हामी अहिले एकदमै डरलाग्दो घेरामा फसेका छौं। मेलै राजनीति र राजनीतिज्ञहरुको कुरा गर्न लागेको होइन नि फेरी । म त हामी नागरिककै बारेमा कुरा गर्दैछु।
In English here.
एकै छिन् एउटा घटनाको कल्पना गरौं।
म हतारिदै काठमाण्डौंको दरवारमार्गमा एउटा जरुरी व्यापारिक कामको लागि एउटा मान्छे भेटन गइरहेको हुन्छु। मलाई ढिलो हुदैंछ। बाटोमा ट्राफिक पनि अलि तनावपूर्ण नै छ त्यसैले मैले ट्याक्सी चढ्ने निधो गर्छु। ट्याक्सी चालक हेर्दा अधबैंशे उमेरको देखिन्छ। हेर्दा नराम्रो मान्छे जस्तो पनि देखिदैन। तर उसले कृतिम मिटरमा राखेर मलाई ठग्ने निधो गर्छ ।
यस्तो नगरोस पनि किन! काठमाडौंको महंगीमा परिवार धान्नै अत्ति भैसक्यो, उन्को ट्याक्सी साहूलाई कमाओस नकमाओस ठोस रकम दिनहुँ बुझाउनै पर्छ अनि बचेको नाफा बाट परिवारको लागी रासन पानी किन्नै पर्यो। भनेपछि केहि त गर्नै पर्यो नाफा बढाउन, त्यसैले उसले मलाई मिटरबाट ठगेर बढि पैसा लिन्छ। म चुपचाप नुन खाको कुखुरा जस्तो भएर मनमनै रिसले चुर भएर बस्छु। आफू ठगिएको थाहा छ मलाई तर ठोस प्रमाण केहि नभएको कारणले केहि भन्न सक्दिन। मैले पैसा तिर्न त तिर्छु तर मलाई वाक्क लाग्छ र मनमनै उस्लाई धिक्कार्छु।
त्यहि साँझ, ट्याक्सी चालक आफ्नो चारजनाको परिवार बस्ने डेरामा जान्छ। अनि घरमा बुढी र छोरा छोरी कुरेर बसेकी हुन्छे। कोठामा जाँदाखेरि बाटोमै पर्ने किराना पसल अगाडि ऊ रोकिन्छ र राति खानको लागि (ठगेर कमाएको पैसाले) केहि खाना किन्छ। तर खानाको भाउ दिन पर दिन आकाश्शिएको देख्दा पसले दिदीलाई सोध्छ, “ए साहुनी, किन यसरी महँगो भा को हँ ? उत्तर आउँछ – भाई तराई बन्द भा भै छ, त्यसैले हो, तिमीलाई त झनै थाहा होला नि” । ट्याक्सी चालकलाई थाहा छ – बन्द सन्द केहि छैन, यो त सिधा ठगी हो तर उसँग केहि प्रमाण नभएको हुँदा उ चुप्प लाग्छ। यता पसले साहुनी एकदम मिहिनेती भए नि र आफ्ना ग्राहक कसैलाई ठग्ने मनसाय नभए नि अपसोच, साहूनी पनि ठग्नै बाध्य ठान्छिन् । किन ठग्छिन् त त्यो ट्याक्सी चालकलाई ?
अब हेर्नुहोस, साहुनीको घरबेटीले जथाभावि घरभाडा बडाइरहेको छ त्यसमाथि उन्ले आफ्ना दुई बच्चालाई “प्राइभेट बोर्डिङ्ग स्कूल”मा कुनै पनि हालतमा पठाउनै पर्छ चाहे त्यो उज्यालो भविष्य देखाउन लागि होस् वा आफ्नो छिमेकीको देखासिकी गर्न नै किन नहोस्।
भोलिपल्ट ती साहुनी एक एक पैसा गरेर जोडेको “दु:खको कमाई” सब बटुलेर आफ्नो बच्चाहरुको स्कूल जान्छिन् र मासिक शुल्क तिर्छिन। त्यहाँ उनी सोध्छिन, “होईन सर, किन यो स्कूलले शिक्षा यसरी शुल्क माथि यत्रो अरु थफ भारी खर्च जोड्नु भाको हँ ? एक निर्दयी उत्तर आँउछ,” तपाईलाई थाहा नै छ, शिक्षकहरुको मागले गर्दा, अनि बढ्दो महङ्गी, सबै कुरा धान्नै गाह्रो हुदै छ, नया बल्क बनाँऊदै पनि छौँ , कम्पुटरहरु थप्दै छौँ। बच्चैको लागि हो।” जत्ति चित्त नबुझेपनि चुपचाप आफ्नो पैसो बुझाएर लुखुरलुखुर पसल फर्किन्छिन्।
त्यस स्कूलका संचालक निकै चतुर छन्, उनले स्कूलबाट निकै राम्रो नाफा निकाल्न सफल पनि भएका होलान् र उनि आफ्नो परिवारसंग शहरमा आरामदायक जिन्दगी बिताँउलान । तर आजकल उनलाई पनि विधार्थीका अभिभावकहरुसंग अत्याधिक पैसा थुत्न बाध्य बनाइएको छ। कसरी भन्नु होला ।
अब बाध्य नहुन पनि कसरी !
आजकल यिनलाई दिउसै चन्दा आतंकले अत्याएको छ -कहिले युवाहरुको नाममा, टोल बिकासको नाममा, संघ-संस्थाहरुको नाममा, राजनीतिक दलहरु आदिको नाममा चन्दा दिदाँ -दिदैमा लखतरान भईसके उनी। उनीलाई दिन रात सताउँछन् दिएन भने मार्ने धम्की समेत् दिन्छन्। उनि पनि असाहय भएका छन्। केहि न केहि त गर्नै पर्यो ! त्यसैले उनले अभिभावकहरुबाट बढि भन्दा बढि पैसा सजिलै थुत्ने बिकल्प देख्दैन। त्यसैले लुट्छ बिधार्थीका अभिभावकहरुलाई। तर त्यसले पनि पुग्दैन। अनि आँउदो शैक्षिक वर्षमा उनी अझबढी विधार्थीहरु भर्ना गर्न कस्सिन्छ। त्यसैले उनले आफ्नो स्कूलको भव्य रुपमा प्रचार गर्छन्। स्कूलको चरित्र राम्रो देखाउन थुप्रै नौटङ्की गर्छन – कसरी स्कुललाई प्रभावशाली देखाउने भनेर। अनुमान लगाउनुहोस् ,कोबाट यसका निम्ति परामर्श पाइरहेका छन त यिनले?
अनुमान लगाउनसक्नुहुन्छ ?
हो ! मैबाट! (म जस्तै मान्छेहरुबाट)
अनि भन्नुहोस् दिनुहुँ ठगिएको मैले पनि त यो स्कुल संचालकलाई ठग्छु नि सानै मात्रा भए नि आफ्नो खर्च उठाउन।
वास्तवमा को चाँहि ठगियो त?
म जसलाई बारम्बार ट्याक्सी चालकबाट ठगेका छन् जसलाई बारम्बार तरकारी पसलेले ठगेका छन् जस्लाई बारम्बार स्कूल सन्चालकले ठगेका छन् जसलाई फेरी मैले नै ठगिरहेको छु। यहि ठगीको चक्रब्युहँ भित्र हामी सबै फसेको छौँ ।
हरेक दिन हामीमा दुविधा हुन्छ, “यस्तो चक्रब्युहँमा फसीँ रहुँ या त यसको अन्त्य गर्ने कस्सिऊँ”।
यदि यो चक्रब्युहँ बाट निक्लिने हो भने मैले आफुबाटै नै यो ठगीमा नलाग्ने प्रयास शुरु गर्नुपर्छ।
प्रश्न केवल यहि हो:
के म (तपाँई) यो ठगीको चक्रब्युहँ तोड्न तयार छु आजै?
