कस्तो सिद्धान्तले २१ औं शताब्दीमा संमृद्ध नेपाल बनाउने शक्ति हाँक्नेछ?

ideology image pragmatic reforms

विवेकशील नेपालीको अध्ययन टोलीले दलको आरम्भ अगावै देखि नै ‘नेपालीको सपना के हो र त्यो कसरी हासिल हुन्छ?’ भन्ने प्रश्नको सेरोफेरोमा काम गर्दै अाएको छ। हामीले हिमाल देखि पहाड र फाँट सर्वत्र फैलिएका घरआँगन चहार्यौँ र विविध क्षेत्रका मानिसहरुको राय लियौँ। मुलुकबाहिर रहेका नेपालीहरुसंग पनि परामर्श गर्यौँ र तत्-पश्चात एउटा निचोडमा पुग्यौं।

विभिन्न अाम मानिससँगको उठबस, भलाकुसारी, बहस, छलफलले के देखायो भने नागरिक, समाज र राज्य बीचको अन्तरसम्बन्धले नै देशको विगत, वर्तमान र भविष्य निश्चित गर्दोरहेछ। अर्थात् नागरिक, समाज र राज्यबीच अन्तरनिर्भरता हुन्छ र यी एक अर्काका परिपूरक हुन्छ। जति पनि राष्ट्रहरुले विकासमा फड्को मारेका छन्, तिनमा यी तीनै शक्ति बीच सहकार्य, सहअस्तित्व र सन्तुलन हुन्छ। जुन राष्ट्र पिछडिएका छन् त्यहाँका नागरिक, समाज र राज्यबीच पर्याप्त सहकार्य, सहअस्तित्व र सन्तुलन हुदैन।  विडम्बनाको कुरो, पछिल्ला केही शताब्दीमा हाम्रो नेपाल अाफै पिछडिएका राष्ट्रको उदाहरण बनेको छ।

जब नेपाली समाजले ठीक र बेठीक नछुट्याई देखावटी अल्पकालीन हितलाई प्राथमिकता दिन्छ तब समाजमा सत्य र असत्य, ठीक र बेठीक बीच अन्तर बढ्दै जान्छ। समाजले यदि सामाजिक हितभन्दा व्यक्तिगत हितलाई मात्र प्राथमिकता दिन्छ भने त्यो समाजका अधिकांश सदस्यले त्यही बाटो रोज्छन् जसले गर्दा व्यक्तिमा छिटो भन्दा छिटो अाफु मात्र शक्तिशाली बन्न सकियोस्। यो होडबाजीले गर्दा धेरै नागरिक इमान्दारको तारिफ भन्दा भ्रष्टहरुलाई फूलमाला लगाउन तर्फ लाग्छन्, जस अनुरुप समाजबाट इमान्दार विस्थापित हुन्छन् अनि बेइमानको बोलवाला हुन थाल्छ। अन्तत: समाज सु-संस्कार विहीन यथास्थितिवादी भीड बन्न पुग्छ।

अहिले नेपाली नागरिक अाफै आफ्नो भविष्यको बारेमा अस्पष्ट छ किनकि उसको जीवन रोजीरोटी कै भूमरीमा फंसेको छ। पानी, बिजुली, शिक्षा, सुरक्षा, जागिर जस्ता आधारभूत आवश्यकताकै सेरोफेरो र प्रशासनिक हण्डर खाँदाखाँदा उ गलेको छ जसका कारण समाज र राज्यप्रति उसमा चरम वितृष्णा जागेको छ। त्यसैले उ अाफ्नो नागरिक दायित्वबाट टाढिएको छ। बर्तमान बेथिति त बिगतको पुस्ताले गर्दा हो यसलाई उसले नै किन सफा गर्नु पर्ने भन्ने जस्ता मानसिकता दृढ भएर गएको छ। त्यसैले बाध्यतावश उसले परिवर्तन होइन पलायनको बाटो रोज्नै परेको महशुस गर्छ।

राज्य, जसलाई सरकारको आवरणमा राजनीतिक दलले प्रतिनिधित्व गर्ने गर्छ, अहिले उ समाज र नागरिकको होइन अाफ्नै नेतृत्ववर्गको हित मात्र सोच्छ। राज्यलाई जवाफदेही र जिम्मेवार बनाउने कार्य न समाजले गरेको छ न त नागरिकले नै। धेरै नागरिकले सुझबुझ भएर होइन कि व्यक्तिगत पहुँच, स्वार्थ पूर्ण लेन देन को सम्बन्ध र लहै-लहैमा मतदान गर्दछन। राज्यले चाहेर पनि राम्रो शासन गर्न सक्दैन किनकि समाज र नागरिकले जानेर या नजानेर अधिकांश बेइमान र असक्षमलाई नै राज्य चलाउने ठाउँमा पुर्याएका हुन्छन्।

केही व्यक्तिको गलत निर्णयमा धेरै व्यक्ति मौन रहे भने सामाजमा नकारात्मक मूल्य-मान्यता स्थापित हुन्छ। सो नकारात्मक मूल्य-मान्यताले समग्रमा गलत नजिर स्थापित गर्छ र राज्य संचालनमा सकारात्मक भन्दा नकारात्मक व्यक्ति पुग्छन् अनि नराम्रा निर्णय नै गर्छन्। अन्तत: नराम्रा निर्णयका नराम्रा परिणाम फेरि स्वयं नागरिक र समाजले नै भोग्छ र यो चक्रव्यूह कसैले भंग नगरेसम्म चली नै रहन्छ।

अबको बाटो:

राज्यले नागरिक र समाजको कुनै पनि माग सम्बोधन गर्दा सर्वप्रथम यी दुई बीच सह-अस्तित्व, सन्तुलन र सहकार्य चाहिन्छ। नागरिक र समाजबीच अटुट अन्तरसम्बन्ध छ। केही नागरिक सक्षम भएर मात्रै समग्र समाज सक्षम बन्दैन। अनि समाज सक्षम बन्दैमा सबै नागरिक सफल हुन्छन् भन्ने पनि कदापि होइन। यस्तो अवस्थामा दुबैको हित गर्न राज्य वा अर्को शब्दमा सरकारले यस्तो अवधारणा विकास गर्छ जसमा नागरिक र समाज दुबै समेटिनछ र सहयोगी हुनेछ। मूलत: यस्तो अवधारणा राजनीतिक दलहरुले नै प्रस्तुत गरेर त्यसै बमोजिम काम गर्न सरकारको नेतृत्व गर्ने गर्छन्।

संमृद्ध नेपाल बनाउने क्रममा राज्यले नागरिक र समाज दुबैको हितलाई सन्तुलित र सुधारोन्मुख तरिकाले अगाडि बढाउनै पर्छ। समय अनुसार आउने नयाँ विचार र व्यवहारका कारण समाज र नागरिक सदैव परिवर्तनशील छन्। उदाहरण, केहि दशक अगाडी सम्म अधिकांश नेपालीको सोच र चिन्तनलाई घरका मुली, शास्त्रीय अनि धार्मिक कुराहरुले नियन्त्रण गर्दथ्यो। आज परिस्थति बदलिएको छ बिश्व एउटै विशाल गाउँ बन्दै गई रहेको परिपेक्षमा हाम्रा अपेक्षा, क्रियाकलाप र विचारलाई संसारका बिभिन्न अर्थतन्त्र, वातावरण, अवसर जस्ता बिबिध परिवेश ले नियन्त्रण गरि रहेको छ। यहि क्रममा राज्य पनि परिबर्तित हुन्छ र आफुलाई समाज र नागरिकका अपेक्षा र विचार संग मिल्दो जुल्दो रुपमा प्रस्तुत गर्दै जान्छ। यहि तरिकाले राज्यद्वारा नागरिक र समाज बीचको सहकार्य, सह-अस्तित्व र सन्तुलन प्रयोगमा ल्याउँछ।

२१ वौँ शताव्दी सापेक्ष सिद्धान्त

विवेकशील नेपालीले राज्यले जन अपेक्षा अनुरुपको समय सापेक्ष भूमिका अवलम्बन गर्दै राष्ट्रलाई शान्त र समृद्ध बनाउन नागरिक र समाज दुबैलाई बिकासको पर्याप्त अवसर दिनुपर्छ भन्ने मान्यता राख्दछ। यसमा राज्यको भूमिका समन्वयकारी र सहयोगी हुन्छ। शान्त र संमृद्ध नेपाल बनाउने उद्देश्य हासिल गर्न राज्यले सुधारमा आधारित मध्यममार्ग अवलम्बन गर्नुपर्छ।

ideology image pragmatic reforms

  1. राज्य नागरिकहरूको पूर्ण सहभागितामा आधारित जन-उत्तरदायी लोकतान्त्रिक शासन प्रणालीमा प्रतिबद्ध रहन्छ।
  2. राज्य नागरिक सर्वोच्चतामा अडिग कानुनी राष्ट्र (समाज) बनाउन प्रयासरत रहन्छ।
  3. राज्यले व्यक्तिगत स्वतन्त्रताको प्रत्याभूति गर्दै सामाजिक कल्याणबाट निर्देशित हुन्छ।
  4. राज्यले समाजलाई संमृद्ध बनाउने कार्ययोजना अन्तर्गत हरेक व्यक्तिलाई अवसरमा समान पहुँच दिलाउँछ।
  5. राज्यले समाजको माध्यमद्वारा नागरिकलाई जिम्मेवार बनाउने प्रणाली चलाउँछ र नागरिकको माध्यमद्वारा समाजलाई जवाफदेही बनाउँछ।
  6. समाजले नागरिकको विकासमा सहयोग र राज्यको विकासमा नियन्त्रणकारी भूमिका खेल्छ भने नागरिकले राज्य चलाउने नेतृत्वको सही चयनद्वारा समाजलाई नियन्त्रणमा राख्दछ।
  7. राज्यले सु-संस्कृत राजनीतिक व्यवहारको संस्कार आरम्भ गर्दछ। राज्यको राजनीतिक चिन्तनलाई नैतिक तवरले व्यवहारमा उतार्नको लागी समाज र व्यक्तिले निगरानी गरिराख्छ।

 

हाम्रो खोज र प्रयोगबाट निस्केको नेपाली नागरिक र समाज बीच सन्तुलन, सहअस्तित्व र सहकार्यद्वारा शासन चलाउने ‘मध्यम-मार्गी’ शिद्धान्तलाई हामीले “समयसापेक्ष सुधारमार्ग’ नामाकरण गरेका छौँ। समयसापेक्ष सुधारमार्गले २१ औं शताब्दीमा नेपाललाई शान्त र संमृद्ध बनाउने मार्ग देखाउँछ भन्ने निश्कर्षमा पुगेका छौँ। सन्तुलित र समावेशी विकास चाहने अबको कुनै पनि शक्तिले यही मध्यम-मार्गमा हिँड्नेछ भन्ने हाम्रो ठम्याई छ।

२१ औं शताब्दी सापेक्ष राज्य प्रणाली यस्तो हो जसले नागरिक र समाजलाई सन्तुलनमा राखी अगाडि बढाउँछ, दुबैको अस्तित्वको रक्षा गर्छ अनि दुबै बीच निरन्तर सहकार्य गराइराख्छ।

‘सहकार्य, सह-अस्तित्व, सन्तुलन’
नागरिक र समाज बीच राज्यको व्यवस्थापन
२१ औं शताब्दी सापेक्ष मध्यम-मार्ग
‘समयसापेक्ष सुधारमार्ग’

लेखक- गोविन्द नारायण र उज्वल थापा  विवेकशील नेपाली दलका नेतृत्व पंक्तिमा छन्। सुझावका लागि ईमेल: [email protected]