अत्याधुनिक प्रविधिका यन्त्रहरु उप्लब्ध गराउनुका साथ-साथ संसार बुझ्न बिभिन्न देशमा घुमाउन पनि लानुहुन्छ। तपाईलाई विश्‍वास छ कि एक दिन यी दुई ठूला भएर पक्कै पनि देश-विदेशको लागी सबल नेतृत्व बन्नेछन्। देश प्रतिको अाफ्नो अधुरो कर्तव्य र सपना तपाँईले यिनै दुई सन्तान मार्फत देख्नु हुन्छ। सहि लगानी गरेछु भन्दै तपाई आफैलाई धन्यवाद दिनु हुन्छ। यस्तै सोचले तपाईलाई सान्त्वना दिन्छ, “मैले त सकिन, तर मेरा छोरा-छोरीले त पक्का यो देश बनाँउछन्”।

अब मानौं एक दिन यहि विषाक्त बागमती-विश्नुमतीका कारणले वा काठमाण्डौंको सयौँ चरम प्रदुशनले निम्ताएको फैलिने रोगका प्रकोपहरुका कारण एउटा भएङ्करै डरलाग्दो पानीबाट फैलिने नयाँ किसिमको महामारी रोग निक्लियो रे जुन पहिलो एक दुई हफ्ता साधारण रुगाघोकी जस्तो। मानौ दुर्भाग्यवस् तपाईको बच्चालाई स्कुलमा हुँदा यस रोगले समात्यो रे- विधालयका साथीबाट सरेको पनि हुनसक्छ वा अरु नै कोही बाट। यत्रो ठूलो शहरमा जो कोहि बाट पनि हुनसक्छ। साधारण भनेर सिटामोल ख्वाई डक्टरले पनि घर पठाईदियो रे।

एक रात बच्चालाई स्वासँ फेर्न गाह्रो भयो भन्ने थाहा पाउने बित्तिकै तुरुन्तै अाफ्नो नया रेन्जरोभरमा महामारी रोग ग्रस्त आफ्नो बच्चालाई बोकी तपाई नजिकैको उच्च दर्जाका निजी अस्पतालमाहुँईकिनुहुन्छ। त्यहाँ तुरुन्तै उनलाई शाही श्रेणीको कक्षमा भर्ना गरी २४ सै घण्टा निजी डाक्टर राखेर उपचार शुरु गर्नुहुन्छ। डाक्टरले पनि संसारकै उत्कृष्ट विज्ञहरुसंग परामर्स गर्न थाल्छन्। पैसाको त खोलो बगाउनु हुन्छ। अन्तिममा आएर डाक्टरहरुले भन्छन्, “तपाईको छोरीको यहाँ उपचार हुनसक्दैन यो नयाँ खालको सरुवा रोग भएकोले। उनीलाई तुरुन्तै विदेशै लैजानुपर्छ।”

तुरुन्तै तपाईले दिल्लीको लागि पुरै हवाई जहाज रिर्जभ (चार्टर्ड) गर्नुहुन्छ। तपाई छिटो भन्दा छिटो दिल्ली जाने कोशिश गर्नुहुन्छ तर तपाईलाई रोकिन्छ किनकि भारत (वा कुनै पनि देशका नीति) अनुरुप यस्तो खतरनाक रोग भएकोले महामारी सर्न सक्छ भनेर रोकिदोँ रहेछ। तपाईले भारत र नेपालका ठुला ठुला नेताहरु पैसाले हुन्छ कि धम्कीले हुन्छ बेस्मारी पेल्नुहुन्छ। तपाईसँग नेपाली नेताहरुसँग राम्रो पहिचान भएकोले सोझै नेपालको प्रमुख नेताहरुलाई नै कुनै बाटो निकालन सकिन्छ कि भनेर सोर्स-फोर्स लगाउनुहुन्छ। तपाईको दवाब सफल पनि हुन्छ। अन्तिममा २४ घण्टाको ढिलाई पछि (जुन हाम्रो जस्तो ठाउँमा नियमित हो) दिल्लीको लागि स्वीकृति पाउनुभयो। आशको झिन्का पलाउँछ। अनि बच्चाको जिवन (तपाईको लगानी, तपाईको भविष्य) बचाउन उडनुहुन्छ। तर अफसोस् त्यति बेला सम्म ढिलो भैसकेछ। महामारी रोगले तपाईको बच्चालाई खाई सकेछ।  तपाईकी प्यारो बच्चा, तपाईको सर्वस्व लगानी अब रहेन।

आकाशै खस्यो !
“यस्तो अन्याय भयो मलाई भगवान ! मेरो बच्चा मार्ने हत्यारा को? ”  तपाईको मन भित्र आरोप-प्रत्यारोपको चिच्चाउने खेल शुरु हुन्छ।  तपाईको भविष्य, तपाईको लगानी, तपाईको समाज, देश प्रतिको आश यसरी चुर्लुम्मै डुब्नुको पछाडि को दोषी होला? मनले चौविसै घण्टा दोषी खोज्न थाल्छ।

दोशी (हत्यारा) को?

  • के यिनै महंगा अस्पताल र डाक्टरहरु नै दोषी हुन् जो समयमै उपचार पत्ता नलगाएर ढिलासुस्ती गरेका?
  • कि यो तिनै रोग सार्ने कुनै फोहरी काठमाडौँका अति गरिव खाते परिवारका ति फोहरी बच्चाहरु हुन्?
  • त्यत्रो पैसा लिई पनि हेरचाह गर्न नसक्ने ‘बेईमान’ मन्टोसेरी स्कूल पनि दोष छन् ?
  • कि त सबै कर्मचारीहरु जसले बागमती सफा गर्नु पर्ने तर नगरी बसेकाहरु ?
  • अनि त्यहि हामीले पालेका असक्षम सरकार र तिनै निकम्मा श्रिर्ष नेताहरु पनि त दोषी हुन् ?
  • कि हाम्रा छिमेकी राष्ट्र भारत पनि दोषी हो जसले समयमै उपचार गर्न रोकेर नेपाली माथि भेदभाव गरे ?
  • वा अझै, यो अनुष्टिको पुरै दोष सतीले सरापेको देशलाई नै दिने कि?
  • अनि आफु नि?

हेर्नुहोस् जो जसलाई दोष लगाए पनि पनि मुल कुरो भनेको तपाईको बच्चा अब फिर्ता आउने वाला छैन।

बरु एकैछिन अाँखा चिम्ली तलको प्रश्नको उत्तरको मनन गरौँ न है।

यदि तपाई बिगतका दिन फर्कन मिल्ने शक्ति भए  तपाई कुन समयकालमा फर्कनु हुन्छ जसले गर्दा तपाईको बच्चा आज पनि जिवित हुने थिईन् र उन्‌को भविष्य पनि शुनिष्चित हुने थियो ?

यसरी आफ्नो बिगतमा फर्किन पाउनु भयो भने तपाई समस्याको हाँगो भाच्न मात्र लागि पर्नु हुने थियो कि जरै उखेल्न? अवश्य तपाई जरो नै उखेल्ने फर्किनु हुने थियो नि होईन र? त्यसमा त कुनै दुई मत रहेन, कि कसो?

अवश्य तपाई यस्तो समयकालमा फर्कनु हुने थियो जहाँ समस्याहरु सानै हुदैँ खेरी महामारीको जडो उखेल्नको लागि तपाईले दिन रात खट्टिनु हुने थियो। अन्तत तपाईले आफ्नो सन्तान बचाउन समयमा पाईला चाल्नु हुने थियो।

सारंसमा भन्नुपर्दा, आफ्नै स्वार्थको लागि हामी सबैले भविष्यमा आउने भयानक समस्याहरुको जरो अहिले देखि नै उखेल्न लागि पर्नु पर्छ नत्र माथीको जस्तो बिरक्त कथा तपाई र मेरै बन्नेछ।

अाजै देखि समाजका समस्याका जरो उखेल्ने काम गरेनौं भने यी समाधान गर्न सकिने झिना समस्या पाक्दै गई यति दर्दानक हुनेछ – हाम्रा सन्तानकै भविष्य पनि बर्बाद हुनेछ।

त्यसैले आजैबाट तपाईले, मैले, हामीले यी ३ ‘स्वार्थी’ संकल्प लिँउ (आफ्नो र आफ्नो परिवार बचाउनको लागि)।

  1. अाफ्नो परिवार बचाउन, आफुले देखेका जुनै पनि समस्याका हल गर्न लागि परेका कुनै पनि विवेकशील टोलीलाई साथ दिन्छु।  जब यो पाईला अघि सर्छ देश अघि बढ्छ।
  2. अाफ्नो भविष्य बचाउनको लागि अहिलेका असक्षम नेताहरुलाई हटाउन तिर लाग्छु।  बिकल्प कुरेर होईन अब अाफै बनेर देखाउँछु मेरो टोलमा, समाजमा, देशमा।
  3. अाफ्नै जिवनशैली जोगाउन म मेरो छरछिमेक, गाँउ-शहर र देशको (सामाजिक, अार्थिक, राजनितिक, प्राकृतिक) वातावरण स्वस्थ्य बनाउन अग्रणी भुमिका खेल्छु। नेपाली भनेर होईन म बनेर देखाँउछु।