नयाँ शक्ति बनाउने कि जगाउने ?

सेतोपाटी पत्रिकामा पढ्नको लागि

नेपालमा नयाँँ शक्ति बनाउने तर्क धेरै सुनियो। खुशी पनि लाग्यो किन कि म अाफै नयाँ शक्ति बनाउन मैदानमा उत्रिएको छु। त्यसैले तपाईँ समक्ष म अाफ्नै एउटा अनुभव यहाँ बाड्दैछु।

 मुल कुरो नयाँ शक्ति बनाउनु अघि अाफै भित्र भएको शक्ति यानी कि विवेकलाई जगाएर त्यसको निरन्तर प्रयोग गर्नु जरुरी छ। यदि समाजमा विद्दमान कु-संस्कार वा अहिलेका नेतृत्वको पूर्ण असफलताले तपाईको निन्द्रा हराम गरेको छ भने वा सर्वसाधारण नेपालीको यस विषयमा चकमन्न मौनता र जताततै नैतिकता लत्याई अपनाएको छाडापन जस्ता हरकतले तपाईलाई उकुसमुकुस बनाएको छ भने तपाईभित्र विवेक जाग्न खोजेको यो प्रष्ट संकेत हो।

राजनीतिलाई फोहरी खेल भन्दै पन्छिने हामी धेरै नयाँँ शक्ति कुरी बस्छम् तर अाफू भित्र भएको शक्ति ‘विवेक’ लाई जगाई प्रयोग गर्न भने अाँट्दैनौ। अनि कस्तुरी जस्तै अाफ्नै वासनाको खोजीमा टाढाटाढा भौँतारिदै हिँड्छौ। जब अाफू भित्र जाग्दै गरेको विवेकलाई प्रयोगमा ल्याउँछौँ यसैले नै  नयाँ शक्तिको मुळ फुटाउनेछ। विवेक जागेकाहरु जब अाफै शक्तिमा परिणत हुन्छौँ अनि हामीहरु संगठित हुदाँ नै समाजमा “नयाँँ शक्ति”को रुपमा कहलिन्छौँ। त्यसैले नेपालमा नयाँ शक्ति बनाउन आफै भित्र सुतेको शक्तिलाई पहिले जगाउनु पर्छ। यसमा हामी सबै प्रष्ट भए हुन्छ।

मानौ या नमानौँ, हाम्रो देश अहिले हाम्रो लागि तेस्रो प्राथमिकतामा पर्छ। पहिलो प्राथमिकता हाम्रो घर-परिवार छ भने दोस्रो प्राथमिकता हाम्रो पेशा-व्यापार बनेको छ। अनि तेस्रोमा मात्र समाज र देश। यदि तपाईं एक असल नागरिक बन्न चाहनुहुन्छ भने यो पनि ठीकै छ। पहिले घर परिवार राम्ररी सम्हाल्नुस् । दोस्रो, आफ्नो काम राम्ररी गर्नुहोस् अनि अाफूले बचाएको समय समाज वा देशको सेवामा लाग्नुहोस्। तर यदि तपाईं नागरिक मात्र नभई अाफैमा शक्ति जगाउन चाहनुहुन्छ तपाईको प्राथमिकता जत्ति घर-परिवार र पेशा-व्यापार हो त्यत्ति नै समाज वा देश पनि हुनै पर्छ।

विवेकको जागरण तपाईंमै निर्भर छ। जबसम्म तपाईंमा म राजनीतिलाई व्यवहारमा ढाल्छु भन्ने इख आउँदैन तबसम्म यो नयाँ शक्ति तपाईं भित्र बस्दैन। जब सम्म अरुले अाई बनाइदेला भन्ने अल्छीपन तपाईं त्याग्न सक्नु हुन्न, तपाईं कुनै पनि सकारात्मक शक्तिको हिस्सा बन्न सक्नु हुन्न। यदि तपाईं बलेको अागो ताप्दै बस्ने खालको हुनुहुन्छ वा मेरो गोरुको बाह्रै टक्का भन्ने सोच बनाई बस्नु भएको छ भने यी कुसंस्कार नत्यागी तपाईंमा नयाँँ शक्ति जाग्दैन । कोठाभित्र रमाउँदै ठिक्क हुने अनि भोलि उठ्दा चट्ट देश बनेको हेर्न पाऊँ भनी कामना गर्नेमा पनि यो जाग्दैन। यो नेपाल कहिले ढल्छ र अर्को नेपालमा तु जान पाउँ भनी सोच्नेहरुमा होस् वा “यस्तै हो केही हुनेवाला छैन” भनिभनी गनगन गर्दै हिडेर पनि विवेक कदापि जाग्दैन।

नयाँँ शक्ति (विवेक) कसरी जाग्छ त? नेतृत्व आफैँ बन्दैन, यो त बनाइन्छ भन्ने कुरा जब मनन गर्न थाल्नु हुन्छ तब नयाँँ शक्ति जाग्न थाल्छ तपाईँमा। जब बिदेशीको बनिबनाउ स्वर्गमा पलायन हुनुको सट्टा यही भत्केकै स्वर्ग बनाउन कस्सिनुहुन्छ, तब नयाँँ शक्ति जाग्छ तपाईँमा। जब ‘हुने खानेलाई होइन, हुँदा खानेलाई खुवाउने’ जोश अाँउछ तब विवेक जाग्न थालेको प्रत्यक्ष महसुस गर्नु हुन्छ। जब बोल्ने-लेख्ने-पढ्ने लाई मात्र होइन गर्नेलाई पनि पालो दिन थाल्नुहुन्छ, तब जाग्छ विवेक। जब सकारात्मक बिचार सँगै सत्‌कर्मले दिन कटाउन अाँट्नुहुन्छ, तब जाग्छ यो “नयाँँ शक्ति”। जब अाफ्ना हरेक कार्यमा एक पल्टको दान नभई लगानी नै गर्न तम्सिनु हुन्छ, तब जाग्छ विवेक। अनि न हाम्रो देश तात्नेछ नयाँँ शक्तिको उर्जाले।

मान्नुहोस् नयाँँ शक्ति अहिले पनि तपाईं बाहिर होइन, तपाईं भित्रै बन्दै छ। त्यसलाई अात्मसात् गर्नुहोस् र अाफै विकल्प बन्नुहोस्। म विश्वस्त छु, तपाईँ-हामीलाई यसरी विवेक बोकी नेपाली राजनीतिको पोखरीमा हाम्फाल्दै सफा गर्दै गरेको देख्नेहरु सबैमा नयाँँ शक्ति पलाउन थाल्नेछ। भारतको दिल्लीमा भरखरै अाम अादमी दलले जित्नुको पछाडी दिल्लीवासीहरुमा पर्याप्त मात्रामा विवेक जाग्न थालेको प्रमाण हो। नेपालमा पनि यो संख्या उत्साहजनक रुपमा बढ्दैछ। त्यसैले अब नकुर्नुहोस् विवेक जगाउन तिर लाग्नुहोस्।

नेपालमा हामी धेरैले नयाँँ बन्ने शक्तिमा दमदार मार्गदर्शन, नेता, स्रोत, सदस्य सबै एकै चोटि खोज्दैछौँ। नयाँँ शक्ति शुरुमै पाको हुँदैन, पाकोपन तपाईँ-हामीले थप्नुपर्छ। भरखर बामे सर्दै गरेको बालक जस्तै बेलाबेलामा लड्छ पनि, उठाउने र तहलाउने जिम्मा तपाईं हामीले लिनै पर्छ। कुनै बन्दै गरेको नयाँ शक्ति परिपक्व लागेन भने परिपक्व बनाउन आउनुहोस्। किनारमा चाहिँ नबस्नुहोस्।

अन्तत: नेपालमा नयाँँ शक्ति बनाउने ठेक्का कोही एक व्यक्ति, एक परिवार वा एक समूहले पाएको होईन। जति ठेक्का अरुले पाएका छन् त्यत्ति नै ठेक्का नेपाल अामाले तपाईंलाई पनि सुम्पेकी छिन्। तसर्थ: तपाई भित्रैको त्यो उर्जाशील ईच्छाशक्तिलाई अगाडि नबढाए सम्म कुनै पनि नयाँँ ‘शक्ति’ बन्न सक्दैन।

जब तपाई विवेकशील हुँदै जानुहुन्छ, समाज विवेकशील बन्दै जान्छ। अन्तत: देश विवेकशील बन्छ। मैले बुझेको ‘नयाँँ शक्ति’ को परिभाषा यही हो नेपालमा। म विश्वस्त छु अबको ‘नयाँ’ अर्थात विवेकशील शक्तिको उदय तपाईं-हामी भित्र र तपाईं-हामी मिलेरै हुनेछ।