जब दल बन्छ – तब न देश बन्छ !

शक्तिमा पुग्न सिपालु। चलाउन भने मरु ?

अहिलेका प्रमुख राजनीतिक दलहरु सरकारमा पुग्न निकै सिपालु छन्। यसमा कुनै दुईमत रहेन। एक पछि अर्को दल पालै पालो निरन्तर सत्ता पुगेको इतिहासले प्रश्ट देखाँउछ। तर सत्तामा पुगे पछि सरकार चलाउन भने असक्षमै ठहरिएको इतिहासले प्रश्ट देखाउँछ। देशकै संविधान पटक पटक बनाउन असक्षम हुनु एक प्रमुख कारण पनि यहि हो।

हाम्रा दलहरु राज गर्न किन असक्षम छन्?

मुल कारण हाम्रा दलहरुले बनाउने नेतृत्वमा ‘राज्य व्यवस्थापन’ गर्ने सीप नभएरै हो। प्रजातन्त्रमा राज्य व्यवस्थापन भनेको त्यस्तो सीप हो जसले सरकारका ३ प्रमुख निकाय न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका बीच नियन्त्रण र सन्तुलन गरि चलाउन सक्छ। यी ३ निकायलाई सहि व्यवस्थापन गरी शाषण गर्ने कुनै पनि सरकार दिगो, जनउत्तरदायी र प्रजातान्त्रिक रहन्छ, अर्थात सफल बन्छ। यहि नियन्त्रण र सन्तुलनको सहि व्यवस्थापन गर्ने सीप हाम्रो प्रमुख दलका नेतृत्वमा नभएकाले नै हाम्रो देश एक-पछि अर्को संक्रमणमा छिरी रहेको छ।

लोकतन्त्रमा राज्य हाँक्ने नेतृत्व राजनीतिक शक्तिहरु बाटै निखारिएर आँउछ। समस्या यहिँ नै देखिन्छ। अहिलेका कुनै पनि प्रमुख राजनीतिक शक्ति भित्रको प्रणाली हेर्नु भयो भने उनको संरचना “शक्ति प्राप्ति”को लागि मात्र चुस्त बनाईएको हुन्छ – “शक्तिको सहि उपयोग” को लागि बनाईएको हुन्न। तर शक्तिको सहि उपयोग भनेकै ‘राज्य व्यवस्थापनको’ सीप हो जुन बिना त्यो शक्ति असफल नै रहन्छ।

मेरो तर्क यत्ति हो कि यदि राजनीतिक दलहरु देश चलाउन सफल हुन चाहन्छन् भने उन्‌का नेतृत्वले आफ्नो दल भित्रै “राज्य व्यवस्थापन”को निरन्तर अभ्यास गरिरहनु पर्छ। यस्तो महत्वपूर्ण सीप सत्तामा गईसकेपछि सिक्न समय नै रहँदैन। यदि आफु भित्रै बाट राज्य व्यवस्थापन गर्न सक्ने नेतृत्व उत्पादन गर्न सकेन भने जुनै शक्ति पनि सत्तामा पुगेपछि अहिले जस्तै बाटो बिराई राख्नेछन्।

बर्तमान राजनीतिक दल भित्र प्राय कस्तो संरचना छ त?

दलका केन्द्रिय समिति सत्तामा पुग्न आत्तुर नेतृत्वकै सत-प्रतिशत बाहुल्य छ। उनीहरुलाई नियन्त्रण र सन्तुलन गर्ने कोहि पनि हुन्न र राज्य व्यवस्थपान सिकाउने कुनै पनि प्रणाली छैन। यहिँ बाट नै कुशासनको जड शुरु हुन्छ। यस कुशासनलाई जरैबाट उखेल्न नविन २१ वौँ शताब्दी सापेक्ष ‘राज्य व्यवस्थापन” गर्न  सक्ने सक्षम नेतृत्व बनाउने संयन्त्रको आवश्यकता पर्छ। म त्यस्तै एक संरचना प्रस्ताव गर्न चाहन्छु।

एउटा २१ वौँ शताब्दी सापेक्ष राजनीतिक दलको भित्र कस्तो संरचना हुन्छ?

 त्यस दलको केन्द्रिय समिति ३ स्वायत्त निकायमा बाँडिएको हुन्छ – व्यावस्थापिका, न्यायपालिका, कार्यपालिका।

Ideal 21st century political party structure in Nepal

पहिलो निकाय – व्यवस्थापिका, देश हाँक्न चाहने नेताहरुले ओगोटेका हुन्छन् जसलाई दलको “व्यवस्थापिका” भनिन्छ (राज्यको जस्तै)। उनीहरुलाई योग्यतामुखी तरिकाले यहाँ चयन गरिनेछ।

 दोस्रो निकाय- न्यायपालिका दलको यस्तो निकाय हो जसले संगठनको व्यवस्थापिका जस्तै उत्तिकै १/३ शक्ति बोकेको हुन्छ। यहाँ यस्ता व्यक्तित्वले हुन्छन्‌ जसले संगठनको मुल मर्म, मार्गदर्शन र विधानको संरक्षन गर्छन्। यसले हरेक सदष्यलाई कुनै पनि कार्य गर्दा दलको विधान अनि देशको संविधान संवत काम गरेको छ कि छैन सल्लाह दिई राख्छ, खबरदारी गरिरहन्छ र परि आए कारवाही पनि गर्नेछ। यस निकायको मद्दतले दलका हरेक सदष्यले आफु ठीक बाटोमा हिँडी राख्न र न्याय सम्मत किसिमले अभियान, समाजसेवा र शक्ति प्राप्तिको अभ्यास गर्छन्। धेरै हदसम्म देशको न्यायपालिकाको जस्तै भुमिका हुन्छ।

 तेस्रो निकाय- कार्यपालिका यो दलको बाँकी १/३ शक्ति बोकेको स्वायत्त निकाय हो जसले दलको प्रशासन चलाँउछ। कार्यपालिकाले दलका नेताले चलाएका अभियानलाई चुस्त, पारदर्शी र दिगो व्यवस्थापन गर्ने काम गर्छन्। दल भित्र यसको भुमिका देशको प्रशासनको जस्तै रहन्छ। जसरी राज्यको श्रोत व्यवस्थापन सरकारको कार्यपालिकाले गर्छ, त्यसरी नै दलको श्रोत व्यवस्थापन पनि दल भित्रको कार्यपालिकाले गर्छ। यसको निगरानीमा दलका हरेक सदष्यले दलको चुस्त कार्य व्यवसथापनको अभ्यास गर्छन्  र त्यहि सीप वडा, गाउँ, शहर, क्षेत्र देखि केन्द्र सम्म व्यवहारमा ढाल्छन्।

यदि सबै दल भित्र यसरी नै केन्द्र देखि एकाई सम्मै यहि ढाँचा संस्थागत गरियो भने वडा देखि नै दलका प्रत्यक सदष्यहरु (देशका भावी नेतृत्व) राज्य व्यवस्थापनको सहि अभ्यास गर्ने छन्। हरेक कार्यमा दलका सदष्यले राज्य सन्चालनमा चाहिने सन्तुलन देखि नियन्त्रण, अनुशासन देखि श्रोत व्यवस्थापन, नीति निर्माण देखि पारदर्शीपन, जवाफदेहिता देखी ‘सेवक सरकार’ मनोवृति आदि अभ्यास गर्दै जानेछन्। यसरी दलका हरेक नेतामा  सरकार नपुग्दै पनि राज्यका बिभिन्न निकायलाई संयम, चुस्त र कुटनीतिक तवरले सफल कार्य व्यवस्थापन गर्ने सीप बिकास भएको हुन्छ।

अब एक पल्ट मानौँ कि यस्तो २१ वौँ शताब्दीका कुनै दलको संरचनाबाट अभ्यास गर्दै गर्दै भोळी एक नेता देशकै मन्त्री भए रे। त्यहाँ पुगी उनी कसरी प्रस्तुत हुन्छन् त? पहिलो कुरो त यी नया मन्त्रीका नैतिकता र अभिप्रायमा शंका गर्ने ठाँउ रहन्न किन भने बर्षौँ सम्म उनलाई आफ्नै दलको न्यायापालिकाले नजिकबाट निगरानीमा राखेर ‘फिल्टर’ गरिरहेको हुन्छ। अनि देशको कार्यपालिकालाई कसरी काम गराउने कुरामा उनलाई खासै टाउको दुखाई हुँदैन किन कि बर्षौँसम्म दल भित्रैका प्रशासकहरुसँगै मिलेर कुशल प्रशासन व्यवस्थापन गर्ने अनुभव बुटली सकेका हुन्छन्। उनी दल भित्रै व्यवस्थापिकामा बसी धेरै सँग मिलेर नीति नियम तयार गर्ने काम गर्दा गर्दै खप्पिस भईसकेका हुनाले देशलाई चाहिने नीति नियम अरुसँग मिलेर बनाउन पनि गाह्रो भएन। यी मन्त्रीले आफ्नो काम शुरु गर्छन् न्यायपालिकासँग उचित परामर्श गरी, व्यवस्थापिकासँग नीति नियम समयमै संसोधन गराई कार्यपालिकाको मद्दतले शशक्त कार्यन्वन गर्न पुग्छन्। यसरी उनी आफ्नै कार्यकालमा शक्तिको सदुपयोग भरपुर गर्छन्। यसरी यी दलका नेतृत्व र दल देशका सफल शासक बन्छन्।

२१ वौँ शताब्दीमा विधिको शासनमा चल्न-चलाउन सक्ने अनि नीति-नियमको सहि र समयमै कार्यन्वन गराउन सक्ने नेतृत्वले मात्र हाम्रो देशलाई संमृद्ध बनाउन सक्छ हाम्रै कालखण्डमा। देश बनाउँछु भन्दै हिँडनेले जब देश चलाउने सीपहरु यसरी आफ्नै दल भित्र सिक्दै जानेछन्, सरकारमा पुगेपछि शक्तिको सहि उपयोग सजिलै सक्नेछन्।

 त्यसैले हरेक राजनीतिक दललाई मेरो बिनम्र अनुरोध: परिवर्तन आफै भित्रबाट शुरु गर्नुहोस् – आफ्नो संगठन भित्र यस्तै २१ वौँ शताब्दी समय सापेक्ष राज्य व्यवस्थापन प्रणाली अपनाउनुहोस्।

जब दल बन्छ – तब न देश बन्छ।

 

 उज्वल थापा
लेखक विवेकशील नेपाली दल का अध्यक्ष हुन् र यो दलको संरचना माथी प्रस्तावित ढाँचामै चली रहेको छ।

नागरिक पत्रिकामा पुश ३० गते छापिएको थियो