‘खान पुगोस्, दिन पुगोस्!’

‘ खान पुगोस्, दिन पुगोस्! ‘ -रवीन्द्र मिश्र

Discuss the full article written by Rabindra Mishra in Nepali daily “नागरिक” (see link below) and do contribute in your views there.
http://bit.ly/9yCjIm

बालबालिकालाई सानैदेखि व्यक्ति केन्द्रित हुन सिकाउने तर तिनै बालबालिकाबाट वयस्क भएपछि समाजका लागि योगदानको अपेक्षा गर्ने हाम्रो व्यवहार र सोचमा अन्तर्विरोध छ।

मेरा साथीकी आमा छिन् – पवित्रदेवी रायमाझी। उनको दिनचर्या नामजस्तै पवित्र हुन्छ। प्रेम, उदारता, स्वच्छता र भक्ति उनका विशिष्ट गुण हुन्। दिनभर प्रत्यक्ष र अप्रत्यक्ष पाप गर्ने अनि साँझबिहान भगवानको अर्चना गरेर पखाल्न खोज्ने पाखण्डीका भिडबाट उम्केर पवित्रदेवीको घरमा पुग्दा मलाई आफूभित्रका तुसहरू एकैछिनका लागि भएपनि मेटिएजस्तो लाग्छ। आफूसँग भएको सबै सुम्पिएर लोक कल्याणमा जीवन अर्पण गर्ने अनुराधा कोइराला या दिलशोभा श्रेष्ठको जस्तो महानता बिरलैमा हुन्छ। त्यसैले, ‘व्यावहारिक कल्याण’ या हरेक व्यक्तिले आफ्नो गच्छेअनुसार सकेको कल्याणकारी काम गर्ने संस्कारको विकास गर्न सकियो भने समाज धेरै न्यायपूर्ण र सुसंस्कृत हुनसक्थ्यो भन्ने मेरो विश्वास छ। त्यसैले ‘व्यावहारिक कल्याण’ को प्रसंग म मौका पाउनेबित्तिकै गरिहाल्छु। कुराकानीका क्रममा एकदिन पवित्रदेवीका छोरा मेरा मित्र श्रीरामले भने – ‘मेरी आमाले दसैंमा आशीर्वाद दिँदा सधैं भन्नुहुन्छ – ‘खान पुगोस्, दिन पुगोस्!’ पवित्रदेवीका ती शब्द मलाई ‘व्यावहारिक कल्याण’ को विश्वासलाई भत्किन नदिने प्रेरणा बनेका छन्। र, हरेक दसैँमा म उनलाई श्रद्धापूर्वक संझने गर्छु।

यस पटक पनि दसैं नजिकिँदै छ। आजसम्म दसैँमा मैले पाएका आशीर्वाद मैसँग सम्बन्धित थिए र संभवतः भविष्यमा पनि त्यस्तै हुनेछन्। ‘तँ ठूलो भए, तँ ज्ञानी भए, तँ मान्य भए, तँ धनी भए, तँलाई कहिले रोग नलागोस्, चन्द्रमा दाहिने हुन्’। यी मैले सुनिआएका आशीर्वाद हुन्। अहिले म यसो सोच्छु, यो समाज बिग्रनु, यो संसार प्राविधिक र बौद्धिक ज्ञानको भण्डार भएर पनि यति धेरै अमानवीय व्यवहारबाट ग्रस्त हुनुमा मूलतः बालबालिकालाई हुर्काइने, बढाइने र पढाइने तरिका जिम्मेवार छ। सानैदेखि हामी उनीहरूलाई व्यक्ति केन्द्रित हुन कति प्रेरित गर्छौं भने ठूलो हुँदासम्म तिनका लागि व्यक्तिगत उपलब्धि जति महत्वपूर्ण केही पनि हुँदैन। वयस्क भएपछि भने पढेलेखेका, जानेबुझेका, धनसम्पत्ति भएकाले तुलनात्मकरूपमा व्यक्तिगत उपलब्धिभन्दा सामाजिक रूपान्तरणका सम्बन्धमा बढी बोल्नुपर्ने र आदर्शको खेती गर्नुपर्ने बाध्यता सिर्जना हुँदोरहेछ। त्यसै भएर धेरै ठूलो कहलिएकाहरूले पदपैसा मेरालागि केही पनि होइन, यो समाज र राष्ट्रको हित बढी महत्व हो भनेको हामी बारम्बार सुन्छौं। अधिंकाश स्थितिमा तिनले जे भन्छन् त्यो शतप्रतिशत झूठ हो भन्ने तिनलाई थाहा हुन्छ। किनभने हामी सबैलाई सानैदेखि व्यक्तिगत हितलाई सर्वोपरी ठान्न आशीर्वादबाट हाम्रा नसानसामा व्यक्तिगत मान, प्रतिष्ठा र अर्थोपार्जनका कोषिका बन्ने गरी प्रशिक्षित गरिएको हुन्छ। हामीले बालबालिकालाई व्यक्ति केन्द्रित हुन गर्ने प्रशिक्षण र तिनै बालबालिकाबाट वयस्क भएपछि समाजका लागि गरिने अपेक्षाबीच ठूलो अन्तर्विरोध छ।

आज संसारमा देखिएका अधिकांश समस्या त्यही अन्तर्विरोधको नतिजा हो। हरेक दिन काठमाडौंका पाँचतारे होटेलमा देश कसरी बनाउने भनेर गोष्ठी भैरहेका हुन्छन्। हरेक दिन संसारभर समाज रूपान्तरणका विषयमा सयौं पुस्तक प्रकाशित भैरहेका हुन्छन्। हरेक दिन लाखौंलाख मानिसले त्यस्ता ‘अग्रगमनकारी’ सोचपूर्ण पुस्तक पढिरहेका पनि हुन्छन्। तर, समग्रमा समाज र संसार उँभो लागेजस्तो लाग्दैन। हत्या, हिंसा, सामाजिक असुरक्षा, वातावरणीय ह्रास बढ्दो छ र त्यसभन्दा पनि महत्वपूर्ण गरिब र धनीबीचको खाडल झन् झन् कहालीलाग्दोरूपमा फराकिलो र गहिरो भइरहेको छ। ज्ञान विवेकको सर्जक नभएर गर्व र प्रदर्शनको विषय भएको छ। अधिकांश परिस्थितिमा ज्ञान भोको हुन्छ, त्यसले माग्छ मात्र, दिँदैन। त्यो कसैको दोष होइन। हामीलाई सिकाइएकै त्यस्तै छ। सानैदेखि मेरो मस्तिष्कमा धेरै पढेको, उच्च ओहोदामा पुगेको, धेरै धन कमाएको, नाम कमाएको व्यक्ति नै ठूलो मान्छे हो भन्ने छाप परेको छ। तिनैलाई मेरो प्रेरणा र आदर्शका रूपमा प्रस्तुत गरिएको छ। ठूलो मान्छेको नसा कति कडा हुन्छ भने त्यसले अन्तिम साससम्म पनि मान्छेलाई छोड्दै छोड्दैन। ठूलो मान्छे हुने नसा लागेपछि मान्छेको चेतना ठूलै हदले साँगुरिएर आफैँमा केन्द्रित हुनजान्छ। व्यक्तिलाई स्वकेन्द्रित नसाले गाँजेको थाहा नहुने होइन, राम्रैसँग थाहा हुन्छ। तर म स्वार्थी छु भनेर स्वीकार्न ऊ लजाउँछ र आफूले आफ्नै वृित्त विकास, नाम र दामका लागि गरिरहेको कामलाई ऊ समाज रूपान्तरणसँग जोड्न हुरुक्क हुन्छ। त्यसैले पत्रकारलगायत सबै पेसाका मान्छेले सधैं आफ्नो कर्मले समाज र देशलाई योगदान पुर्‍याइरहेको दाबी गर्छन्। तर समाज र देश बिग्रनुको जिम्मेवारी भने कोही पनि लिन चाहँदैनन्। सबैले अरू, खासगरी राजनीतिकर्मीलाई दोषी देख्छन्। वास्तविकता चाहिँ के हो भने, हामी सबै दोषी हौं। फोहोरी वातावरणबीच आआफ्नो पेसागत दायित्व इमान्दारीपूर्वक पूरा गर्नेहरू अलि कम जिम्मेवार छन्, त्यति पनि पूरा नगर्ने बढी जिम्मेवार छन्, फरक त्यत्ति हो।

हामी सबैले आफू, आफ्नो पेसा र परिवारबाहेक अरूको वास्ता गरेकैछैनौ। बेइमान र भ्रष्टहरूको त कुरै छोडिदिउँ। इमानदार भए पनि आर्थिकरूपमा विपन्नको पनि कुरा छोडिदिउँ। हामीले कतिजना त्यस्ता व्यक्ति देखेका छौँ, जो इमानदार, समाज र देशको रूपान्तरणकाबारे चिन्तित, आर्थिकरूपमा सम्पन्न छन् अनि साथसाथै आफ्नै खल्ती खोलेर केही न केही सकारात्मक काम पनि गर्छन्? अधिकांश स्थितिमा बैठक, गोष्ठी, कार्यशालाआदिमा आदर्शको भाषण दिन मान्छे आउँछन् तर कुनै राम्रो कामका लागि अलिकति पैसा झिकौँ न त भन्यो भने ‘ओहो! म त त्यस्तो पैसा दिनसक्ने स्थितिको मान्छे होइन नि हो’ भनेर पन्छिन्छन्। अधिकांश स्थितिमा त्यो आर्थिक विपन्नता नभएर हाम्रो घर, परिवार, समाजले रोपिदिएको मानसिक र भावनात्मक दरिद्रताको परिणाम हो। सामाज रूपान्तरणका सबभन्दा ठूला कुरा गर्ने एउटा वर्ग राजनीतिज्ञको हो। हाम्रा कतिपय राजनीतिज्ञ धेरै धनी पनि छन्। तर तीमध्ये कति जनाले राजनीतिक घेराबाहिर गएर समाज रूपान्तरणका लागि साँच्चिकै र ठोसरूपमा सघाएका होलान्? तिनले त्यस्तो गर्दैनन्। किनभने आफ्नो पेसामार्फत् समाज रूपान्तरणका कुरा र काम गर्न सजिलो छ तर आफैँ, आफ्नै स्रोत प्रयोग गरेर उदाहरण भएर प्रस्तुत हुन धेरै गाह्रो छ।
व्यक्ति, व्यक्तिले पेसागत रूपमा मात्र होइन, वैयक्तिक तहमै समाज रूपान्तरणका लागि योगदान गर्न नचाँहदासम्म समाज न्यायपूर्ण हुनै सक्तैन। त्यसका लागि व्यक्तिले आफ्नो भाग काटेर दिन जान्नुपर्छ। हुनेले वर्षमा करोडौं काट्लान्, अलि कम हुनेले लाखौं काट्लान्, त्यो भन्दा पनि कम हुनेले हजारौं, सयौं काट्लान्, तर सबैभित्र मैले अरूका लागि केही गर्नैपर्छ भन्ने भावनाको विकास हुनैपर्छ। धर्मकर्ममा विश्वास राख्ने, अटुटरूपमा पूजाआजा गर्ने अर्बपति, करोडपतिमा त त्यस्तो भावना झन् बढी हुनुपर्ने हो। किनभने हाम्रो शास्त्रले नै लाभांशको दश प्रतिशत सत्कार्यमा खर्चगर्नु भन्छ। सत्कार्यसम्बन्धी त्यस्तो निर्देशलाई बेवास्ता गर्ने हो भने साँझबिहान मन्त्र जप्नुको के अर्थ? तिनलाई त पूजाबाट धर्म हुने होइन पाप लाग्छ।

संसारकै उदाहरण हेर्ने हो भने पनि जुन समाजमा हुनेले नहुनेलाई सक्तो बढी दिएका छन्, तिनै समाज सबैभन्दा सुसंस्कृत छन्। त्यहाँ लगभग सधैँ शान्ति, स्थिरता, समृद्धि र खुसी व्याप्त छ। लोककल्याणकारी राज्य व्यबस्था भएका नर्वे, स्विडेन, फिनल्यान्ड, डेनमार्कजस्ता देश त्यस्तो समाजका उदाहरण हुन्। त्यहाँ हुनेहरू साठी प्रतिशतसम्म सरकारलाई कर तिर्छन्, जसमध्ये ठूलो अंश नहुनेको हितमा खर्च हुन्छ। अन्य समाजवादी पश्चीमी मुलुकमा पनि हुनेबाट सरकारले ठूलो रकम कर लिन्छ। त्यति कर तिरेर पनि सबैजसो सक्षम व्यक्तिले कुनै न कुनै र कतिपय स्थितिमा त कयौं लोककल्याणकारी कार्यमा नियमित योगदान गरिरहेका हुन्छन्।

तसर्थ यो समाज, यो देश बनाउने हो भने व्यक्ति, व्यक्तिले पेसागत सीमाबाहिर गएर समाजलाई थोरै नै किन नहोस् दिनैपर्छ। त्यसकालागि व्यक्ति र समाजप्रतिको हाम्रो धारणामा आधारभूतरूपमै परिवर्तन ल्याउनुपर्ने देखिन्छ। सुरु यही दसैंबाटै किन नगर्ने? दसंैंमा हुनेहरू अधिकांशले जुवा, रक्सी, भोजभतेर र मस्तीमा धेरै पैसा उडाउने छन्। के त्यसको सानो अंश तिनले दसैंलाई दशा संझिन बाध्य गरिब र असहायलाई छुट्ट्याउन सक्लान्? के तिनले कुनै बालगृह या बृद्धाश्रममा गएर मासुभात खुवाउन सक्लान्? के तिनले कुनै या केही गरिब परिवारलाई ‘ल तपाईँ पनि रमाइलोसँग दसैं मनाउनोस् है!’ भनेर दुईचार हजार रुपैयाँ दिन सक्लान्? केही गर्नसक्नेको मनमा त्यस किसिमको भावना आइदिने हो भने, अनुमान गरौँ यस दसैंले कति परिवारको मुहारमा खुसी ल्याउँथ्यो होला। दसैंको बेलामा त्यसभन्दा ठूलो धर्म के हुन्छ होला? दुर्गा भवानीको आराधना गर्दैमा धर्म हुने होइन। त्यसैले, यो दसैँदेखि हामीले दिने आशीर्वादलाई पनि व्यक्तिमुखीबाट समाजमुखी बनाउने हो कि? र, आफ्ना प्रियजनलाई आशीर्वाद दिँदा पवित्रदेवीले झैँ नबिर्सीकन भन्ने हो कि? ‘खान पुगोस्, दिन पुगोस्’!

नबिर्सीकन भन्ने हो कि? ‘खान पुगोस्, दिन पुगोस्’!

Leave a Reply