सरकार पाल्ने मात्र होईन अब जवाफ पनि मागौँ ! कर तिर्ने मात्र होईन, अब परिणाम पनि खोजौँ !!


सरकारका प्रतिनिधि कराँउछन्,

“जिम्मेवार नागरिक बन्नुहोस् कर तिर्नुहोस्! तपाईले नै कर नतिरेकैले हाम्रो देश गरीब बनेको छ”

यो सुन्दा त लाग्छ हामी आम-नेपालीले करै तिर्दैनौं हँ। हामी सबका-सब चोर रे !
तर यो सरासर गलत र भ्रामक प्रचार हो। सत्य त यो हो कि यो देशलाई नै पालिरहेका छौँ हामीले!

कसरी भनि सोध्नुहोला…
हामीले हरेक पटक केहि किन्दा त्यसको केहि हिस्सा सरकारलाई कर तिरेकै हुन्छौं।
जस्तो कि:

  • 🇳🇵जन्मनु अघि देखि मरे पछि सम्म पनि हामी कर तिर्दै आएका छौँ । गर्भवती आमाले खाने औषधि देखि मरे पछि लाउने कात्रो समेतमा हामीले कर तिरेका हुन्छौं !
    🙏🏽मोटर बाईक, गाडी, माईक्रोबस वा ट्याक्सी चढ्नु भो भने त्यसमा लाग्ने पेट्रोलको १३% कर सरकारलाई जान्छ जुन तपाईकै भाडाँबाट तिरेकै त हो।
    🙏🏽खाजामा म:म खानु भो ? त्यसमा पनि कर तिर्नु भो भ्याटको रुपमा होस् वा त्यो बनाउने तत्वमा लागेको करको रुपमा !
    🙏🏽खेलौना किन्नु भो छोरीलाई? भन्सार मै काटी सक्यो कर !
    🙏🏽घरमा “हेलो” गर्नु भो फोन/मोबाईलबाट ? त्यसमा पनि सरकारले झ्वाम्मै १३% काटि सक्यो।
    🙏🏽आफ्नो स्कुटर-मोटरसाइकल-गाडी किन्दा कति तिर्नु भो ? जति लाख हो भने त्यसमा आधा भन्दा बढि त सरकारले लग्यो !
    🙏🏽 ग्यासँ, बिजुली, पानी किन्दा होस् वा तरकारी पकाउने तेल किन्दा होस् जसरी पनि सरकारमा पुग्छ तपाईले कमाएको पैसो।

त्यसैले हामी अाम नागरिकले कर तिर्दैनौं भन्ठान्नु गलत हो। यथार्थमा यो देशलाई तपाई-हामी एक-एक जनाले दिन-दिनै तिरेको करले धानेका छौँ।
बरु प्रश्न त यो पो हो; हामीले तिरेको कर कहाँ पो गई रहेछ? कसरी हाम्रो पैसाले यो देश चलाईराछन्? सोचौं, मनन गरौं।

  • त्यो बाटोमा (कतै) पुलिस देख्नु भो? हाम्रै पैसा परेको छ उहाँको घर-परिवार धान्न
  • सरकारी जागिर खाने हरेकको दैनिकी के ले चल्छ? हाम्रै पैसाले
  • राष्ट्रपतिको तलब वा न्यायलयले न्याय दिंदा लाग्ने खर्च होस् – हाम्रै पैसा बाट
  • त्यो बाटो बनाउने पैसो वा बाडी पिडितलाई सरकार राहतको पैसा पनि हाम्रै पैसा बाट जान्छ
  • त्यसैगरि जनप्रतिनिधिहरु लाई पाल्न लागेको पनि अरबौँ रुपैया पनि हाम्रै खल्तिबाट रित्तिएको हो।
  • १ लाख भन्दा बढि सेनालाई पाल्ने पैसा कहाँबाट आई रहेको छ? हामी बाटै

आफुले दिनहु तिर्दै  आएको करको के फाईदा पायौँ त अहिले सम्म तपाई-हामीले ? मुल प्रश्न त यो पो हो । यो प्रश्न तपाई मलाई नसोध्नुहोस्। सोध्नुस् त ती हाम्रै ‘कथित’ जनताका सेवक, हाम्रा नेता र सरकारी प्रतिनिधिहरुलाई (फोन नम्बरहरु यता)।

“ मेरो पैसा कहाँ खर्च गयो ? कसरी ? किन ?”

यसको जवाफ माग्नु तपाईको हक मात्र होईन तपाईको ‘जिम्मेवारी’ पनि हो। म त भन्छु बरु जवाफ नमाग्नु भनेको आफै प्रति गैर जिम्मेवार हुनु हो।

  • आजै हेल्लो सरकारमा फोन गरि सोध्नुस “मैले पसिना चुहाएर, पेट काटेर तिरेको करको सदुपयोग भयो कि भएन ?”
  • आजै वडा वा गाउँको सचिवलाई सोध्नुहोस् कि त्यो सडक किन बनेन ?
  • त्यो कर्मचारीले किन ढिलासुस्ती गर्यो ?
  • त्यो पुलिसले किन फोन उठाएन?
  • त्यो अस्पतालमा खै डक्टर- नर्स?
  • एस-एल-सीमा फेल भैराख्ने त्यो स्कुलमा शिक्षकलाई किन कारवाही भा छैन ?
  • गाँउलाई छुट्याईएको पैसाको हिसाब-किताब कता छ ?
  • दिनु पर्ने बृद्ध भत्ता किन नदिएको?
  • ट्राफिक जाम किन दिनहुँ हुन्छ ?
  • हाम्रै पैसाले पालेका ती कर्मचारीले हाम्रै युवक-युवतीलाई एएरपोर्ट/ नाका आदिमा बेईज्जती वा लुटपाट गर्छन्। किन ?

कर तिरसक्नु भो, त्यसैले नै तपाई को हक बन्छ यी जवाफ माग्न ! जवाफ दिएनन् भने सुचनाको हक प्रयोग गर्नुहोस्, राम्राहरुको ‘सिन्डिकेट’ बनाउनुहोस् !

अब सोधौँ , बोलौँ, जिम्मेवार हौँ
नेतृत्वबाट जवाफ मागौँ !
दिँदैनन् भने तरुन्तै हटाऔँ
हटेनन् भने उखेल्न सम्म नडराऔँ!

सरकार पाल्ने मात्र होईन अब जवाफ पनि मागौँ !
कर तिर्ने मात्र होईन, अब परिणाम पनि खोजौँ !!

फोन गरि झक्झकाउन सांसद / मन्त्रीहरुको फोन नम्बर यहाँ छ है 

( यो लेख्न मद्दत गर्नु हुने सौभिद्य मनोज र गोविन्द नारायणलाई मुरी मुरी धन्यवाद )

Leave a Reply