राज्यको नीतिले डढेलो लगाएको एक सुत्केरीको ब्यथा

लेखक – सन्तोष भण्डारी ( भाषा सहयोगी – जीवन श्रेष्ठ, मिलन पाण्डे र अाफु) 

Why do we need to save Nepal's health care -  ( by Dr Govinda KC )

 

एक हफ्ता अघि २०७१ फागुन २८ गतेका दिन म अाफु जन्मेको बाग्लुङ जिल्लाको बुर्तिबाङ गाउँबाट काठमाडौँ आउने क्रममा म्याग्दी जिल्ला कहिल्यै नघुमेको हुनाले त्यहाँ  हुँदै   काठमाडौँ आउने विचार गरेँ। अनि एक्लै त्यतातिर अाफूलाई मोडेँ। दिनभरिको पैदल यात्रा पश्चात् मेरो पहिलो रात बाग्लुङको उत्तरी भेग लाम्बेलामा बित्यो।  दोस्रो दिन सबेरै चिया खाजा खाएर म सोलेडाँडा तिर लम्के। बाटोमा जंगल नै रातो हुने गरि ढकमक्क  फुलेका लालीगुराँसहरु हेर्दै, तिनका रस पनि मज्जाले चाख्दै, सामुने नै देखिने धवलागीरि, माछापुच्छ्रे र अन्नपुर्ण हिमालहरुको  अानन्द लिदैँ लगातार  ४ घन्टाको एक्लो पैदल यात्रा पश्चात् दर्बांङ  खोलाको किनारमा आइपुगेको पत्तै भएनछ।

कच्ची मोटर बाटोमा लगातार २ घण्टा हिंड्दा एउटा पनि गाडी चलेको देेखिन। एउटा गाडी भने नचलेर बाटोको साइडमा थन्किएको थियो। त्यसरी म दिउँसोको १ बजे फुलबारी नजिकै आइपुगेको के थिएँ, अलि पर खोला पारी मैले ३ जना महिला एकै ठाउँ बसिरहेको देखेँ। अनि नजिकै एक जना केटा मान्छे पनि देखा पर्यो। नजिक पुग्दा त्यो २० वर्ष पनि  भरखरको ठिटोले अघि बढ्दै भन्यो, ” दाई, इमरजेन्सी कल गर्नु पर्यो।  मेरी श्रीमती अस्पताल लैजाँदा लैजादैँ बाटोमै डेलिभरी गर्न लागिन्। मेरो मोबाइलमा ब्यालेन्स सकिएछ।  तपाइको मोबाईलबाट एक कल गर्नु पर्यो” भनि गुहार्यो  ।

मैले उसलाई मेरो मोबाइल दिए अनि पुलुक्क १० मिटर जति टाढा महिलाहरु तिर हेरेँ । केटो भन्दा पनि कलिली देखिने उनकी श्रीमती  भयावह व्यथामा देखिन्थिन्। अरु दुई अलि पाका महिलाहरु उनलाई मद्दत गर्न खोजिरहेका थिए।  दिउंसो १ बजेको त्यो चर्को घाम अनि खुला आकास मुनि, विना कुनै तयारी आमा बन्न लागेकी ति कलिली बहिनीको वेहाल बयान गरि नसक्नु थियो।  उनले बच्चालाई त जन्म दिइसकेकी रहेछिन् तर बच्चा संगै जोडिएको साल पुरै बाहिर निस्कन सकिरहेको थिएन।  जीवन मृत्युसंग लडिरहेकी ती बहिनी अत्तालिरहेकी थिइन् ।  कहिले मुखभित्र औला हालेर उल्टी गर्न लागेजस्तो गरी, कहिले थुचुक्क बसेर, कहिले खुट्टा पसारेर त कहिले ति महिलाहरुमाथि झुण्डिएर जतिसक्दो छिटो  त्यस पीडाबाट मुक्त हुन चाहन्थिन्। सहयोगीका रुपमा आएका दुई महिला र श्रीमान् अक्क न बक्क देखिन्थे। उनीहरु यसको लागि कुनै पनि ढंगले तयार देखिदैँन थिए।  सुत्केरी बहिनी पानी खान चाहन्थिन्  तर १०० मिटर जति  मात्र तल बगिरहेको पानी लिनको लागी उनीहरु संग एउटा सिँगो भाडोँ वा बोतल थिएन।

संयोगवश मैले त्यो बिहान बाटोमा रम्बा चाउचाउ खाँदै हिँडेको थिए र  सकाए पछि प्लास्टिक जंगलमा नफाली खल्तीमा राखेको थिएँ। त्यो बेला मेरो विवेक प्रयोग गरेको अब यो घडीमा अाएर एकदमै काम लाग्यो। मैले त्यो भाइलाई अाफ्नो चाउचाउको खोल दिए र उसले तल खोलामा गएर त्यसैमा पानी लिएर अाफ्नी श्रीमतीलाई खुवायो। म पनि अताल्लिरहेको थिएं।  निकै अन्योलपूर्ण वातावरण थियो ।  अब के गर्ने ? कुनै उपाए आइरहेको थिएन। सुत्केरीको अवस्था भने झन् खराब हुदै गैरहेको थियो। उनको त्यो फिजिएको चुल्ठो, रगताम्मे लुंगी र चप्पलहरु, रगताम्मे उनका गोडाहरु,  र साइडमा भर्खर जन्मिएको रगताम्मे नानी एउटा ढुंगा माथि पातलो कपडामा छोपी सुताइएको क्षण अहिले पनि सम्झँदा जीउ नै शिरिङ्ग हुन्छ !

हामी धर्मसंकटमा थियौँ।  बोकी लगौँ भने पनि सामान्य स्वास्थ्य चौकी भएको दर्बाङ्ग बजार पुग्न कम्तीमा पनि ३-४ घण्टा लाग्न सक्थ्यो। त्यति समयमा यी नव-अामा-बच्चा बाँच्न सक्ने कुरामा शंकै थियो।  म बाटोमा आउँदै गर्दा त्यहाँबाट डेढ घण्टा जति माथि एउटा गाडी खोलाको तिरमा रोकिराखेको देखेको थिएँ त्यसैले त्यो भाइलाई त्यो गाडी गुडिहाल्छ कि भनी माथि तिर पठाए  र अाफू चाहिँ अघि फुलबारी बजार तिर गाडी खोज्न दौडिएँ ।  हामी छुट्ने बेलामा भने एकअर्काको मोबाइल नम्बर लिएका थियौँ ताकि बाटोमा एकअर्कासंग सम्पर्कमा रहन सकियोस् । म मेरो गह्रौं झोला पनि बोकी अगाडि  दौडन थाले।  थकाइले मार्न थाल्ने बित्तिकै त्यो बहिनीको दयनीय स्थिति  सम्झिन्थे अनि सोच्थे ति बहिनी मेरो ठुलो अाशमा छिन्, त्यो सोच्दै  मरे मरुला भनेर न्वारन देखिको  ताकत निकालेर  दौडिरहे ।

लगभग ४५ मिनेट जति पछि म फुलबारी बजार आइपुगे तर गाडीको कुनै नामो निशाना थिएन। मैले माथितिर गएको भाइलाई फोन गरे उसले पनि गाडी पाइरहेको थिएन। १०-१२ घर भएको त्यस फुलबारी बजारमा ३-४  जना महिला र केटाकेटी बाहेक अरु कोही देखिन।  उनीहरुलाई घटनाको बारेमा भने अनि दर्बांग स्वास्थ्य चौकीको सम्पर्क नम्बर मागे तर कसैलाई पनि थाहा रहेनछ। अनि त्यहाँबाट अाशै नदेखे पछि म पैदल नै दर्बांग जाने निश्चित गरे । जति दौडेपनि मलाई कम्तिमा २ घण्टा लाग्ने निश्चित थियो, तै पनि  म पुनः झोला बोकेर दर्बांग तिर दौडिए।  बाटोभरी बहिनीको अनुहार सम्झदै मनमा अनेक सोच अाउन थाल्यो । उनी मरिसके कि  जिँउदै होलिन् ? चर्को घाममा धुलो उडाउंदै एक्लै दौडिरहेको थिए। बीचबीचमा त्यो भाइलाई मैले कल गरिरहन्थे तर उसले पनि गाडी भेट्टाएको रहेनछ।

दिउँसोको २ बजेर ५२ मिनेटमा भने भाइको कल अायो, “गाडी पाइयो”। उनीहरु भर्खर सबै गाडीमा चढेछन्। अझै पनि  बहिनीको साल निस्कन सकेको रहेनछ र अवस्था झन् खराब हुदै गैरहेको थियो। त्यसको करिब ४५ मिनेट पछि पारी पट्टि उनीहरुलाई गाडीमा  गैरहेको देखे तर त्यतिबेला म वारिपट्टि पैदल मार्गमा हिंडिरहेको थिए। अझै पनि उनीहरु दर्बांग पुग्न टाढै थियो जहाँ सामान्य उपचार मात्र सम्भव थियो नत्र भने म्याग्दीको सदरमुकाम बेनी नै पुग्नु पर्दथ्यो, जहाँ पुग्न दर्बांग बाट थप गाडीमा ४  घण्टा लाग्दो रहेछ। बाटोमा हिडीँ रहँदा मेरी आमालाई सम्झेँ। उहाँले पनि ४-४ पटक यस्तै पिडा सहेर हामी ४ छोराछोरीलाई जन्म दिनुभा होला । मनमनै प्रार्थना गरे “हे भगवान्, मेरो दिदीबहिनीले यी बहिनीले जस्तो  दु:ख कहिल्यै पाउन नपरोस् !”

बाटो भरि त्यो बहिनीलाई के भयो होला भन्ने खुल्दुली भैरह्यो। त्यस भाइलाई फेरि  एकचोटी कल गरे तर फोन कल लागेन।अनि बेनी बाट काठमाडौँको बस चढेँ। मेरो पनि मोबाइलको ब्याट्री सकियो। भोलि बिहान पुनः काठमाडौँ आएर कल गर्न खोजे तर त्यो नम्बरमा “सम्पर्क हुन सकेन” भन्ने मात्र अायो। बच्चाको अवस्था के भएको होला ? म अझै सम्पर्क गर्ने प्रयासमै छु। मन बेचैन छ।

म काठमाडौँमा देख्छु गल्ली गल्लीमा क्लिनिकहरु, अस्पतालहरु। अझ सुन्छु नयाँ नयाँ  शिक्षण अस्पताल यही नै खोल्न सरकार तम्‌तयार छ।  खोई त म्याग्दीमा यस्ता अस्पताल? के त्यहाँका बिरामी बिरामी होइनन् ? के त्यहाँ शिक्षण अस्पताल खोलेर राहत दिन सकिन्न।  भरखरै म डक्टर गोविन्द केसीलाई भेटेर आएँ । म मात्र होइन उहाँले पनि यही सोध्दै हुनुहुन्छ तपाईँलाई अाज।  खोई अस्पताल ग्रामीण इलाकामा , खोई स्वास्थ्यको शिक्षा पहुँचबाट बञ्चित गरिब जनता मुखी?

यदि नेपालका अाम जनताहरु कै लागि अस्पताल खोल्ने हो भने फुलबारी जस्ता देशका कयौँ ठाँउमा शिक्षण वा कुनै पनि अस्पतालहरु बनाउने नीति ल्याए कसो होला? जहाँ यौटी महिला सुरक्षित सुत्केरी हुन नसकी जीवन-मरणको परिस्थितिमा हुन्छिन् , जहाँ झाडा-पखालाले जनताहरु मर्न बाध्य हुन्छन्, त्यहाँ सरकार पुग्ने कि काठमाडौँमा नाचि राख्ने?

यदि नेपाल हाम्रो पनि हो भने स्वास्थ्यका सबै सुविधाहरु किन काठमाडौँ मै मात्र केन्द्रित गर्नुहुन्छ? मलाई होईन त्यो सुत्केरी बहिनीलाई जवाफ दिनुहोस्।

म अाज सोच्न बाध्य छु – के यहाँ दुई वटा नेपाल छ? एउटा नेपाल जहाँ दिन कटे पछि पनि अाधारभुत स्वास्थ्य पाउन असम्भव छ अनि अर्को नेपाल जहाँ १० मिनेटको बाटोमा अस्पताल वा क्लिनिक लाईन परेका छन् ।

वाह सरकार वाह !

Why do we need to save Nepal's health care -  ( by Dr Govinda KC ) (13)

graphnepal.com


लेखक: सन्तोष भण्डारी,
विद्यार्थी, रत्न राज्य क्याम्पस
विवेकशील नेपाली सदस्य
email: [email protected]