आफुलाई नेपाली भन्ने साथीहरु नेपाली बनेर त हेर, बन्न कति गाह्रो छ


नेपाल बन्द गर्नु हुने साथीहरु
बन्द खोलेर त हेर, खुल्ला मन कति अमुल्य छ
बन्द तोडौँ भन्दा आत्तिएकाहरु
अवेज्ञा गरेर त हेर, मनले कति धन्यवाद पाँउछ

देश टुक्र्याई “सुन्य”बाट बनाउने नेताहरु
टुक्राएर त हेर, फेरि जोड्न कति गाह्रो छ
जात-भात देखि डराउने साथीहरु
हटाएर त हेर, आफैंलाई चिन्न कति ‘गाह्रो’ छ

म जँगिएकोमा मनमनै चिडिनेहरु
मन पोखेर त हेर, यो दुनियाँ कत्तिको हलुको बन्छ
देशलाई सरापी बस्ने साथीहरु
बनाएर त हेर, बनाउन कति सजिलो छ!

हक-माग्नेहरु सँग डराउने साथीहरु
दिएरै त हेर, दिँदामा झनै आनन्द छ
अधिकार खोज्दा दायित्व भुल्नेहरु
जिम्मेवार बनेर त हेर, यसमै कति सम्मान छ

बिदेशीने सँग रुष्ट भएकाहरु
परदेश बसेर त हेर, त्यहाँ बाँच्न कति दु:ख छ
परैबाट देश-भक्ति देखाउने साथीहरु
भित्र आई त हेर, यो देशलाई माया गर्न कति गाह्रो छ

मैले सुस्तरी हिंडेकोमा झोक चलेका साथीहरु
सँगै हिँडेर त हेर, टाढा पुग्न झनै सजिलो छ
पटक पटक जागेर थाकेकाहरु
फेरी एकचोटी लागेर त हेर, गन्तव्य कत्ति नजिकै छ

अरुलाई हराएर जितेकाहरु, हारेकालाई नि माथि तानेर त हेर
देशलाई तिमी-उनी सबैको खाँचो छ
फेसबुकमा लडिरहेका नेपालीहरु
सडकमा आएर त हेर, बास्तविकता कत्ति जटिल छ

मैले मन घोचेँकोमा रिसाउनेहरु
घोँचेर त हेर, नेपालीलाई जगाउन कति गाह्रो छ
आफुलाई नेपाली भन्ने साथीहरु
एक चोटी नेपाली बनेर त हेर, बन्न कति गाह्रो छ

————–
भुपी शेरचन दाईको “मेरा साथीहरु” कविताबाट प्रभावित”