संविधान बन्यो, अब नेपालमा कस्तो नेतृत्व चुन्ने?

संविधान कागजमा लेखिएको केही यस्ता अक्षरहरु हुन् जुन व्यक्तिगत रुपमा कसैका लागि जीवनकै मार्ग दर्शक हुन सक्छ त कसैको लागि मूल्यहीन तर एउटा राष्ट्र चलाउनको लागि विधिको शासनको लाल पूर्जा हो। नेपालको सन्दर्भमा जनताले चुनेका प्रतिनिधिहरुको बहुसंख्यक मतले तयार पारेको संविधानलाई सजिलै नकार्न सकिँदैन तथापि यसमा पर्याप्त समय सापेक्ष परिमार्जनको आवश्यकता परि नै रहनेछ र हुदैँ गर्नेछ।

नयाँ संविधानको भविष्य अब पूर्णत हाम्रै विवेककै प्रयोगमा भर परेको छ। संविधान अकाट्य होइन, यसलाई समयसापेक्ष सुधार गर्दै लान सकिन्छ। त्यसैले बनेको संविधानलाई अब कसरी नैतिक रुपमा कार्यान्वयन गर्ने बारे सोचौं र सुधार गर्दै देशलाई संमृद्ध बनाउने बाटो तिर लम्कौँ ।

मैले र शायद धेरै नेपालीले बुझेको संविधानको मूल मर्म भनेको हरेक नेपालीलाई संमृद्ध र सम्मानित बनाउनु हो। एक संमृद्ध नेपाली सम्पन्न मात्र होइन, आत्मसन्तुष्ट पनि हुन्छ। यस संविधानले हरेक नेपाली परिवारको लागि सन्तुष्ट, सम्मानित, सार्थक अनि सम्पन्न बन्ने मार्ग बनोस् भन्ने मेरो शुभकामना छ।

हाम्रो नयां संविधानलाई कागजको लिपिबद्द अधिकारबाट अब व्यवहारमा परिणत गर्नु हरेक आम नागरिक र राज्य दुवैको प्रमुख दायित्व हुनेछ। हामीले प्राप्त गरेको नयाँ संविधानको सही प्रयोग गर्दै नेपाललाई कसरी संमृद्ध बनाउने त? अबको मूल प्रश्न यही हो। उत्तर हो संविधानको सदुपयोग गर्ने सहि नेतृत्व।

यहि संविधानको अाडमा अब कस्तो नेतृत्वले नेपाललाई संमृद्ध बनाउँछ त?

१) स्थानिय नेतृत्व:

हामीले संविधान ल्याउने नेतृत्वलाई धन्यवाद दिनु पर्छ। साथै अब हामीलाई लोकतन्त्र बलियो बनाउने र आम सर्बसाधारणको आशा अनि आकांक्षा पुरा गर्न सक्ने स्थानिय तहमा नेतृत्वको अावश्यकता छ। त्यसैले संबिधान बलियो बनाउन पहिलो काम हामीले स्थानिय शासनलाई तुरुन्तै बलियो बनाउनु पर्छ। त्यसको शुरुवात स्थानिय निर्वाचनबाट हुन्छ । यसले देशलाई चाहिने नेतृत्वहरुको विऊ पनि रोप्छ। राज नेताको बिकास गर्ने जरो स्थानिय तहबाटै शुरु हुन्छ। यसले टोलमा, गाँउमा, शहरमा संमृद्ध समाजको लागि चाहिने विधिको शासन स्थापित गर्छ – ढुक्क भएर काम कारवाही गर्न बलियो आधार दिन्छ।

२) २१ वौँ शताव्दी सापेक्ष नेतृत्व:

संसार भरि असंख्य नेपालीले एक्ला-एक्लै उदाहरणिहय काम गरि रहेका प्रमाण धेरै छन्। उनीहरुका यी अपार सीपलाई कसरी संमृद्ध देश बनाउन तर्फ जोड्ने अब हाम्रो प्रमुख चुनौती यहि नै हो। संसारभर छरिएको नेपाली दक्षतालाई नेपालको संमृद्धि ल्याउन उपयोग गर्नु हाम्रो रास्ट्रिय प्राथमिकता हुनु पर्दछ। त्यसको लागि चाहिन्छ बिकासोन्मुख नेतृत्व जसले २१ वौँ शताव्दीको विश्व अनुभव पनि गरि सकेको छ र नेपाललाई त्यसै तर्फ लान सक्ने दृढ मार्गदृष्टि बोकेका हुन्छन्।

अब नेपाललाई विश्वसँग जोड्न सक्ने नेतृत्वको खाचोँ छ। नेपाल अब भारत र चीनबीचको विश्वास र बिकासको पुल बन्नु पर्दछ। हामी सँग विश्वको केन्द्र बिन्दु बन्न सक्ने पर्याप्त आधारहरु छन्। हामी २०३० मा बिकास्नोमुख मुलुक अनि २०५० सम्म बिकसित मुलुक बन्ने लक्ष्यका साथ अगाडी बढ्नु पर्दछ।  त्यसको लागि हामीलाई अव्वल कुटनितिक राजनेताको खाँचो छ। युवा पुस्ताले यस्तो नेतृत्व बन्ने महत्वकाक्षा राख्नु पर्दछ जसले देश भित्र मात्र होईन छर-छिमेक र अन्तराष्ट्रिय स्तरमा समाधानका बाटाहरु बनाउन सकुन्। नेपालको रक्षा अन्तराष्ट्रिय सम्मानबाट बढि गर्न सकिन्छ भन्ने कुरा बुझेका नेतृत्वले नै यो देशलाई सार्वभौम राखी राख्न सक्छ।

३) विविधतामा फस्टाउने योग्यतामुखी नेतृत्व:

संविधानलाई सार्थक बनाउने हो भने हाम्रो विविधता बिच एकता मात्र होईन सहअस्तित्व, सहकार्य र सहअनुभुति पनि हुनै पर्छ। यी समतामुलक संमृद्धिका अाधारहरुले हरेक जात-भेष र बर्गका नेपालीको परिवारलाई सम्पन्नताको आभाश गराँउछ। एक समतामुलक संमृद्ध नेपाली समाजले नै बिभेदलाई चिर्न सक्छ। जब हामी नेपाली संमृद्धि तिर उन्मुख हुदैँ एक योग्यता मुखी समाज बनाउने बाटोमा लाग्छौँ तब मात्र हामीले नया संविधानको सुगन्ध सुघ्न पाँउछौँ। यसको लागि हरेक नागरिकले अाफ्नो हकका साथ अाफ्नो दायित्वको पनि पालना गर्नु उत्तिकै जरुरी हुन्छ। हाम्रो चालचलन, रिति-रिवाज जति नै विविध रहे पनि हाम्रो मुल संस्कार एउटै हुनु पर्छ – नेपालमा दायित्व बोध, अापसी-हित, भाईचारा र संमृद्ध बनाउने वातावरणको सदैव रक्षा गर्ने। यस्तरी नेतृत्व गर्न सक्ने नै अहिले देशको माग हो।

त्यसैले अाउनुहोस् – संविधानलाई अब व्यवहारमा उतारौँ । संविधान ल्याउने नेतृत्वलाई धन्यवाद दिँऊ। यसलाई संस्थागत गराउने, संमृद्ध समाज बनाउन सक्ने, २१ वौँ शताव्दी सापेक्ष नेतृत्व बनौँ र  बनाअौँ। नत्र भावी पुस्ताले तपाईँ-हामी सबैलाई धिक्कार्नु बाहेक केहि गर्ने छैन। अब बाहना बनाउने दिन गए। आफु भित्रको विवेक जगाउने दिन आए। संविधान सुधार्दै लान – देशलाई सुधार्न सक्ने नेतृत्व बनाउन थालौँ।  

२१ शताव्दीमा हिँडिरहेको विश्व सँगै चल्ने हो भने नेपालमा लोकतन्त्र ल्याउने नेतृत्वलाई अब बिश्राम दिई लोकतन्त्र संस्थागत गर्ने २१वौँ शताव्दीको नेतृत्व बनाअौँ।


सेतोपाटी पत्रिकामा यसको पुरानो संस्करण