५ खर्ब भित्र्याउनेलाई यस्तो व्यवहार ?

हामीले  ५ खर्ब रुपैयाँ (३ बर्ष अघि यो लेख पहिले लेख्दा ३ खर्ब ५० अर्ब थियो) नेपाल पठाउने हाम्रा नेपाली लगानीकर्तालाई जब कदर गर्न जान्नेछौं, तब मात्र बाँकी संसारले नेपालमा लगानी गर्नेछन् ।

Please read English version here.

एक तथ्यान्क अनुसार बिदेशमा काम गर्ने नेपालीहरुले हरेक वर्ष करिब ५ खर्ब रुपैयाँ ( ३ बर्ष अघि यो लेख पहिले लेख्दा ३ खर्ब ५० अर्ब थियो) नेपाल पठाउँछन् । यदि यसो हो भने नेपालमा लगानीको रुपमा बिदेशीहरुले भित्र्याउने भन्दा यो करिब पाँच गुणा बढी हुन आँउछ। यीनै ठुला लगानीकर्ताहरुबाट नेपालको करिब एक तिहाइ अर्थतन्त्र धानिएको छ। तैपनि हामी यी कामदार दाजु भाइ, दिदी बहिनीहरुलाई कुकुर सरह व्यवहार गर्छौँ ।

एकजना नेपाली दाजु अरबबाट दुई बर्षपछि आफ्नो परिवारलाई भेट्न बल्लतल्ल एक महिनाको छुट्टि लिएर फर्कन्छन्। साँझपख उसको जहाज  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रन्छ। अनि लामो लाइनमा धेरै समयको लागि कुर्छ। पालो आए पछि सेवा दिन बसेको कर्मचारीबाट नानाथरिको बेइज्जति प्रश्नको सामना गर्छ । “तँ कहाँ काम गर्छस् ?  तेरो घर कता? कति पैसा छ तँ सँग? कहिले फर्कन्छस्? आदि, इत्यादि। यस माथि भन्सारको कर्मचारीले (शायद केहि घुस लिन होला) आफ्नो परिवारलाई ल्याएको सरसामानहरु एक एक गरी खोजतलास गर्छ। वाक्क दिक्क भएर ऊ बिमानस्थल बाहिर आउँदा रात परिसक्छ।

बाहिर ट्याक्सीहरु मौका छोप्न कुरिरहेका छन्। “गंगबुसम्म १५०० दिने भए जान्छु, नत्र जान्न” भन्छन् । यस्तै रहेछ, के गर्ने भनेर हरेस खाँदै “हुन्छ जाऊँ” भन्छन् हाम्रो दाजु। बिझाउने कुरा के भने यो त उसलाई काठमाडौँ देखि आफ्नो गाउँ जाने बस भाडा भन्दा महंगो पर्यो। उ आफ्नो गाँउ जान्छ तर तीन हप्ता बित्दा नबित्दै काठमाडौँ फर्किन बाध्य हुन्छ, नयाँ पासपोर्ट लिनको लागि। परराष्ट्र मन्त्रालय अगाडि यता उता दौडदैँ उसको हरिबिजोग हुन्छ। टन्टलापुर घाममा गु, मुतको गन्धबाट पीडित हुदैँ ऊ कुर्छ।

अनि अरब फर्कने क्रममा एक पल्ट फेरि बिमानस्थलमा उसको बेइजती गरिन्छ त्यहि जनताको सेवा गर्न बस्या कर्मचारीहरुबाट। जहाज चढ्दै एउटा लामो चयनको शास लिन्छन् हाम्रो नेपाली दाजु । उनी फर्कन्नन् नेपाल, अर्को दुई बर्षसम्म ।

के यसरी नै हो हामीले  करिब ५ खर्ब  नेपाल पठाउने नेपालीहरुलाई सेवा गर्ने तरीका?  नेपाल धान्ने नेपालीहरुलाई के यसरी नै धन्यवाद दिने हो त हामीले?

यस प्रथालाई बदलेर सबैलाई जित जितको परस्थिति बनाउन यसो गरे कसो होला? खरबौँ डलर भित्राउने नेपाली कामदारहरुलाई (नेपालका ठुला लगानीकर्ताहरु) कसरी सेवा दिन सक्छौँ ?

  1. सरकारी बाधा अडचनहरु सके जति हटाऔं । परराष्ट्र मन्त्रालयमा उनीहरुका लागि छिटो भन्दा छिटो काम हुने छुट्टै संयन्त्र बनाऔं ।  पासपोर्ट बनाउनेजस्ता कामहरु आधा दिनमै सकाए कसो होला? अरु शहरबाट नि पासपोर्ट लिन संयन्त्र तयार गरौं । बैदेशिक रोजगार संस्थाहरुबाट सस्तो तथा भरपर्दो बिमा योजना गराऊने नियम लागु गरौं ता कि हरेक बैदेशिक रोजगार कामदारको सुरक्षा बिमा होस् । उनीहरुको लागि विमानस्थलमै विशिष्ट लाइन होस् र उनीहरुलाई यस्तो महशुस  होस् कि उनीहरुको कारणले हाम्रो देश आर्थिक रुपमा धराशायी हुनबाट बचिरहेको छ। हाम्रा सरकारी कर्मचारीहरुको बानी सुधार्नतिर पनि लागौं । जसरी कुइरेहरु नेपाल आउँदा खातिरदारी गर्छौँ, उनीहरुको पनि त्यस्तै गरौँ । राम्रा ग्राहक सेवा दिन कहलिएका निजी कम्पनीहरुसँग मिलेर भरपर्दो, सिधै विमानस्थलबाट आफ्नो गन्तव्यमा पु–याउने यातायात सेवा सुरु गरौँ ।
  2. बैदेशिक रोजगार सेवा दिने कम्पनीहरुले बैदेशिक रोजगारमा जाने हरेक नेपालीको जीवन तथा स्वास्थ बिमा गरौँ जसको रकम सस्तोमा र किस्तामा तिर्न मिल्ने खालको बनाऔँ। धेरै जनाको गर्दा कम्पनीहरुलाई फाइदा भैहाल्छ िन।
    passportsline
  3. समाजसेवीहरु, तपाईंहरु उनका परिवारहरुलाई आत्मनिर्भर हुने सिप र तालिम दिन मद्धत गर्नुहोस् । कसरी उताबाट पठाएको पैसा जोगाउने र सही सदुपयोग गर्ने बारेमा सुझाब दिनुहोस् । पठाएको सबै पैसा लगेर महँगो टीभीमा खर्चिनु कति उपयुक्त होला अहिले को १४ घण्टे लोडसेडिंग भएको देशमा ?
  4. उद्दमी साथी हो, यसो उनीहरुको माझमा गएर जमघट गरे कसो होला ? उनीहरुबाट उनीहरुको परिवारको समस्याहरु थाहा हुन्छ। भन्छन्, समस्या एक महान अवसर हो। तपाईं पनि उनीहरुको साझा समस्याको समाधान निकाल्न यस्तो विचार निकाल्नुहोस् जसले दुवैलाई फाइदा होस् ।
  5. हाम्रो ब्यांक तथा बित्तिय संस्थाका साथीहरु, तँपाईहरु उनका परिवारलाई बिशेष प्राथमिकता दिनुहोस् । लगानी गर्न वा सानो उद्योग धन्दा खोल्न सरसल्लाह दिएर आफ्नो संस्थाबाट पनि लगानी जुटाउन सकिन्छ । उनिहरु त सुरक्षित रुपमा कमाउनेहरु हुन, कतिपयले त तपाईंकै बैंकमा पैसा राख्छन् होला। यसो गरे कसो होला? धेरै ब्याज भएको ऋणपत्र उहाँहरुलाई बेच्नुहोस् जुन कम्तीमा पनि पाँच बर्षमा मात्र झिक्न पाउँदछन्। अहिलेको स्थतिमा तपाईंहरुको माझमा एकदमै लोभलाग्दो अवसर छ।
  6. उनीहरुको सुझाव र विचारहरु लिएर नेपाली उद्योगमा लागू गर्नुहोस् गुणस्तर, सुरक्षा तथा छरितोपन बढाउन । सोच्नुहोस, यिनै नेपालीहरु हुन् जसले कत्तारमा सन् २०२२ को विश्च कप फूटबलको लागि अत्यधुनिक ठूला ठूला रंगशालाहरु बनाइरहेका छन्।

अन्तिममा यसो गरेमा, हामी सबैको जित-जित हुन्छ।

अब सोचौँ —

त्यही वाक्क भएर गएका नेपाली दाजु फेरि दुई बर्षपछि घर फर्कदैँछन् ।

— जहाजबाट ओर्लिने बित्तिकै उ, आफु जस्तै कामदारहरुलाई भनेर बनाइएका एउटा छुट्टै द्रुत गतिमा अगाडि बढ्ने लाईनमा उभिन्छ। एक बिमानस्थल कर्मचारीले हसिँलो मुहारका साथ नेपालमा उसलाई स्वागत गर्छ। नेपाल भ्रमण तपाईको आरामसँग बितोस् भन्ने कामना गर्छ र बिमानस्थल भित्रैबाट गाँउसम्म जाने टिकेट किन्ने ठाउँ देखाइदिन्छन्, जहाँबाट सिधै आफ्नो ठाउँ पुग्न सक्छन। अनि आफ्नो सामानसँगै हाम्रो नेपाली दाजुलाई बाहिर बससम्म पुराइदिन्छन, जहाँ ऊजस्तै ५० जना बसमा आ-आफ्नो घर जान कुरि रहेका हुन्छन् । केही बाधा अडचन बिनै ऊ आफ्नो घर पुग्छन् र परिवारसँग मज्जाले बिताउछन्। पासपोर्टको लागि मात्र एक घण्टामै नजिकको शहरको कार्यालयमा गएर बनाउँदछन् ।

उ अहिले धेरै खुशी छ। आफूले पठाएको पैसाले उसँग एउटा पक्की घर छ। उसको श्रीमतीले उसले बिदेशबाट पठाएको पैसा जुन ब्यांकबाट लिन्थिन्, त्यहींबाट अहिले ऋण निकालेर एउटा सानो व्यापार पनि गरेकी छिन्।  अनि त्यो  उच्च ब्याजदरको ऋणपत्र जुनमा उनीहरुले बचत गरेका थिए त्यो पनि अर्को बर्ष लिन मिल्नेछ। यो बचत र आफूले अरबबाट सिकेको नयाँ अनुभवले गर्दा, हाम्रो नेपाली दाजु सोच्नु हुन्छ, “के अब फर्कनु पर्छ र त्यो ४५ – ५० डिग्री ताप्रक्रम भएको अरब वा मलेसियामा काम गर्न?”

सारंसमा भन्नु पर्दा, हामीले ५ खर्ब  नेपाल पठाउने आफ्ना नेपाली लगानीकर्तलाई जब कदर गर्न जान्नेछौं,  तब मात्र बाँकी संसारले नेपालमा लगानी गर्नेछन्। उनीहरुको सोच – हामीले आफ्नो लगानीकर्तालाई जस्तो व्यवहार गर्छौँ त्यस्तै नै व्यवाहार गर्छौ बिदेशी लगानीकर्ताहरुलाई पनि। उनीहरु त जहाँ लगानीकर्ताहरुको कदर हुन्छ, त्यँहि नै आफ्नो लगानी लान्छन।

तसर्थ आजैदेखि हाम्रा यी देश धान्ने ५ खर्ब   भित्राउने स्वदेशी लगानीकर्ताहरु यानी नेपाली कामदारहरुलाई उच्च सेवा दिन पहल गरौँ। विश्वले हामीलाई हेरिरहेछन्।

–यस लेख लेख्न मद्दत गर्नुहुने प्रसन्न ढुंगेल, आशुतोश तिवारी, बिजय शिवाकोटी, सन्जिव सुब्बा, सागर ओन्ता, बाल जोशीलाई धेरै धेरै धन्यवाद ।

माईसन्सारमा पनि पढ्नुहोला त्यसमा लेखिएका कमेन्टहरु गहन छन्

Comments

  1. धन्यवाद। भविष्यमा एक एक गरि नेपालीमा लेख्नेछु वा रुपान्तरण गर्नेछु । अलि धैर्य गर्नुहोला 🙂