तयारी नगर्ने नेतृत्वले समयमै रक्षा गर्न पनि सक्दैन।

Read In English

“तयारी नगर्ने नेतृत्वले समयमै रक्षा पनि गर्न सक्दैन।” वैशाख १२ गतेको मध्याह्नमा ७.८ रेक्टरको भूकम्प जब गयो तब हामी सबैलाई यसको अर्थ महसुस हुन थाल्यो। अाधा घण्टाभित्रै जब हामी महाराजगंज स्थित शिक्षण अस्पताल मद्दत गर्न पुग्यौँ त्यहाँ ल्याईएका घाईतेका चापले स्थिति सम्हाल्न गाह्रो थियो । यस्तो विनाशकारी भुकम्प अाउँदाको बेलाको लागि विवेकशील नेपाली दलले पहिल्य नै एउटा स्पष्ट नियम बनाएको थियो – सबै सदष्यले अाफ्नो परिवार सकुशल रहेको थाहा पाउने बित्तिकै अाफ्नो नजिकैको अस्पताल गई त्यहाँका सरकारी निकायलाई मद्दत गर्न थाल्ने। त्यही मान्यता अनुरुप त्यहाँ पुगेका हामी सदस्यहरु सर्वसाधारण नेपालीहरुसँग मिलेर जीवन र मरणको बीचमा रहेका अनगिन्ती नेपालीका ज्यान जोगाउन शिक्षण अस्पतालका डाक्टर र नर्सहरुलाई मद्दत गर्न थाल्यौं।

अकस्मात् अस्पतालमा हजारौँको चाप बढेकोले अस्पतालमा अापत्कालीन अौषधी नै सकियो। तुरुन्तै नर्स, डक्टर, पुलिस, र सर्वसाधारण सबैले मन मात्र होइन, खल्ती खोल्न थाले। झट्टै उठेको एक लाख रुपैँयाले तुरुन्तै ती जीवन बचाउने अौषधी किन्यौँ। त्यहाँ सबैको एउटै उद्देष्य थियो, जति सक्दो धेरै नेपालीको ज्यान बचाउने। अस्पतालको बगैंचा पुरै खुल्ला अस्पताल कक्ष बनेको थियो। कालो, रातो, पहेंलो, हरियो क्षेत्र घोषणा गरेर बिरामीलाई त्यही अनुरुप स्थानान्तरण गरियो । अस्पताल विस्तारै व्यवस्थित बन्दै गयो। अझ व्यवस्थित बनाउन हामीले अस्पताल परिसरमा सहयोग कक्ष सुचारु गर्यौं।

गएको ३ हप्तामा हामी हजारौँ अाम नागरिकसँग मिली १७ जिल्लाका ३०० भन्दा बढी ठाउँमा राहत पुर्याउन सक्यौँ।  साथै २०० भन्दा बढि चिकित्सक टोलीहरु पनि बिभिन्न ठाउँमा फैलियौँ। त्रास हटाउन मनोवैज्ञानिक परामर्शदाताको काम र महामारी फैलन नदिन सामाजिक स्वास्थ्यकर्मीलाई पनि परिचालन गर्यौं। महाविपत्तिको बेला सरकारको प्रमुख काम भनेकै मद्दत गर्न चाहने र मद्दत चाहने बिच पुलको काम गरिदिनु हो। यस भूकम्पले हजारौं नेपालीहरुको मुटु निर्ममतापूर्वक बन्द गर्यो तर लाखौंको मन उदार पनि बनाइदियो। धेरै नेपालीले अाफ्नो भाग काटेर पनि अरुलाई राहतको रुपमा दिए। यस्ता स्व:स्फूर्त रुपमा देशभरि निक्लिएका सकारात्मक सोच र विवेकशील सञ्जालहरुलाई जोडी उनीहरुको कामलाई सहज बनाइदिने कोशिश गर्यौँ।

नेतृत्व त्यस्तो सीप हो जुन अाफू त्रसित हुँदा पनि वरिपरिका सबैलाई सहज व्यवस्थापन गरिन्छ। सामाजिक संजाल मार्फत् हजारौं स्वतन्त्र स्व:स्फूर्त सकारात्मक प्रयासले अाज एउटा यस्तो सद्‌गुणको चक्र शुरु भएको छ कि य यति धेरै माया र चासोँ  संसारले नेपाल प्रति शायदै कहिले देखाएका थिएनन् होला! सामाजिक सन्जालको सदुपयोग गरि नेपाली युवाले अाफ्नो नेतृत्वको मुल फुटाएका छन्।

विपत्तिमा नागरिकहरु अात्तिएका हुन्छन्, कमजोर मनस्थितिमा हुन्छन्। नेतृत्वको पहिलो काम भनेकै ती कम्जोर नागरिक/सर्वसाधारणलाई मजबुत बनाउन नवीन तरिकाहरु तुरुन्तै अपनाई राख्नु हो। गलत गरिएला कि भन्दै अनिर्णयमा बस्नु भन्दा शुरु गरिहाल्दै सुधार्दै जानु नै विवेकशील नेतृत्व हुनेछ। विवेकशील नेपालीको एउटै मात्र मोवाइल नम्बर थियो जुनबाट तुरुन्तै हामीले २४ घण्टे हटलाइन फोनको व्यवस्था शुरु गर्यौं। यसै नम्बरमा नै पहिलो २ हप्तामै ८०० भन्दा बढि मद्दतका अपिलहरु अाए। विस्तारै सञ्चारमा सहजता आएपछि अरु फोन पनि थप्यौं। फेसबुक लतायत सामाजिक संजालमै हजारौं गुहारहरु अाए। एक्लै धेरै सकिन्न भन्ने कुरा प्रश्ट थियो त्यसैले अाफूले नसक्ने कामहरु तुरुन्तै अरु सञ्जालमा फैलाउने र सम्बन्धित निकायमा पुर्याउने काम पनि गर्य़ौं। अरुले पनि त्यसै गर्न थाले। हजारौं मद्दत गर्ने र मद्दत गर्न चाहनेलाई जोडिदिने काम भयो।

शिक्षण, वीर, भक्तपुर अस्पतालहरुमा सहयोग कक्ष शुरु गर्दा अन्जान नागरिकहरु त्यहाँ अाई कसैले सित्तैमा पकाएको खाना ल्याए त कसैले विरामी कुरुवाको लागि सुत्ने कम्बल र पाल त कसैले पानी अनि अौषधीको ब्यबस्था गरेर नेतृत्व देखाईदिए। कसै कसैले त अनजान बिरामीको कुरुवा समेत बनिदिए। सर्वसाधारण नागरिकले देखाएका यी अपार उदारताले नेपालको भविष्य उज्ज्वल छ भन्ने कुरा हाम्रो मनमा प्रश्टायो। अस्पतालमा लाश व्यवस्थापन देखि राहत क्याम्प सफा गर्ने, अस्थायी शौचालय बनाउने देखि अस्थायी शिविरै बनाएका नेपाली युवाको यो जोश, होस र विवेक देख्दा नेपालको नेतृत्व कसमा छ र कति छ हामीलाई प्रश्ट भयो!

कुनै पनि नेतृत्वले देशको शासन व्यवस्थामा देखिएको शून्यतालाई तुरुन्त संबोधन गर्न सक्नुपर्छ। हामीले गरेको त्यत्ति नै हो। नेपाली ज्यान बचाउन सरकारको भूमिकामा हस्तक्षप नगरि केवल देशको केन्द्रीय र स्थानिय नेतृत्वको कमी कमजोरीलाई संबोधन गरिदिएका मात्र हौं। जब पाल (त्रिपाल) मागको लागि चरम गुहार अायो तब पुकार बमको नेतृत्वमा हाम्रा सदस्यहरुले सुदूर पश्चिमको धनगढीमा पुगी ट्रकमा राखी टनै टन त्रिपालको रोलहरु रातारात काठमाडौं ल्याय़ौं। बाटैमा फोन अायो – मकवानपुरमा चेपाङ्ग बस्तीमा खुला अाकाशमा १ हप्ता देखि सुतिरहेका नेपालीहरु छन् अरे। यो थाहा पाउना साथ केही सय त्रिपाल भरतपुरमै खसाल्यौं जुन बुढानिलकण्ठ स्कुलका भुतपूर्व विधार्थी संगठन सेब्सका साथीहरुले मकवानपुरका चेपांग गाउँ तिर लगे। हामीले सिकेको शिक्षा यहि हो: यस्तो महाविपत्तिमा नेतृत्वको प्रमुख दायित्व भनेकै नेपालीको जीवन जता जता बचाउन वा उनका जीवनयापनलाई कम कष्टकर बनाउन सकिन्छ त्यतै त्यतै लागी पर्नु हो।

नेतृत्व भनेको नागरिकलाई जिम्मेवार बनाई राख्नु पनि हो। जब गणेश हिमाल पारी उपल्लो गोर्खाको चुम उपत्यकावासीले अाफै हेलिकप्टरको बन्दोबस्ती गरे त्यसमा जति सकिन्छ त्यति पाल र चामल थपिदियौं। अाम नागरिकलाई नै अगाडि राखेर काम गर्दा अझ चुस्त हुँदो रहेछ राहत कार्य। यसले नागरिक उत्तरदायित्वलाई हौषला पनि मिल्दो रहेछ। जब सिन्धुपाल्चोकका नागरिकहरुले हतारमा बटुलेका केही सामग्री बोकी अाए त्यसमा अाफू कहाँ दान गरिएका राहत उनीहरुलाई थपी पठाइदियौं। लुटपाट होला कि भनेर कतै स्वयंसेवक पठायोँ त कतै सुरक्षा गाडी अनि गाँठो फुकाउन पर्ने स्थितिमा विवेकशील नेपालीको नाममा अाधिकारिक पत्र नै काटेर पठाय़ौं। जब चिकित्सकहरु विकट गाउँ गई सेवा गर्छु भनि अगाडि अाए त्यो टोलीलाई चाहिने रसद पानी देखि स्वयंसेवक र अौषधीहरु पनि उपलब्ध गरायौं ।

जुन सरकार स्थानीय तहसम्म पुग्न सक्दैन त्यो सरकारी काम गर्नै सक्दैन। जब देशकै नागरिक र विश्वले देशको निर्वाचित सरकारलाई भन्दा नागरिकका साना-साना टोली वा कुनै एउटा राजनीतिक दललाई विश्वास गर्न थाल्छ त्यो अवस्था लोकतन्त्रको लागि अत्यन्त दुखद परिष्थिति हुन जान्छ। हामीले यो प्रष्टसँग भन्नैपर्छ – अहिलेको समस्या भुकम्पले भन्दा पनि भुकम्पको कु-व्यवस्थापन भएकैले विकराल रुप लिएको हो। हामी पुगेका अति प्रभावित १५ जिल्लामा स्थानीय नेतृत्वको नामो निशाना थिएन। स्थानिय सरकारको टुंगो नलाए पछि त त्यहाँ जवाफदेहिता मात्र होईन पहुँच पनि नहुने भयो, भेदभाव अझै बढ्ने भयो र समग्रमा भन्नु पर्दा जनतालाई लोकतन्त्र प्रति विश्वास नरहने भयो। त्यसैले हाम्रो अनुभवले यहि बताउछँ अब पनि तुरुन्तै जन-निर्वाचित स्थानिय सरकार नबनाउने हो भने अनगिन्ति नेपाली जीवन अझै खेर जाने र लोकतन्त्र नै धरापमा पर्ने छ है !

नेतृत्वको काम महाविपत्तिको बेला अाउने शंका-उपशंकालाई दबाई राखी अाफ्नो उदारता देखाउनु हो। यस महाबिपत्तिबाट विवेकशील नेपाली दलले सिकेको पाठ यही हो। मनमा कतिपय शंका हुँदाहुँदै र “अरुले के भन्लान्” भन्ने दुविधा हुँदाहुँदै पनि हामीले विश्वको मद्दतलाई स्विकार्न सिक्यौँ, चाहे ती अनजान स्वयंसेवक देखि विदेशी चिकित्सक टोली, बौद्ध भिक्षुहरु देखि संघ-संस्थाहरु, अमेरिकी प्रकोप स्वयंसेवकहरु देखि युरोपका पर्यटकहरु, अरु राजनीतक दलका कार्यकर्ता देखि छिमेकी देशका सबैसँग मिली नेपाली ज्यान बचाउने कोशिश जारी राखी रहेकाछौं। समस्या अाउँछन्, गल्ती पनि गरिन्छ, तर जब यो पिडामा दुनिया पुरै नेपालसँग एक हुन खोजी रहेको बेला शंकाले मन साँघुरो पार्नु सट्टा अाफ्नो मन अझै उदार बनाउनु शाहसपूर्ण हुनेछ।

अन्तत: नेपालमा नेतृत्वको कर्तव्य भनेकै नेपालीको जीवन रक्षा गर्नु हो। जीवन बचाए त बचेको जीवनलाई शान्त, सुन्दर र संमृद्ध बनाउन सकिन्छ। शक्तिमा हुँदा होस् वा नहुँदा, नेपालको राजनीतिक दलका हरेक केन्द्रिय र स्थानिय नेतृत्व/सदष्यको कर्तव्य नेपाली नागरिकहरुको रक्षा गर्नु नै हो। अहिलेको देशलाई चाहिएको २१ वौँ शताब्दी सापेक्ष नेतृत्व भनेको नेपालीलाई उद्धार गर्नु मात्र होइन, राहत दिनु मात्र पनि होइन, उसको घर-परिवारलाई पुन:स्थापना गरि उनको घर-समाजको दिगो पुन:निर्माण गर्दै देशकै दिगो उत्थानको बाटोमा लम्काउनु नै हो।

नेपाल अामाको जय होस्।

 

उज्वल थापा

अध्यक्ष

विवेकशील नेपाली दल