देशको लागि रुनु भा छ?

English Version here.
लेखक: बान व्हिइ मिन, १५ बर्षिय बिद्यार्थी, हानकुक बैदेशिक शिक्षा एकेडेमी, दक्षिण कोरिया,
नेपालीमा अनुवाद:  उज्वल थापा र बिजय सिवाकोटी

 नेपालीहरु खाली कुरा मात्र काट्छन् , यो देशमा यस्तो भएन, उस्तो भएन । कहिले जातिय भेदभाव भयो भनेर कराँऊछन् त कहिले भ्रष्ट कर्मचारीहरुले पैसा खाए, देश बरबाद भयो भन्दछन् । आफ्नै सरकारसँग रिसाउँछन् अनि दोश जति सबै, नेताहरुलाई दिन्छन् । तर कहिल्यै तपाई‌ले राम्ररी सोच्नु भाछ कि नेपालको मुलधार समस्या के हो? अँह। मेरो बिचारमा तपाईले सोच्नु नै भा छैन ।  म त के भन्छु भने नेपालको मुल समस्या भनेको यहाँका मानिसहरुमा देश भक्तिको भावना नै छैन । यहाँका मानिसमा एक-अर्काप्रति माया भन्ने नै छैन । यो निष्कर्ष, म यहाँ मातातीर्थको एउटा स्कुलमा स्वयंसेवक भएर काम गर्दा निकालेको हुँ ।

cryingfornepal

जब तत्कालीन राष्ट्रपति पार्क जुङ्ग हीले त्यहाँको सरकार सम्हाले, कोरियामा न त कसैले बैदेशिक लगानी नै गर्थे वा कुनै सहायता नै दिन्थे।   यस्तो बेलामा कोरियाले आफ्ना धेरै कामदारहरुलाई बिदेश काम गर्न पठाए।

त्यति खेरको पश्चिम जर्मनीमा काम गर्न ओईरिए धेरै कोरियानहरु। उनीहरुले कमाएर पठाएका पैसाले कोरियामा कल कारखानाहरु बन्न थाले र कोरिया बिस्तारै अगाडि बढ्न थाल्यो। १९६४ मा जब राष्ट्रपतिले जर्मनी भ्रमण गरे, त्यहाँका कोईलाखानीमा काम गरिरहेका कामदारहरुले उनलाई टोलाएर सोधे, “हामी कहिले धनी हुन्छौं? बताईदिनुहोस् न!“ उनले आँखा भरि आँसु बोकी रुदैँ उत्तर दिए, “कुनै दिन, कुनै दिन अवश्य धनी हुन्छौं । “सर्वप्रथम त म मेरो देश कोरियाको बारेमा केही भन्न चाहन्छु जसले गर्दा तपाईहरुलाई मेरो विचार बुझ्न सजिलो हुन्छ । झण्डै साठी बर्ष अगाडि कोरियाली महायुद्ध सकिंदा पचास लाख भन्दा बढी कोरियालीहरु मारिए र कोरिया बिश्वको सबैभन्दा गरिब मुलुकमा गनिने थियो। हामीसँग प्राकृतिक श्रोतहरु नै थिएनन् र हाम्रो देश एकदम कठीन अवस्थामा गुज्रिरहेको थियो । त्यसमाथि सरकारी कर्मचारीहरु एक नम्मरी भ्रष्ट थिए । हाम्रो समाज पनि दिन-प्रतिदिन गनाउँदै गैरहेको थियो। हामी दुई दर्जामा बिभाजित थियौं याङबान (माथिल्लो बर्ग) र साँगनोम (तल्लो बर्ग) । त्यति बेला कोरियालीहरु जापान, ताईवान, नेपाललाई हेरेर ईर्स्या गर्थे। हामी बाँच्नको लागि जे गर्ने पनि तयार थियौं ।  यस्तो कठोर समयमा कोरियालीहरुले अब हामी समृद्ध हुनुपर्छ भनेर समाजको यो विभाजनहरु त्यागेर देशलाई अग्रगांमी बिकास तर्फ धकेल्न कोशिश गरे ।

यसरी अमेरिकामा बसी आएका धेरै कोरियन वैज्ञानिक  र ईन्जिनियरहरु पनि बिस्तारै कोरिया फर्कन थाले केवल एउटै सोच बोकेर, “कसरी आफ्नो देशलाई बलियो र धनी बनाउने”। अमेरिकामा पाउने पारिस्रमिकभन्दा धेरै कम पाए पनि उनीहरु जोडतोडका साथ कोरियामै काममा अगाडि लागिरहे। देश उनीहरुले आफ्नो लागि मात्र होइन, आफ्नो भविष्यका कर्णधारहरुको लागि पनि बनाउनु पर्छ भन्नेमा विश्वास गर्थे । मेरो बाबु-आमाका जमानाका कोरियनहरु सबैले आफ्नो परिवार र देशको लागि ठुलो त्याग गरे । दिनहुँ १४ घण्टा कठोर काम गर्थे। आमाहरु आफ्नो बच्चालाई दुध खुवाउँदै कल-कारखानामा काम गर्थे । आफ्ना बच्चालाई कसरी कडा मिहेनत गर्नुपर्छ भनेर सदैव पाठ सिकाई राख्थे । यसैको ज्वलन्त परिणाम अहिलेको समृद्ध कोरिया नै हेर्नुहोस्।

 

ए नेपाली हो, के तपाईंले आफ्नो देशको लागि रुनु भा छ ? मैले त सुनेको छु नेपाली युवाहरुमा देशप्रति माया नै छैन। मैले यो पनि सुनेको छु उनीहरु नेपालबाट सधैँको लागि छोडेर जान चाहन्छन् किन कि उनीहरु या त यहाँका जात-भात मन पराउँदैनन वा यहाँको गरिबीबाट भाग्न चाहन्छन्, वा यहाँ आफ्नो भविष्य देख्दै देख्दैनन्। तर यसो सोच्नुहोस् त, तपाईँहरु कुरा काट्दै वा देशको वास्ता नगरी तर्किदैँ गर्नु बेश कि आफै अगाडि लम्केर देशको सेवा गर्नु।

मेरो एउटा सपना छ, म कुनै दिन पिडा बोकेका मानिसहरुलाई यो चरम गरिबी, भोकमरी, यथास्थितिका  चलन हरुबाट मुक्ति दिनसक्नेछु।  नेपालको बास्तबिकता आफ्नै आँखाले देखेर मेरो यो बिश्वास अझ बलियो बनेको छ।

जहाँ एउटा रोगको चपेटामा परेको बच्चासँग ओखती किन्ने पैसा छैन, ऊ झोपडीमा बस्छ र स्कुल जाने अवसर कहिल्यै पाउँदैन। जहाँ एउटा बिधार्थी जति पढे पनि सफल हुन सक्दैन, आफ्नो जात वा गरिबीले गर्दा। यस्तो समाज जहाँ एक आमाले आफ्नो बाल-बच्चाको हेरबिचार मात्र होइन, खेतमा दिनभरि काम गर्नु पर्छ जब कि उता उनका श्रीमान् चाहिँ केही नगरी चाहारेर हिंडछन्, यस्तो समाज जहाँ एक ५ बर्षिया नाबालाक आफ्नो पेट पाल्न ईट्टा भट्टीमा दिनभरि ईट्टा बनाउन बिवश छिन् ।

नेपालको बास्तबिकता हेर्दा त मलाई कहाली लाग्छ तर यसैबाट मेरो बिश्वास अझ दृढ बनेको छ । मलाई थाहा छ धेरै नेपाली हिन्दु धर्मावलम्बी हुनुहुन्छ । तर यदि तपाईंले अहिल्यै नै कुनै ठोस कदम उठाउनु भएन भने तपाईंका करोडौं भगवानहरुलाई जति पुजे पनि मतलब छैन। पुजेर होइन गरेर खुशी हुन्छन् तपाईंका भगवानहरु।

नेपाल र तपाईंको भविश्य सुनिश्चित पार्नका लागि आजको आवश्यकता भनेको केही गर्नु नै हो । तपाईंले जसरी भगवानप्रति माया र भक्ति देखाउनु हुन्छ, त्यसरी नै आफ्नो छिमेकी र देश प्रति पनि देखाउनुहोस् अब। तपाईंलाई थाहा नै छ तपाँईका भगवानहरु खुशी तब हुन्छन् जब तपाईं आफै यो देशको बिकास र समृद्धिमा लाग्नुहुन्छ ।

त्यसैले बिन्ती गर्छु, आफ्नो देश र छिमेकीलाई माया गर्न थाल्नुहोस् । आफ्ना बच्चालाई देशको माया गर्न सिकाउनुहोस् । देश बनाउने काममा आनन्द लिन थाल्नुहोस् । नेपालको लागी रुने को न हुन्छ र आखीर? तपाँई नै त हो! यी बिशाल हिमालयको अन्तरआत्मालाई आदर गर्नसक्ने अनि विश्वकै एकमात्र किसिमको झण्डालाई बोक्ने को न हुन्छ र आखिरमा?

तपाईंले नै बोक्नु छ नेपालको भविश्य उज्जवल बनाउने जिम्मेवारी। यो तपाँईको देश, तपाँईकै जिम्मेवारी हो।

नेपालको जय होस् ।