म त एक आम नेपाली… मलाई के फाइदा डक्टर केसीको सत्याग्रहले?

govinda kc thumbs upम त एक आम नेपाली हुँ । मलाई के न फाइदा हुन्छ र डक्टर केसीको सत्याग्रहले?

सायद यस्तै सोच अहिले तपाईँ अनि लाखौँ नेपालीको मनमा घुमिरहेकोछ होला। यो स्वभाविकै  हो। जताततै निराशाले छाएको अवस्थामा यसको उत्तर प्रष्टसँग पाउन गाह्रो पनि छ। तपाईंले खोजेको प्रश्ट उत्तर पाउन  पहिलेतपाईं आफैले यी केही प्रश्नहरुको जवाफ खोज्नै पर्छ।

१) के तपाईंलाई अस्पतालबाट क्लिनिक ‘रिफर’ गरिएको छ ?

२) के तपाईंलाई डक्टरले  हतार-हतारमा जाँची धपाएको छ ?

३) के तपाईंलाई अाफ्नो जाँच रिपोर्ट एउटा डक्टरमा पत्यार नलागी फरक फरक डक्टरलाई देखाउनु परेको छ ?

४) के तपाईंले मनमनै कुनै अस्पताललाई “ठग” भन्नु भएको छ ?

५) के तपाईंलाई कहिले डक्टरबाट फर्कदा गोजी नै रित्तिएको अनुभव भा छ ?

६) के तपाईंलाई अामा-बा बिरामी हुँदा “त्यो खेतबारी बेच्नु पर्छ कि क्या हो” जस्ता सोच जागेको छ ?

७) के तपाईंलाई “नेपालमा त अब भरै लागेन बरु दिल्ली, लखनऊ नै लग्नु पर्छ कि क्यो हो ?” जस्तो भा छ ?

८) के तपाईंलाई “ त्यो अस्पताल त जानै नपरोस् बरु झाँक्री/ बैधेबाटै निको पार्छु” भन्ने प्रण गर्नु भा छ ?

९) के तपाईँलाई वा परिवारमा कुनै बेला डक्टर–नर्स बन्न मन लागे पनि धन नपुगेर त्यो सपना मार्नु परेको छ ?

१०) के तपाईँले अौषधी पसलेलाई सोध्नु भा’छ “ यो अौषधी त अल्लि महंगै रैछ, अलि सस्तो खाले छैन ?”

यदि माथिका प्राय प्रश्नमा तपाईँको उत्तर “हो” “भा छ” “ठिक” जस्ता छन् भने बल्ल तपाईंले बुझ्नु हुनेछ, डक्टर केसीको आमरण अनशनको मर्म र उनीले निरन्तर लडिरहनु पर्ने कारण र स्वास्थ्य क्षेत्रलाई चाहिने नया निति (माथेमा अायोगबाट निर्मित चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२)।

हेर्नुहोस्, हाम्रो स्वास्थ्य क्षेत्रको कुना-कुनासम्म भएको चरम हस्तक्षेपले गर्दा दिनहुँ ३ करोड नेपाली यसरी नै पिडामा परेका छन्। चाहे त्यो हस्तक्षेप थोरै परिश्रममै धेरै कमाउन तल्लीन लोभी नेपालीको लामले होस् वा कमसल तर महंगो चिकित्सा शास्त्र बनाउने शिक्षा नीतिले होस्, चाहे त्यो शिक्षा र स्वास्थ्यमा अपारदर्शी र गैरजिम्मेवार लगानीले होस् वा राजनीतिक हस्तक्षेप छिराउने भ्रष्ट चिकित्सकहरुले नै होस्। यी विविध कारणले हाम्रो स्वास्थ्य शिक्षा क्षेत्र ढल्न मात्र बाँकी छ।

अझ यी सबै कारक तत्वलाई देशका सर्वश्रेष्ठ राजनीतिज्ञ (शासक) वर्गले नै सक्रिय संरक्षण र बढावा दिए पछि त ३ करोड नेपालीको स्वास्थ्यको भविश्य त सक्किगोन्त !

डक्टर गोविन्द केसी यही कुसंस्कार र कुलत अबको नव-पुस्ता (तपाईं) ले भोग्न नपरोस् भनी अाफै अकालमा जीवन त्याग्न समेत तयार भई लडिरहनु भएको छ। यदि नेपाल सरकारले उहाँको मागहरु संबोधन गरे देशको स्वास्थ्य क्षेत्रले फेरि लामो साँस फेर्ने छ, ३ करोड नेपालीको स्वास्थ्यको भविश्य ठिक बाटोमा लाग्थ्यो होला।

डक्टर केसीले कल्पना गरेको नेपाल यस्तो छ:

govinda kc relay fast participant tina१) डक्टर – नर्स दक्ष बन्छन्, ज्यानमारा होइन

२) अोखती सस्तो सुलभ र सही खान पाइन्छ, महंगो होइन

३) स्वास्थ्यसेवा बेलैमा पाइन्छ, अबेला होइन

४) अस्पतालमा जँचाउ जँचाउ लाग्छ, भागु भागु होइन।

५) सन्तानलाई डक्टर बनाउँदा ढाड सेकिन्न बरु मन हलुको हुन्छ।

६) सिटामोलमा कमिसन होइन, गुणस्तर खोज्ने चिकित्सक पाइन्छ।

७) बिरामी कुरुवा बस्नै नपर्ने सेवा पाईन्छ।

८) स्वास्थ्य खर्च चरम होइन, नरम हुन्छ।

९) चिकित्सकलाई सराप होइन, पहिले जस्तै सलाम ठोकिन्छ।

१०) स्वास्थ्य सेवामा दाम कमाउन (मात्र) होइन, नाम कमाउने प्राय देखिन्छ।

त्यसैले अाउनुहोस् डक्टर केशी र हजारौँ देशभक्त नेपालीहरुलाई तपाईको साथ दिनुहोस्। आजै!  धन्यवाद 🙂

उहाँले संकलन गर्नु भएको तथ्यको अाधारमा बनाईएको यो स्लाईड पनि हेर्नु होला है !

जय नेपाल ! जय स्वास्थ्य नेपाली समाज !

अझै बुझ्न चाहनुहुन्छ ? केहि गर्न चाहनुहुन्छ?

१) तल स्लाइड हेर्नुहोला है।

२)  अभियानलाई साथ दिन ईमेल गर्नु होला
email: help@leadnepal.com
savenepalhealthcare@gmail.com

३) भ्रष्टाचारका खलनायकहरु बारे दस्तावेज यहाँ bit.ly/loottantra

४) Read dossier on Corrupted officials at the highest branch of government: bit.ly/eloottantra

अनि माथेमा अायोगबाट निर्मित चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ पढ्नुहोला / सेएर गर्नु होला। सम्झिनहोस् लागि यो सरल लिंक bitly.com/mathemareport

Read more about corruption we are fighting against !