नेपालमा २१ औँ शताब्दी समय-सापेक्ष नेतृत्व बोकेको शक्ति कस्तो हुनेछ त?

Read in English here

गत केही महिना देखि संचार माध्यममा नेपालमा वैकल्पिक शक्तिको उदयको बारेमा विभिन्न चर्चा-परिचर्चा भयो। नेपाली समाजले भबिष्यको नेपालको नेतृत्व कस्तो हुने अपेक्षा गरेको छ भन्ने विषयलाई खोतालेका ती लेख र बहसले आगामी दिनहरुमा निकै महत्व राख्ने छ। नेपाली समाजलाई यस्ता लेख मार्फत झकझकाउने स्तम्भकारहरु प्रेरणाका पात्र हुनुहुन्छ जसका लागि सबै स्तम्भकारहरुलाई म धन्यवाद दिन चाहन्छु।

यसै विषयमा म वैकल्पिक शक्ति र २१ औँ शताब्दी समय-सापेक्ष नेतृत्व बनाउने अाधारहरु बारे अाफ्नो २ वर्ष लामो पृथक् अनुभव यहाँ थप्न चाहन्छु जसले गर्दा यस मुद्दालाई अझ वैधता दिन सक्छ।

दुई वर्ष अघि देशमा अस्थिरता र देशको नेतृत्वमा देखिएको दूरदर्शिताको कमी, इच्छाशक्तिको अभाव, खुट्टा तान्ने प्रवृति र चरम भ्रष्टाचार जस्ता कु-संस्कारबाट नेपालको राजनीति रुमल्लिरहेको बेला एकाएक पहिलो संविधान सभा विघटन भयो। यसले नेपाली राजनीतिमा अन्यौल मात्र नल्याएर आम नागरिकमै देशको नेतृत्व प्रति पहिले कहिलै नदेखिएको चरम वितृष्णा नै पैदा गर्यो। यो संविधानसभा विघटन भए लगत्तै सबैको मनमा एउटै प्रश्नले पोलिरहेको थियो “अब के गर्ने?”

यही मूल प्रश्न लिएर हामी समाजका विभिन्न पेशा र पृष्ठभूमिका नागरिकहरु मिली उत्तर खोज्न लाग्यौँ। लगातार २२ साता र लगभग १,००० जनासँगको प्रत्यक्ष तथा अप्रत्यक्ष अन्तरक्रियापछि समस्या राजनीतिक संस्कार मै रहेछ, त्यसैले सबभन्दा जरुरी यो देशमा राजनीतिक कु-संस्कार बदल्नु पर्छ र यस्तो अामूल परिवर्तन ल्याउन एउटा पृथक् राजनीतिक विकल्प दिएर मात्र सकिन्छ भन्ने निष्कर्ष निक्लियो। परिवर्तन राता रात नहुने र नया संस्कार जरैबाट सुरु गर्नु पर्ने स्थितिले नै एउटा २१औँ शताब्दी समय सापेक्ष सु-संस्कृत राजनीतिक शक्ति “विवेकशील नेपाली” को सुरुवाती जग बस्यो।

यो दुई वर्षमा ‘विवेकशील नेपाली’ बनाउँदा हामी भित्र मूल प्रश्न नै “२१ औँ शताब्दी समय-सापेक्ष नेतृत्व बोकेको शक्ति कस्तो हुने छ त” भन्ने थियो। हामीलाई विश्वास थियो कि यस मूल प्रश्नको उत्तर अात्मसात् गरी अघि बढे मात्र नेपालमा कुनै वैकल्पिक शक्ति दीर्घकालीन रुपमा टिक्न सक्नेछ। अब नेपालमा उदाउने वैकल्पिक शक्तिमा हुनुपर्ने २१ औँ शताब्दी समय सापेक्ष नेतृत्वका हामीले अौँल्याएका कम्तीमा पनि १२ आधारहरु तल उल्लेख गर्दछु।

  1. परिणाम-मुखी:  यो शक्तिले परिणाम-मुखी मूल्य मान्यतालाई अात्मसात् गर्ने माटो र समय-सापेक्ष परिवर्तनशील सिद्धान्त बोकेको हुनेछ । हामीले अौँल्याएका यस माटो र समयसापेक्ष सिद्धान्तले कम्तीमा पनि यी ८ सुं-संस्कारलाई आत्मसात् गरेको हुनेछ – दायित्त्वबोध, उत्तरदायित्व, संमृद्धि, सशक्तीकरण, स्वतन्त्रता, विविधता, सेवक सरकार र समय-सापेक्षता।
  2. मध्यम-मार्गी: यो शक्ति मध्यम मार्ग बाट चल्नेछ जसले एकातिर नागरिकलाई जिम्मेवार र अर्को तिर नेतृत्वलाई जवाफदेही बनाइराख्नेछ। नागरिकलाई संमृद्धिको संवाहक बनाएर सेवक सरकारले लोक कल्याणको निश्चितता दिन तिर धकेल्नेछ।
  3. नरम-पन्थी: नरम पन्थी (चरम पन्थी होइन), संवेदनशील र संयम विचार बोकेका नैतिकवान् नेतृत्वले नै यो देशलाई एकतामा बाँधी राख्न सक्नेछ। यो शक्तिले जहिल्यै फरक काम भन्दा पनि भएकै काम फरक ढंगले गर्ने चेष्टा गर्नेछ।
  4. समतामूलक संमृद्धि: यो शक्तिले नेपालमा समतामूलक (समान) संमृद्धिलाई मूल मुद्दा बनाई राजनीतिलाई लोक कल्याण मुलक अर्थतन्त्रमै केन्द्रित राख्नेछ।
  5. प्रणाली अाधारित: समस्या मान्छेमा होईन संस्कारमा हो। त्यसै भएर प्रभावकारी व्यक्तित्व भन्दा पनि यो शक्ति प्रभावकारी प्रणालीमा अाधारित रहनेछ। यो शक्तिको प्रभावकारी प्रणाली (संरचना) भित्र सरकारको जस्तै ३ निकाय हुन्छ- व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका। उक्त शक्ति भित्रको व्यवस्थापिका चाहिँ वर्तमान राजनीतिक शक्ति जस्तै हुनेछ देश हाँक्न चाहने नेता र कार्यकर्ताले भरिएको। अनि यसको कार्यपालिका चाहिँ शक्ति हाँक्न चाहिने कुशल कर्मचारीतन्त्रले भरिएको हुनेछ। त्यसैगरी यो शक्ति भित्रको न्यायपालिकाले चाहिँ यसको मर्म र मूल्यमान्यतालाई जोगाउन नैतिकता र अनुशासित राख्ने शक्तिशाली दायित्व बोकेको हुनेछ। यी तीनै अंग स्वाधीन हुन्छन् र उनीहरुबीच नियन्त्रण र सन्तुलन कायम राखिएको हुनेछ जसले गर्दा यो शक्ति जवाफदेही, कुशल, सुंसंस्कृत र पारदर्शी रुपमा चल्न सक्नेछ ।
  6. आत्म-निर्भर कार्यकर्ता रहेको: नेपालमा राजनीतिक शक्तिहरु भ्रष्ट हुनुको एउटा मूल कारण तिनका कार्यकर्ताहरु परनिर्भर हुनु हो। यसलाई शुरुमै निमोठ्नु अत्यन्त जरुरी हुनेछ। अबको कुनै पनि वैकल्पिक शक्तिले हरेक सदस्यहरुलाई अनिवार्य रुपमा स्वरोजगार वा अवसर सृजना गर्ने दिशा तिर धकेल्नै पर्नेछ ताकि अरुको शरण वा प्रभावमा पटक पटक यसले अाफ्नो घुँडा टेक्नु नपरोस्।
  7. मूल्यमान्यतामा अडिग: यो शक्तिले अाफुलाई सु-संस्कृत राखी राख्न अाफ्ना हरेक सदस्यहरुलाई मूल्य मान्यतामा बाँच्न झक्झकाई राख्नेछ। दृष्टिकोण, निति वा कार्यशैलीमा सदष्यहरु बिच चरम बिभेद भए पनि शक्ति अघि बढ्छ तर यसले बोकेका मूल्य मान्यता सबै सदष्यले अात्मसात नगरे यो शक्ति विलिन हुदैँ जान्छ।
  8. नेतृत्व विकास गर्ने पद्दति: यो शक्तिले आफ्नो संगठन भित्र यस्तो सबल ‘नेतृत्व विकास प्रणाली’ विकास गरेको हुनेछ जसले लगातार बनाउदै गर्ने नेताहरु भित्र शक्तिमा पुग्ने मात्र होइन, पुगे पछि राष्ट्र र जनहितका काम गरी परिणाम देखाउने खुबीले भरिएको हुनेछ। यसले उत्पन्न गरेको नेताहरु जीत-हारको वातावरण होईन, जीत-जीतको वातावरण बनाउन निपुण हुनेछ्न्।
  9. पारदर्शी र योग्यतामुखी: अबको वैकल्पिक शक्तिले पारदर्शिता र योग्यतामुखी प्रणालीलाई भित्रैबाट अात्मसात् गरेको हुनेछ। चन्दाको श्रोत संकलन देखि चिया खर्चको विवरण सम्ममा  यसले पारदर्शिता लागू गरेको हुनेछ भने नेतृत्व बढुवामा योग्यतामुखी प्रणाली नै संस्थागत गरिएको हुनेछ।
  10. नियमित नेतृत्व फेरबदली: अन्तत: पद र शक्तिले सबैलाई भ्रष्ट बनाउँछ । तसर्थ, संगठनभित्र नेतृत्व नियमित समयान्तरमा परिवर्तन हुने संस्कार एकदम जरुरी छ। वैकल्पिक शक्तिले अाफु भित्र बनाएका प्रणालीले नेतृत्वलाई नियमित रुपमा फेरबदल गर्नेछ। २१औँ शताब्दीमा त्यागको तुलना परिणाम मुखी योगदानबाट गरिनेछ जसको वैज्ञानिक तरिकाले लेखाजोखा गरिएको हुनेछ ।
  11. युवा केन्द्रित: यो शक्तिको श्रोत र प्राथमिकता भनेकै युवा पिंढी हुन्। युवा र युवा ऊर्जा बोकेको नेतृत्वले यसको मान्यता र नयाँ राजनीतिक संस्कारलाई गाउँ गाउँ सम्म लैजाने छन् र नयाँ शक्तिको नेतृत्व आफै लिने छन्।
  12. म्याराथोन दौडाहा: अन्तत यो वैकल्पिक शक्ति १०० मिटर होइन, लामो रिले म्याराथोन दौडने मनसायले खडा भएको हुनेछ। नेपालमा त्यही शक्ति सफल हुनेछ जो कुनै कार्यमा लाग्दा अरुलाई उछिनी पहिलो भएर भन्दा पनि त्यसलाई सफल नतुल्याए सम्म अरु भन्दा पहिले थाक्नेछैन।

के यी २१ औँ शताब्दी समय-सापेक्ष नेतृत्वका आधारहरु हुँदैमा सफल भइन्छ त? सोध्नु होला। यही आधारहरु बोकी गत मंसिरको संविधान सभाको निर्वाचनमा हामीले निर्वाचन अायोगमा दल दर्ता भैनसकेको हुनाले काठमाडौँका चार क्षेत्र १,४,५ र ८ बाट चार स्वतन्त्र युवा उम्मेद्वार खडा गर्यौँ।  चारै जनाले स्वतन्त्र रुपमा कुकुर छाप लिएर कुल ३०६६ मतको सम्मानजनक नतिजा ल्यायौँ। एक महिना मात्रको चुनावी अभियानबाटै दुई क्षेत्रमा अहिलेका चार प्रमुख दल पछि पाँचौँ स्थान अोगट्न सफल भयौँ र यी ठाउंमा एउटा नयाँ शक्ति भएर अाफूलाई सावित गर्यौँ। यसरी अगाडि बढ्दै गर्दा ‘विवेकशील नेपाली’लाई अहिलेसम्म देश भित्र ७३ जिल्ला तथा देश बाहिर २५ मुलकमा भएका झण्डै १ लाख नेपाली नागरिकहरुले अपनाइसकेका छन्।

यिनै २१ औँ शताब्दी समय-सापेक्ष नेतृत्वका अाधारमा चल्दै आएको २ वर्ष लामो हाम्रो क्रियाकलापले हामीलाई विश्वास बढाएको छ कि नेपाल भित्र अब जीत-हारको होइन, जीत-जीतको वातावरण बनाउने शक्तिले नै नेतृत्व पाउनेछ। अन्त्यमा हामी वा कुनै पनि वर्तमान र भविष्यका राजनीतिक शक्तिको अौचित्य यौटै रहनुपर्नेछ – नेपाललाई शान्त र संमृद्ध बनाउने ‘हाम्रै कालमा’। यो हासिल गर्न सबभन्दा बढी तयार र बलियो शक्ति त्यो हुनेछ  जो २१ औँ शताब्दी समय-सापेक्ष नेतृत्वले भरिभराउ हुनेछ।

उज्वल थापा, अध्यक्ष
विवेकशील नेपाली
[email protected]

पीडिएफमा डाउनलोड गर्नुहोला यो लेख

 

नागरिक पत्रिकामा पनि प्रकाशित भएको छ। यहाँ पढ्नुहोला