आफुलाई नेपाली भन्ने साथीहरु नेपाली बनेर त हेर, बन्न कति गाह्रो छ

नेपाल बन्द गर्नु हुने साथीहरु
एक चोटी नेपाल खोलेर त हेर, खोल्‍दा कति गर्व हुन्छ
बन्द तोडौँ भन्दा आत्तिएकाहरु
अवेज्ञा गरेर त हेर, मन कति शान्त बन्छ

देश टुक्र्याएर “सुन्य” देखि बनाउन खोज्ने नेताहरु
टुक्राएर त हेर, फेरि जोड्न कति गाह्रो छ
जात-भात देखि डराउने साथीहरु
हटाएर त हेर, आफैंलाई चिन्न कति ‘टेन्सन’ छ

म जँगिएकोमा मनमनै चिडिनेहरु
मन पोखेर त हेर, यो दुनियाँ कत्तिको हलुँगो छ
देशलाई सरापी बस्ने साथीहरु
बनाएर त हेर, बनाउन कति सजिलो छ!

हक-माग्ने सँग डराएका साथीहरु
दिएर त हेर, दिँदा झनै आनन्द छ
अधिकार खोज्दा दायित्व भुल्नेहरु
जिम्मेवार बनेर त हेर, यसमा कति सम्मान छ

बिदेशीने सँग रुष्ट भएकाहरु
परदेश बसेर त हेर, त्यहाँ बाँच्न कति दु:ख छ।
परैबाट देश-भक्ति देखाउने साथीहरु
भित्र आई त हेर, यो देशलाई माया गर्न कति गाह्रो छ

मैले बिस्तारै हिंडेकोमा रिसाएका साथीहरु
सुस्‍तो हिँडेर त हेर, टाढा पुग्न झनै सजिलो छ
पटक पटक जागेर थाकेकाहरु
फेरी एकचोटी लागेर त हेर, देशलाई तिम्रो झनै खाँचो छ

फेरी भन्छु – बन्दमा गुम्सिएका साथीहरु
बन्द खोलेर त हेर, खुल्ला मन कति अमुल्य छ
फेसबुकमा लडिरहेका नेपालीहरु
सडकमा आएर त हेर, बास्तविकता कत्ति जटिल छ

मैले मन घोचेँकोमा रिसाउनेहरु
घोँचेर त हेर, नेपालीलाई जगाउन कति गाह्रो छ
आफुलाई नेपाली भन्ने साथीहरु
एक चोटी नेपाली बनेर त हेर, बन्न कति गाह्रो छ

 

————–
भुपी शेरचन दाईको “मेरा साथीहरु” कविताबाट प्रभावित”

All content in whynepal.com is un-copyrighted (except posts written by 'guests'). Which means you can simply copy-paste/improve/distribute without mentioning me. I won't mind. Here are my reasons.