आँउदो वर्ष अझै चोर्नु, घरै बेच्नु, जुत्ताकै माला लगाउनु अनि ‘यो’ जीवनै त्याग्‍नु !

new-year_greetings1 (Read in English here)

तपाईँका अाउदाँ दिनहरु विवेकशील रहोस्। यहि मेरा केहि शुभकामनाहरु तपाईँलाई 🙂

आउँदा दिनहरुमा तपाईं  ….

१)… अझै चोर्नु है !

आफ्नो लागि पर्याप्त समय चोर्नु होला ताकि आफूलाई मन लागेको कार्य गर्न पुगोस्।  अाफ्नो जीवनको औचित्य गहिरिएर बुझ्न सक्दो समय लिए कसो होला?

२)… नियमको भरपूर उल्लङ्घन गर्नु है !

रुढिवादी समाज वा यथास्थितिवादी व्यक्ति-विशेषले बनाएका “यसो गर्, उसो नगर्” जस्ता अत्याचारी नियमहरुका सोझै उल्लङ्घन गरौँ न। आजैदेखि आफू नै आफ्नो नैतिक मार्गदर्शक बन्ने होइन ?

३)… बकैदा लड्नु है !

दिनहुँ हुने साना-तिना अन्यायहरु विरुद्ध जमेर भिडौँ न।  चाहे त्यो ट्राफिक नियम उल्लघंन गराइमा होस् वा बाटोमा फोहोर फाल्ने गैर-जिम्मेवार टोलहरुमा; यी सबै कु-संस्कार विरुद्ध कम्मर कसेर जाई लागे कसो होला?

४)… जुत्ताकै माला लगाउनु है!

विवेक जगाउन यस्ता रचनात्मक कार्य गरौँ कि मतलवी, गैरजिम्मेवारहरु रिसाई तपाईंलाई जुत्ताको माला लगाउन वा कुहिएको गोलभेडाले हान्न जाई लागोस्। नआत्तिनुहोस्, यस्तो दिन आउनु भनेकै उनीहरु हारको नजिक पुगेको संकेत हो । यस्ता कार्यमा लाग्ने होइन त?

५)… दिनहुँ आफ्नो मृत्युलाई अँगाल्नु है !

“एक दिन सबै मर्नु नै छ,” यो ध्रुव-सत्यलाई हेरक बिहान अँगाल्न सक्यौँ भने बल्ल हामीले अाफ्नो जीवन सार्थक बनाउन सक्छौँ। जिउनु भनेकै मृत्यु देखि नडराउनु होइन र? एक पल्ट सोचौँ त- यदि  तपाईँसँग केवल एक महिना मात्र बाँच्ने समय छ भने के काम मात्र गर्न मन लाग्छ ? आजैदेखि त्यही कार्यहरु गर्न लाग्दा कसो होला?

६)… भए-भरको जाय-जेथा बेच्नु है !

भौतिक वस्तु प्रतिको हाम्रो अन्धो मोहले हामीलाई अपाहिच तुल्याएको छ। यस्तो मोह त्याग्न अाफ्नो जाय-जेथा सबै खर्चेर तपाईको जीवनसाथीसँग संसार यात्रा गर्ने साहस निकालौँ। भनिन्छ जीवनमा हासिल गरिने उच्च ज्ञान प्राय यस्तै संसारिक यात्राबाटै सिकिन्छ। यत्ति आँट निकाल्ने कि ?

७)… भोकै तड्पिनु है !

जीवनमा केही गरेर देखाउने भोक तपाईंलाई नराम्ररी लागोस् । चाहे त्यो अन्याय विरुद्धको भोक हड्तालमा होस् वा केवल आफ्नो स्वास्थ्यको लागि “डाइटिँग” गरी होस्, भोकलाई निम्त्याउनुहोस् आफ्नो जीवनमा। यही भोकलाई शक्तिको रुपमा प्रयोग गर्दा कसो होला?

८)… अाफू भित्रका कच्चा सोचहरु दुनियाँ माझ छताछुल्ल पार्नु है !

अाफ्नो मनमा गुम्सिएका सोचहरुलाई तपाईंले संसारलाई देखाउने अाँट गर्नु होला। तपाईं भित्रको नाङ्गो सुन्दरतालाई सबैले नियाल्न पाओस्। आफ्ना विस्फोटक विचारलाई पनि गर्ल्याम्मै अँगालेर हिंड्नुहोस्। चेतना भया – तपाईंको यस्तो रुपलाई अँगाल्ने आफ्नै हुन्, पचाउन नसक्नेहरु चाहिँ पराई हुन् !

९)… आफना सम्पूर्ण वचत मासौँ है !

साँच्चै ? अँ साँच्चै 🙂 ! अाफूले बचाएको हरेक पैसा कुनै नयाँ तथा सृजनाशील उद्दम वा व्यवसाय शुरु गर्न खन्याउनु होला। यसरी समाजमा रोजगार र अवसर सिर्जना गर्न लगानी गर्नुहोस् र अरुलाई नि सिकाउनुहोस्। आफ्नो वर्तमान र भविष्य, अवसरहरु सिर्जना गर्नमा लगाउँदा कसो होला?

१०)… ठूलै दाग लगाई जानु है !

खुसुक्क जाने कि डामै बसाएरै जाने हँ मित्र? आफैलाई यो प्रश्‍न गर्नुहोस् त- “आउँदो पुस्तालाई म के दिई जाँदैछु?” यदि अाल-टालको उत्तर निस्कियो भने अब पनि समय छ, कुनै ठोस् परिवर्तनमा पात्रो बनी “राम्रै दाग” छापी जाने होईन?

११)… तपाईं सदाको लागि ‘यो’ जीवन त्याग्नु है !

अहिलेसम्म अरुकै सपना पूरा गर्ने ‘यो’ बाटामा लुखुर-लुखुर तलब लिईराख्नु भएको छ भने अब त्यो जीवन खुरुक्क त्यागी आफ्नै सपनाको गोरेटोमा पाईला बनाउंदै जानु। अाफ्नै सपनालाई यसरी विपना बनाउने जीवनको थालनी गर्ने होइन त साथी ?

१२)… आउँदो बर्ष…. यी सबै अाशाहरु तपाईंको ईष्टलाई पनि बांडी हाल्नु है! अनि तल छोटो भिडियोमा भनेका कुरा पनि एक चोटि मनन गरौँ न।

 यस्तो आँट गरे कसो होला ? 🙂

(Read this article in English here)

One thought on “आँउदो वर्ष अझै चोर्नु, घरै बेच्नु, जुत्ताकै माला लगाउनु अनि ‘यो’ जीवनै त्याग्‍नु !

  1. बिस्लेशण!

    एउटा प्रश्न मेरो मनमा आइरहयो, किन हामी वा हाल बिदेशमा केही समय बिताइ सक्नु भएका साथीहरुका कुराहरु सुन्दा र बुझ्दा अहिले आएर नेपालमा नै केही गर्न सकिन्छ र गर्नु पर्छ भन्ने बिचारहरु आएको अवस्था लाई हेर्ने हो भने र हाल नेपाल मा नै बसेर संघर्श गरिरहनु भएका साथीहरुको बिचार हेर्दा के कुरा स्पस्ट हुन्छ भने जुन बिदेशमा हुनुहुन्छ धेरै जसो को सन्दर्भमा ब्यक्ती बिकास अथवा “म” भन्ने शब्दको बिक…ास र आत्मवल बढेको देखिन्छ, किन आज उहाहरु(प्रवासी) आत्मवलका साथ अब केही गर्नु पर्छ त्यो पनि स्वदेशमा नै, भनी रहनु भएको छ? यदी गहिरिएर हेर्ने हो भने यो हाम्रो समाजलाई बिकास गर्नको लागि सबै भन्दा पहिले “म” मेरो आफुलाई लाई पहिले बिकास ( सिप, कार्य योग्य, लगनशिल्ता, आत्मवल ) जस्ता कुराहरुको आर्जन नगरि हामी अरुको बारेमा सोच्न पनि सक्ने स्थिती हुँदैन। त्यसैले अहिले प्रवासीहरु केही मात्रामा भएपनी बिकास भएको ले गर्दा केही गर्ने आत्मवल राख्नु हुन्छ त्यो एउटा सकारआत्मक सोच हो, जस्लाई सबै मिलेर “म” को बिकासको साथै “हामी” को बिकास गर्नु जरुरी छ जस्तो मलाई लाग्छ।

    जुन समाजमा हामी छौ, त्यही समाजलाई पन्छाएर होइन , ब्यक्ती “म” लाई बिकास गर्दै सामुहिक “हामी” को बिकासले स्वत: समाज बिकासमा रुपान्तरण हुन जानेछ।

    त्यसैले हामी सबै भन्दा पहिले आफ्नो सोच, मन, मेरो कार्य क्षमता अनी आत्मवल लाई बिकास गरी हाम्रो समाज अनी देशलाई नयाँ एउटा युग तिर उन्मुख गराउन आ-आफ्नो क्षेत्र बाट आत्मासात गरी सक्दो सहयोग गर्नु हामी सबै नेपालीको कर्तब्य पनि हो। म, हामी र हाम्रो बिकास गर्नको लागि कुनै एउटा राजनीतिक दलको विल्ला लगाउनु जरुरी छ जस्तो मलाई लाग्दैन। हामी हाम्रो बिकास गरौ।

    हामीमा भएका गुण्हरुलाई सदुपयोग गर्दै हामी हाम्रा सन्ततिहरुलाई हामीहरुले भोगेको जस्तो पिडा र ब्यथा भोग्न नपरोस।

    तपाईं पहिले आफ्नै परिवारको हिरो हुनुहोस् अनी स्वत:: समाजको हुनु हुनेछ।

    धन्यवाद!
    राजु कार्की
    हाल- कुवेट

Leave a Reply