शान्त र समृद्ध राष्ट्रका अाधार के हो २१अौँ शताव्दीमा?

पुँजीवादी राज्य बनाउने कि समाजवादी राज्य? कल्याणकारी राज्य कि साम्यवादी राज्य? बिगत दुई दशक भन्दा बढिका प्रतक्ष प्रजातान्त्रिक अभ्यासमा यो देशमा कस्तो राज्य व्यवस्था बनाउने भन्ने विवादमा नै नेपाली राजनीति रुमल्लिई रहेको देखियो। २१ अौँ शताव्दीमा के अब पनि नेपाली राजनीति व्यवहार केन्द्रित नभई, यस्तै राज्य बनाउने वा उस्तै राज्य बनाउने भन्ने सवाल मै सिमित रहने हो त? राज्य मात्र होइन, नागरिक कस्तो बनाउने, समाज कस्तो बनाउने वा सरकार कस्तो बनाउने यस बारे किन परम्परागत नेपाली राजनीतिक दलहरुले ध्यान पुर्याउन सकिरहेको छैनन्?

Read this article in English

नेपाल राष्ट्रको समुन्नतिका लागि राजनीतिले राजनीतिकै परिभाषा र व्यवहारलाई नै फराकिलो पार्ने साहस गर्नुपर्छ। अब राज्य मात्र होईन, नागरिक, समाज र सरकार सबैमा समयसापेक्ष रुपान्तरण गर्नु जरुरी छ। राज्य त घरको छानो मात्र हो, जग, भित्ता र भऱ्याङ्ग त नागरिक, समाज र सरकार नै हो, तिनैमा परिवर्तन नभई छानो कै मात्र कुरागर्दा सबथोक लथालिंग हुन्छ। बिगतको लामो राजनीतिक उतारचढावले एउटा कुरा प्रश्ट देखाएको छ कि अबको राजनीति नयाँ भएर मात्र पुग्दैन, यो नितान्त पृथक ढंगबाट अघि बढ्न सक्नुपर्छ। त्यसको लागि अबको राजनीतिले व्यवहार, मान्यता, संरचना र शिद्धान्त सबैमा २१ अौँ शताव्दी सापेक्ष राजनीतिक नविनता अपनाउनै पर्छ। यदि हाम्रै कालमा नेपाल लाई शान्त र समृद्ध बनाउने चेष्ठा लिने हो भने अबको नेतृत्वले राष्ट्रका निम्न चार प्रमुख खम्बाहरु: नागरिक (व्यक्ति), समाज, सरकार र राज्य सबैको रुपान्तरणलाई उत्तिकै महत्व दिनुपर्छ।

 

१) नागरिकलाई विवेकशील

२) समाजलाई उद्यमशील

३) सरकारलाई सेवक

४) राज्यलाई हितकारी

ideology to build a prosperous Nepal for newspaper

१)  विवेकशील नागरिक:

जब देशमा विवेकहिन व्यक्तिहरुकै बर्चस्व हुन्छ भने उनैले हाँक्ने समाज वा सरकार कसरी राम्रो बन्न सक्छ? अर्को तिर अन्याय सहँदै बस्ने व्यक्तिहरुबाट कस्तो राज्य निर्माण हुन्छ? जबसम्म २१ औं शताव्दीमा टिक्नको लागि चाहिने मानवीय मूल्यमान्यताको अभ्यास नेपाली नागरिक र परिवार भित्र न्यून रहन्छ तब सम्म हाम्रो रोजाई र व्यवहारले कालाबजारी, नाताबादी, कृपाबादी, भ्रष्टाचारी, वेमतलवी नेतृत्वलाई नै रोज्छ। त्यसको परिणाम लोकतन्त्रको नाममा लुटतन्त्र र सिन्डिकेट’ राज्य व्यवस्था हावी हुन्छ । त्यसैले नेपाललाई सक्षम राज्य बनाउन देशका अाम नागरिकमै केही अाधारभूत नैतिक मूल्यमान्यता बलियो बनाउनु अत्यन्तै जरुरी छ। जब प्राय अाम नेपालीमा के ठिक र के बेठिक छुट्टाउने विवेक जाग्छ र उहाहरुले त्यसलाई व्यवहारमै उतार्न थाल्नुहुन्छ तब नेपालीहरु विवेकशील बन्न थाल्छन्। यसका लागि नेपालीहरुले अाफु भित्र कम्तिमा पनि यी केहि मान्यताहरु बिकास गर्नु जरुरी देखिन्छ।

क) निष्ठा: व्यक्तिगत स्वार्थलाई मात्र प्रोत्साहन गर्ने अनि सामुहिक हित र सेवालाई तिरस्कार मात्र होइन निमोठ्नै खोज्ने अाजको नेपाली समाजलाई तुरुन्तै रुपान्तरण गर्नु जरुरी छ। यसो गर्न देशमा नागरिकहरु निष्ठावान बन्नु अपरिहार्य छ। कुनै पनि निष्ठावान नागरिक आफ्नो काम-कार्यप्रति पनि पूर्ण इमान्दार रहन्छ र नैतिकतामा अडिग रहि सत्यको पक्षमा निरन्तर पहल गरि रहन्छ। निष्ठावान नागरिक नै भ्रष्ट समाज सफा गर्ने माध्यम हुन्।

ख) पारदर्शिता: भ्रष्टाचारले नेपाली समाजमा नेतृत्व देखि अाम नागरिक सम्म क्यान्सर जसरी फैलिएको अवस्था छ। यस्तो सामाजिक क्यान्सर बिरुद्ध सबैभन्दा बलियो अस्त्र भनेकै हर एकमा पारदर्शिताको संस्कार स्थापित गर्नु पर्छ। अाफु पनि पारदर्शी हुने र अरुबाट पनि यहि अपेक्षा गर्ने सु-संस्कार नागरिकहरुमा बिकास गराउन सके समाजमा भ्रष्टाचारले जरो गाड्न गाह्रो हुन्छ। साथै भ्रष्टाचारकै कारक तत्वहरु टाढै बाट छर्लङ्ग देखिन थाल्छ। विवेकशील नागरिकहरु अाफ्ना कार्यहरुमा पारदर्शी रहन्छन्।

ग) उत्कृष्टता: अाफु पनि उत्कृष्ट बन्न कम्मर कस्ने अनि अरुको उत्कृष्टतालाई पनि उचित कदर गर्ने नागरिकले नै नेपालमा अात्मसम्मान, सहिष्णुता र समृद्धि भित्र्याउछँ। अहिले हरेक नेपाली भित्र नङ्ग्रो गाडेको नातावाद, कृपावाद, जातिय अहंकारवादका कुसंस्कारलाई उखेल्न “कर्म”लाई संस्थागत गराउनु जरुरी छ जसले गर्दा नेपाली समाज उत्कृष्टता, नविनता र श्रृजनशीलताको भरमा अडिग रहन्छ न कि वंश, नाता वा कृपावादमा।

घ) साहस: साहस बिना जति बुद्धिजीवी व्यक्तिले पनि अाफ्नो ज्ञानको सदुपयोग गर्न अाँट्दैन। अहिले नेपालमा यति धेरै अन्याय र अत्याचार देख्दा र खेप्दा पनि हामी प्राय चुपै छौँ। भएका विवेक पनि प्रयोग गर्ने साहस नहुदाँ पनि समाजमा भरिपूर्ण व्यक्तिगत रुपमा उत्कृष्ट नेपालीहरु सामुहिक रुपमा  सफल हुन सकेका छैनन्। सत्य स्थापित गर्न साहस नगर्नेहरु विवेकशील हुन् सक्दैनन् ।

ङ) समानुभूति: नेपालमा विविध उमेर, समुदाय, वर्ग, पेशा, लिङ्ग, भूगोल वा सोचका मिश्रणका भरमा नेपालीहरुले विविध पहिचान बनाएका छन्। यस्तो विविध सोच, विचार र धारणाले भरिएको नेपाली समाजमा एक-अर्काका सोच, विचार र व्यथालाई “समान” अनुभूति गर्न सक्ने समावेशी संस्कार हामीले बिकास गरे मात्र यो देश हाम्रै कालमा शान्त अनि समृद्ध देश बन्न सक्दछ। विविधताले भरिएको नेपालमा एक-अर्का प्रति समानुभूति बोक्न सक्ने ‘विवेकशील’ नागरिकले नै समाजलाई एक जुट राखी राख्न सक्छ।

च) विनम्रता: मै मात्र सक्छु, मैले मात्र जानेको छु, मेरै गोरुको बार्है टक्का जस्तो अहंले ग्रस्त नेपाली समाजलाई तह लगाउन यहाँ विनम्र नागरिक अगुवाहरुको अत्यन्त खाँचो छ। अाफु बारे कमै सोची अरुको बारेमा बढि सोच्ने, अाफु एक्लैले मात्र सकिन्न, अरु पनि चाहिन्छ भन्ने बिनम्रता जब अाम नेपाली भित्र ल्याउन सके मात्र अहिलेको स्वार्थीपनाले जरो गाडेको समाज क्रमश परोपकारी र राष्ट्र प्रेमी बन्दै जान्छ।

अबका चुनौती भनेकै यस्तै मुल्यमान्यता बोकेका सक्षम् र इमान्दार विवेकशील नागरिकहरुलाई अग्रपंगतीमा स्थापित गर्नु  हो।

२) उद्यमशील समाज:

परनिर्भरतामै रम्ने अाजको परजीवी नेपाली समाज, राष्ट्रकै लागि सकस बनेको छ। भनसुन र कृपाकै भरमा काम मिलाउने, घरका होनहारलाई लाहुरै पठाउनु पर्ने, चाकडीबाटै उत्तरोन्नति गर्नु पर्ने बाटाहरु नेपाली समाजले रुचाँउछ र स्विकार्छ। यहाँ एकातिर समाजसेवालाई नै गरि खाने भाडोँ बनाउनेहरु सबै भन्दा सम्पन्न कुलिनहरुमा गनिन्छन् भने अर्कोतिर देशमै गरि खान्छु भन्नेलाई ‘पागल’ कहलाईन्छन्। त्यसैले अब यस कुसंस्कार हावी समाजको बिकल्प भनेको यस्तो पृथक समाज हो जसले अात्मनिर्भरता, श्रृजनशीलता, साहसीपन, दृढता, स्वावलम्वीपन र सफलता लाई पुज्छ। नेपालमा यस्तो “उद्यमशील” समाज चाहिएको छ जसले उत्कृष्टता र योग्यतामुखी संस्कारलाई अात्मसात गर्दै अहिले व्याप्त नातावाद, कृपावाद, जातियवाद जस्ता कुसंस्कारको जरो उखेल्ने वातावरण बनाउँछ। उद्यमशीळ समाजले हरबखत हरेक नागरिकलाई स्वावलम्वी हुन प्रेरित गर्छ जसले जन्म, वंश वा जातको अाधारमा होईन कर्म, लगन र चरित्रका अाधारमा मुल्याङ्कन गर्छ। उद्यमशील समाज सदैव उत्कृस्टताका लागि सक्रिय रुपमा यथास्थितिलाई चुनौती दिई रहन्छ, जसले गर्दा समय सापेक्ष ज्ञान प्रयोग गरी समाजलाई सदैव रुपान्तरण गर्दै लान्छ जसले गर्दा राष्ट्र विकसित रहन्छ।यसले नेपालमै काम गरिखाने संस्कृति  र स्वावलम्वी संस्कारको श्रिर्जना गर्छ जसले नेपालबाट बिदेशिन बाध्य दशौँ लाख नेपाली दाजुभाई-दिदीबहिनीलाई देशमै अात्मनिर्भर बनाउँछ। अर्कोतिर यसले नेपाल छाड्न चाहने कयौँ भित्र यहि अाफ्नो खुट्टामा उभिन सकिन्छ भन्ने विश्वास जगाँउछ। नेपाल हाम्रो जन्मथलो मात्र नरहि कर्म थलो बन्न नेपाली समाज उद्दमशीळ समाज बन्नै पर्छ।

३) सेवक सरकार:

राणाकाल देखि अहिले सम्म हामीळे सरकार त धेरै भोग्य़ौँ, तन्त्र धेरै पायौँ, तर कहिल्यै पनि हामीले खोजेकै जस्तो सेवक प्रवितिको पाउन सकेनौ। लोकतन्त्रका ल्याउन लड्यौँ, लोकतन्त्रलाई व्यवहारमा ल्याउन तिर ध्यानै पुगेन। सरकारमा सेवा गर्न त धेरै नेतृत्व पुगे तर अधिकांश पेशा वा पुरस्कारको रुपमा लिई फर्क्यौँ। शक्तिमा पुग्न मरि-मेट्यौँ, तर पुगेपछि के गर्ने चालै पाएनौँ। नागरिकको लागि भन्दै शासन चलायौँ तर शासन टिकाउन मात्रै नागरिकलाई चलायौँ। सेवक सरकारको सपना अधुरै रह्यो। सेवक सरकार भनेको त जनमुखी, सेवा प्रदान गर्ने लोकतान्त्रिक सरकार पो हो। यसको प्रमुख जिम्मेवारी भनेकै हरेक नेपालीलाई समृद्ध हुने वातावरण बनाउनु हो । त्यसो गर्नको लागि सेवक सरकारले विधिको शासन सुनिश्चित गर्छ साथै राज्य र नागरिकहरूको प्रतिष्ठा पनि रक्षा गर्छ। सेवक सरकारले कानून र संविधानको सर्वोच्चतालाई कायम राख्दै उद्यमशील समाज निर्माणमा तल्लीन विवेकशील नागरिकहरुको भरपुर संरक्षण गर्छ। यसले हरेक गाउँ र शहरलाई आत्मनिर्भर वन्ने माहोल प्रदान गर्न स्थानीयकै स्वशासन स्थापित हुन्छ। चुस्त, उत्तरदायी एवं सेवादायी सरकारले व्यक्ति र समाज बीच जहिले पनि संयोजनकारी र सन्तुलित भूमिका निर्वाह गर्छ। त्यसैले नै अबको नेतृत्वले नेपाललाई २१ औं शताब्दी सापेक्ष राष्ट्रमा स्थापित गर्ने हो भने राष्ट्रमा सेवक सरकार स्थापित गर्नु अपरिहार्य हुनेछ।

४) हितकारी राज्य:

आधुनिक विश्वमा राज्य र नागरिक एकै सिक्काका २ पाता हुन्। य़ी एक अर्काका परिपुरक हुन् त्यसैले यी दुबैलाई संगै हेरिनु पर्छ। दुबैको एक अर्का प्रतिको मित्रवत सम्बन्ध लाई स्थापित गर्दै आफ्नो दायित्व र अधिकारलाई स्पष्ट रुपमा ब्याख्या र प्रयोग गर्न सके मात्र हामी आर्थिक र सामाजिक बिकास गर्न सक्छौ। जब राज्यले नागरिकलाई चाहिने सामाजिक र अार्थिक हित हुने खालको नीति निर्माण गरी सेवक सरकारद्वारा कार्यान्वन गराउँछ तब त्यो राज्य हितकारी राज्य बन्न थाल्छ। हितकारी राज्यले अवसरमा समानता स्थापित गर्दै  कुनै पनि नागरिकलाई चाहिएको बखतमा हित गर्न तयार हुन्छ र चुस्त तरिकाले मद्दत गर्छ। त्यसैगरी हितकारी राज्यले व्यक्ति र समाज दुवै बीच सन्तुलन, सहअस्तित्व, सहकार्यको वातावरण श्रृजना पनि गर्छ। यस्तो मध्यमार्गी बाटो लिएर हिडँने हितकारी राज्यले न त पूँजीको मात्रै पुजा गर्ने व्यक्ति-केन्द्रित पूँजीवादी राज्यमा सिमित हुन्छ, न त देशको श्रोतले धान्नै नसक्ने वितरणमुखी  साम्यवादी राज्यमा अडिग रहन्छ। हितकारी राज्यमा आम नागरिक राष्ट्रिय हितलाई महत्वका साथ लिन्छन र सो हासिल गर्न आफ्नो भूमिका निर्वाह गर्छन्, त्यस्तै राज्यले पनि व्यक्तिगत हित र स्वतन्त्रताको सुनिस्चितता गर्छ।

                 यसरी माथी उल्लेखित तरिकाले व्यक्ति, समाज, सरकार अनि राज्यमा सकारात्मक हस्तक्षप गर्दा यस्तो नेपाल राष्ट्रमा रुपान्तरण हुदैँ जान्छ जहाँ एकातिर नागरिकहरु जिम्मेवार बन्दै जान्छन् भने अर्को तिर नेतृत्व जवाफदेहि (उत्तरदायी)। यस्तो नेपालमा एकातिर कर्मठ नेपालीहरु समृद्धिको मार्गमा लम्कन्छन् भने अर्कोतिर त्यसको लागि चाहिने व्यक्तिगत स्वतन्त्रताको ढुक्क भई उपयोग गर्छन्। यस्तो नेपालमा एकातिर नागरिकहरु सशक्त बन्दै जान्छन् भने अर्कोतिर सरकार हरेक तहमा चुस्त र सेवादायी बनाईदैँ जान्छ। यस्तो नेपालमा विविधतालाई अात्मसात गर्दै नेपालीहरु समावेशी हुदैँ जान्छन् भने अर्को तिर २१अौँ शताप्दी सापेक्ष लोकतन्त्र स्थापित गर्न देश चलाउने प्रणालीहरुलाई खुला र सुधार गर्दै लान्छन्। यसरी नेपाल हाम्रै कालमा शान्त र समृद्ध राष्ट्र बन्छ।
अर्थविदहरुले सन् २०५० सम्ममा विश्व कै पहिलो समृद्ध राष्ट्र चीन र तेस्रो भारत बन्ने अनुमान गरेका छन्। केहि दशकमै यतिविन समृद्ध हुने छिमेकी बीच भएकोले यो सम्भावना र चुनौती दुवैका लागि तयार रहन अब हामीले माथी उल्लेखित मार्गहरु द्वारा राज्य मात्र होईन व्यक्ति, समाज, सरकार मै अामुल रुपान्तरण ल्याउनु पर्छ। त्यसैले अाउनुहोस् अाजै देखि नागरिकलाई विवेकशील बनाअौँ, समाजलाई उद्यमशील, सरकारलाई सेवक अनि राज्यलाई हितकारी! शान्त र समृद्ध नेपाल हाम्रै कालमा सम्भव बनाअौँ!

Read this article in English