भूकम्पको के दोष!

dharahara

एकैपलमा झण्डै ९,००० नेपाली मारिनुमा भूकम्प जिम्मेवार कि अहिलेसम्मको राजनीतिक–आर्थिक–सामाजिक संरचना? भूकम्पलाई दोष दिने हो भने यो त प्राकृतिक नियमितता हो। हरेक वर्ष संसारभरि यस्ता प्राकृतिक विपत्ति आइरहन्छन्–गइरहन्छन्। केही दिनअघि जापानमा पनि नेपालमा जस्तै ७.८ रेक्टरको भूकम्प गयो। तर, त्यहाँ एक जना पनि मरेनन् त! त्यसो भए के फरक रह्यो त त्यहाँ र यहाँ?

मूल कुरो त्यहाँको नेतृत्व र संरचनाले आफ्नो नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता बनाएको छ। हाम्रो नेतृत्वको चेतनामा नागरिक रक्षा महत्वपूर्ण कुरा हो भन्ने नै छैन। किन यस्तो भयो त? पहिलो कुरो त जीवन रक्षा गर्ने भनेको के हो त्यो बुझ्नुपर्छ। विपत् परेपछि बचाउनु मात्रलाई जीवन रक्षा गरेको मान्ने कि पूर्वतयारी गरी ज्यान बचाउने संरचना र चेतना जगाउनेलाई पनि भन्ने? विपत् आएपछि त जनावरले पनि जीवन रक्षा गर्छ। मानव त त्यो हो, जसले विपत् आउनुअघि नै बच्ने तरिका बनाइसकेको हुन्छ। यही कारण ऊ र उसको समाजको क्षति न्यून हुन्छ। एकचोटी सोच्नुहोस् त, कसले यस्तो वातावरण बनायो, जहाँ पुस्तौँअघि बनेका माटोकै घरमा बस्न हामी अहिले बाध्य छौँ? कसले त्यस्तो वातावरण बनायो जहाँ नियम मिची जथाभावी कमसल घर–बाटो बनाउन दिइयो? प्रजातन्त्र आएको दुई दशक बित्दा पनि कसले नजिकको अस्पताल पुग्न दिनहुँ हिँड्नुपर्ने बाध्यता कायमै राख्यो? कसको नेतृत्वमा यस्ता संरचना बने जसले विपत्मा लाखौँ नेपालीलाई हप्तौँसम्म एउटै त्रिपाल पनि दिन सकेन र खुल्ला आकाशमा भोको पेट बोकी सुत्न बाध्य तुल्यायो?

कुरा स्पष्ट छ, हाम्रा हजारौँ दिदीबहिनी–दाजुभाइको मरणमा हाम्रै नेतृत्वको शैली जिम्मेवार छ। जुन नेतृत्व प्रणालीअन्तर्गत निर्देशित रही जसरी कमसल घरदेखि बाटाहरू बने त्यसैद्वारा निर्दोष नेपाली मारिए। अस्पताल नजिक नबनाइदिँदा र बनाइएका पनि विपत्मा काम नलाग्ने खालका हुँदा धेरै नेपाली मरे। देशको नेतृत्व भनेको त जनताको अभिवाभक हो। हाम्रो जीवन बचाउने अनि सहज बनाइदिने दायित्व हाम्रो नेतृत्वले बोकेको छ। त्यसैअनुरूप नियमकानुन बनाइ त्यसको पालना गराइ देशलाई अघि बढाउने जिम्मेवारी नेतृत्वको हो। विपत्ति आउँछ भन्ने थाहा हुँदाहुँदै केही नगर्ने हाम्रा राजनीतिक, आर्थिक र सामाजिक नेतृत्व यस विपत्को जिम्मेवार हुन्। कुनै एक नागरिकले गल्ती गर्दा थोरै ज्यान जाला, तर देशलाई नेतृत्व गर्नेले नै गल्ती गर्दा हजारौँ मान्छे मारिन्छन्, लाखौँ घरबारविहीन हुनपुग्छन्। अनि लाखौँ निर्दोष नेपाली गरिबीको भुमरीमा फस्छन्।

अहिलेसम्म देशको नेतृत्व सम्हालेकालाई मेरो प्रश्न के छ भने, तपाईंहरू कस्तो नेतृत्व प्रदर्शन गर्दै आउनुभएको छ? जहाँ पूर्वअनुमानित विपत्ति आउँदा पनि लाखौँ घर भत्किन्छन्? हजारौँ विद्यालय ढल्छन् अनि असंख्य बाटा बिग्रिन्छन्! तपाईंले कस्तो समाजको परिकल्पना गरिराख्नु भएको छ, जसको संरचनाले भूकम्पको एकै झट्कामा झण्डै ९,००० नेपाली मर्छन्? लाखौँ घरबारविहीन नेपाली परिवारलाई के जवाफ दिनुहुन्छ? सुन्दर, समृद्ध नेपाल बनाउँछु भन्ने दसौँ लाख विद्यार्थीलाई के स्पष्टिकरण दिनुहुन्छ? अनि तपाईको नेतृत्व शैलीका कारण आत्मसम्मान गुमाइसकेको देशदेखि दिक्क बनेका ३ करोड नेपालीलाई तपाईंको जवाफ के हुनेछ?

हाम्रो देशका नागरिकलाई पनि म सोध्न चाहन्छु– कस्तो नेतृत्व चुनिराखेका छौँ, जसले हजारौँ नेपालीको असामायिक मृत्यु हुने संरचना जोगाइराख्छ? कस्तो नेतृत्वलाई तपाईंले साथ दिनुभएको छ, जसले बनाएको प्रणालीले दसौँ हजारलाई एकैपटक अस्पताल पुर्यातउँछ? कस्तो नेतृत्व पद्धति जोगाइराख्नु भएको छ, जसले लाखौँ परिवारलाई भोको पेटमा खुल्ला आकासमा सुताइ एक बोरा चामल र एउटा त्रिपाल माग्न बाध्य बनाउँछ? नेतृत्व भनेको तपार्इंले रोज्ने हो, तपाईंले नै बनाउने हो अनि तपाईंले नै ठड्याइराख्ने हो। स्मरण रहोस्, अझै पनि पश्चिम र पूर्वी नेपालका ५८ जिल्ला जहाँ भूकम्पले प्रत्यक्ष प्रभाव पारेको छैन त्यहाँ बस्ने नेपाली उस्तै खतरनाक संरचनामा बस्न बाध्य छन्। त्यो संरचना कुनै पनि बेला अर्को भूकम्पले सखाप पारिदिनसक्छ। अनि फेरि हजारौँ (लाखौँ?) निर्दोष नागरिक मारिनसक्छन्।

कि तपाईं विकल्प खोज्दै हुनुहुन्छ? यस्तो वैकल्पिक समाज र संरचना बनाउन लम्कन चाहनुहुन्छ, जहाँ अहिलेको भन्दा ठूलो भुइँचालो आउँदा पनि न्यून क्षति हुनेछ। जहाँ बाटो भत्के पनि तुरुन्तै पहिलेभन्दा बलियो बन्छ। दुर्भाग्यले घर ढले पनि एक रात पनि खुला आकासमा गुजार्नु पर्दैन– एक बोरा चामलको लागि हात जोड्नु पर्दैन– बिरामीलाई समयमै अस्पताल पुर्याटउन सकिने छ।

अहिलेकै नेतृत्वले नेपालीको जीवन रक्षा कदापि गर्न सक्दैन, वैशाख १२ को भूकम्प र त्यसपछिको जीवन यसको साक्षी छ। अब नेपालले नेपालीको जीवन भक्षक होइन जीवन रक्षक नेतृत्व खोजेको छ। हरेक नेपालीसँग आज प्रष्ट दुइटा बाटो छ। राजनीतिलाई पानीसँग तुलना गर्ने हो भने दुषित पानी सफा गर्ने बाटो लाग्ने कि अझै ढल मिसाइराख्ने? अर्को भूकम्प वा अन्यखाले विपत्ति आउँदा के गर्ने? एक बोरा चामल र एउटा त्रिपाल लुछाचुँडी गर्ने कि २१ औँ शताब्दी सापेक्ष नेतृत्व बन्ने–बनाउने?

राजनीति र देशको सम्बन्ध भनेको नुन र खानाको सम्बन्धजस्तो रहेछ। खानाका परिकार जति मीठो बनाए पनि त्यसमा नुन नहाली सुखै हुन्न। नुन पुगेन वा चर्को भयो भने पनि खानयोग्य बन्दैन। त्यसैले राजनीतिबाट टाढिएर पनि समाधान निस्कँदैन। धेरै राजनीति गरेर पनि काम छैन। त्यसैले अब पनि सही नेतृत्व चुन्न, बनाउन र थेग्न आफूभित्रै सुतिरहेको विवेक जगाएनौँ भने सानै विपत्तिले पनि तपाईंको छोराछोरी, आमाबाबुमात्र होइन आदरणीयय देशका सपुत पनि गुमाउने छौँ। अनि यसको दोष पनि आफ्नो भाग्य वा निष्ठुरी भगवानलाई दिनेछौँ। अब भगवानलाई होइन हाम्रै नेतृत्वलाई औँलो ठड्याउने बेला आएको छ। २१ औँ शताब्दी सापेक्ष नेतृत्वको माग छ अहिले। जस्तोसुकै विपत्मा पनि आफ्नो जीवन रक्षा गर्ने नेतृत्व चाहिरहेका छन् नेपालीले।

कस्तो हो त यो २१ औँ शताब्दीको नेतृत्व जसले नेपालीको रक्षालाई पहिलो प्राथमिकतामा राख्छ?

१. यस्तो नेतृत्व जसले देशलाई विपत्को सामना गर्न पूर्वतयारी गरिराख्छ

२. यस्तो नेतृत्व जसले मद्दत गर्न चाहने र मद्दत आवश्यक रहेकाबीच पुल बनिदिने काम गर्छ।

३. यस्तो नेतृत्व जसले आफू त्रसित हुँदा पनि वरिपरि सबैलाई सहज व्यवस्थापन गरिदिन्छ।

४. यस्तो नेतृत्व जसले विपत्मा नागरिकलाई मजबुत बनाउन नवीन तरिका अपनाउँछ।

५. यस्तो नेतृत्व जसले गलत गरिएला कि भन्दै अनिर्र्णयमा बस्नुभन्दा सुरु गरिहालेर सिक्दै, सुधार्दै जाने बाटो निकाल्छ।

६. यस्तो नेतृत्व जसले देशको सरकारका शासन व्यवस्थामा देखिएका कमजोरीलाई तुरुन्तै सम्बोधन गर्छ।

७. यस्तो नेतृत्व जसले स्थानीय तहमा सक्षम नेतृत्व बनाइ त्यहाँका नागरिकलाई नै जिम्मेवार बनाउने काम गर्छ।

८. यस्तो नेतृत्व जसले महाविपत्तिको बेला आइपर्ने धेरै शंका र अविश्वासलाई कुल्ची उदारताको उदाहरण बन्छ।

९. यस्तो नेतृत्व जसले नेपाली नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्छ।

भूकम्पलाई अब उप्रान्त कहिले दोष दिने काम नगरौँ। बरु यो गैरजिम्मेवार सामाजिक–राजनीतिक–आर्थिक चक्रव्यूहलाई नै तोड्नेबारे सोचौँ। भूकम्पपछिको नेपालको यो कालखण्डमा अहिलेको नेतृत्वको शैली पूर्णरूपमा असान्दर्भिक प्रमाणित भएको छ। अबको नेपालले २१ औँ शताब्दी सापेक्ष नेतृत्व खोज्दै छ। जसले नेपालीलाई उद्धार र राहत वा पुनर्स्थापना गर्नेमात्र होइन, समाजकै दिगो नवनिर्माण गर्दै देशकै उत्थान हुने बाटोमा लम्काउँछ।

असार ३ , २०७२ को नागरिक खबर पत्रिकामा पनि पढ्नुहोला